मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
सारांश
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ ।
- यो बायोपिक चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन्, जसले यसअघि पनि सफल बायोपिकहरू निर्देशन गरेका छन् ।
- मदनकृष्णको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी र उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछन् ।
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौँमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।
चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ ।
बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रूपमा पनि सफल भएको थियो ।
मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए । जसले राम्रो चर्चा बटुलेका थिए । त्यसैले मिलनलाई बायोपिक निर्माणका लागि कुशल तथा अनुभवी निर्देशक मानिन्छ ।
नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलो पटक हो । अन्य क्षेत्रका व्यक्तिको बायोपिक बने पनि नेपाली अभिनेताको बायोपिक भने हालसम्म बनेको थिएन । समग्र कलाकारमा भने गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बनेको थियो ।
मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
यो चलचित्रमा मदनकृष्णको कलाकारिताका पार्टनर हरिवंशको भूमिका कसले निर्वाह गर्नेछन् भन्ने विषयचाहिँ खुलेको छैन ।
धिमे बाजाले मदनकृष्णलाई स्वागत गर्दै चलचित्र निर्माणको घोषणा गरिएको छ । माला र खादाले मदकृष्णलाई बधाई र शुभकामना दिँदा मदकृष्ण भावविह्वल भएका थिए । हरिवंश आचार्यको छेउमा बसेका उनले आँसु थाम्न सकेनन् । हरिवंशले उनलाई बायोपिकका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा ७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक सिनेमालाई लिएर खुसी व्यक्त गरे । ‘म एकदमै खुसी छु । दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने । साथै, उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
त्यसैगरी वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए । उनले निर्देशक मिलन चाम्सलाई नेपाली चलचित्र क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको रूपमा चित्रित गर्दै चलचित्रले न्यायपूर्ण ढङ्गले कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
‘चलचित्रका मुख्य क्याप्टेन निर्देशक नै हुन्। मिलन चाम्स नेपाली चलचित्र क्षेत्रमा असाध्यै आँटिला र जागरिला निर्देशक हुनुहुन्छ। उहाँले यो गम्भीर र महत्त्वपूर्ण कथालाई न्याय दिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।
आचार्यले मदनकृष्ण श्रेष्ठको परिवारलाई समेत बधाई दिँदै यो चलचित्र नेपाली चलचित्र क्षेत्रमा सार्थक र स्मरणीय कृतिका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गरे ।
यस्तै, कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गरे । उनले बायोपिक निर्माण आफैँमा चुनौतीपूर्ण कार्य भएको भन्दै कलाकार तथा मेकअप टिमले पनि ठुलो मेहनत गर्नुपर्ने बताए ।
‘नेपाली कला जगतले जहिले पनि उठेर सम्मान गर्ने र शिर झुकाएर नमन गर्ने व्यक्तित्वहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ । बायोपिक बनाउनु आफैँमा चुनौतीपूर्ण काम हो । कलाकारहरूलाई जत्तिकै मेकअप गर्ने साथीहरूलाई पनि कठिन हुनेछ,’ उनले भने ।
निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने उक्त चलचित्र नेपाली चलचित्र उद्योगका लागि अर्को माइलस्टोन साबित हुने विश्वाससमेत उनले व्यक्त गरे । कार्यक्रममा गायिका आनी छोइङले स्वस्ति वाचन गरेकी थिइन् । त्यसअघि आज बिहान निर्माण टिम पशुपतिनाथको मन्दिर पुगेर पूजाआजा गरेको थियो ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । लोकप्रिय कलाकार भएकाले मदनकृष्णको बायोपिक प्रतीक्षित बन्ने निश्चित छ ।
चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका हुन् । पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइनमा रहेका छन् ।
भदौ दोस्रो सातादेखि छायाङ्कन सुरु गरिने यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्नेछन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण