बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सरकारी साक्षी बनेका विकास चापागाईंविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर

बुधबार, १० असार २०८३, १६ : १३
बुधबार, १० असार २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षी विकास चापागाईंविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
  • चापागाईंविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनबमोजिम सजायको मागदाबी गरिएको छ।
  • अनुसन्धानमा सहयोग गरेबापत सरकारी साक्षी बनेका चापागाईको बकपत्र आयोगसमक्ष दिएको बयान तथा प्रमाणसँग बाझिएपछि कारबाही अघि बढाइएको हो।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईंविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनबमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गर्दै बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रवक्ता न्यौपानेका अनुसार घुस तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेका कारण चापागाईलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। तर उनले विशेष अदालतमा गरेको बकपत्र आयोगसमक्ष दिएको बयान तथा मिसिलमा संलग्न प्रमाणसँग बाझिएको पुष्टि भएपछि उनीविरुद्ध कारबाही अघि बढाइएको हो।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने उद्देश्यले गैरकानुनी लाभ लिन खोजिएको प्रकरणमा एच।के। इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट घुस स्वरूप लिइएको ५० लाख रुपैयाँ बराबरको चेक विकास कुमार चापागाईको नाममा काटिएको थियो। उक्त रकम उनले आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनअनुसार जग्गा खरिदको भुक्तानीमा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले चापागाईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरको मतियार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ अन्तर्गत कसुरमा सहयोगीको भूमिका खेलेको आरोप लगाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप