जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
सारांश
- जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
- यस बजेटमा २४ वटा वडाहरूका लागि कुल २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसमध्ये ५० प्रतिशत रकम समान रूपमा बाँडिएको छ।
- संघीय सरकारबाट ५१ करोड र मधेश प्रदेश सरकारबाट ५ करोड ससर्त कार्यक्रम प्राप्त भएको छ भने नगर अस्पताल सञ्चालन, कर्मचारी तलब र पुराना योजना भुक्तानीमा ठूलो रकम खर्च गरिनेछ।
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ।
यसपटकको बजेट कार्यपालिका सदस्यहरूबिच पूर्ण सहमति कायम गरेर ल्याइएको हो। उपमहानगरले आगामी आर्थिक वर्षका लागि आफ्ना २४ वटा वडाहरूका लागि कुल २२ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
विनियोजित कुल वडा बजेटमध्ये ५० प्रतिशत रकम अर्थात् ११ करोड ८ लाख रुपैयाँ सबै वडालाई समान रूपमा विभाजन गरिएको छ। बाँकी बजेट भने वडाको जनसंख्या, भूगोल र राजस्व संकलनको अवस्थालाई आधार मानेर बाँडफाँड गरिएको उपमहानगरका योजना शाखा प्रमुख सुधन चौधरीले जानकारी दिए।
उनका अनुसार सबैभन्दा सानो वडा नम्बर ६ ले ६१ लाख रुपैयाँ पाएको छ भने सबैभन्दा ठूलो वडा नम्बर २२ का लागि १ करोड २३ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। योजना शाखा प्रमुख चौधरीले भने, ‘हामीले सबै वडालाई बजेट सिलिङसँगै २१ लाख बराबरको ससर्त कार्यक्रमहरू पनि दिएका छौँ। वडाभित्रको घर नम्बरी गर्न, बालमैत्री, वातावरणमैत्री, महिलामैत्री वडा घोषणा गर्न र भूमिहीन सुकुम्बासीको तथ्याङ्क संकलन गर्न ससर्त कार्यक्रम पठाएका छौँ, बाँकी बजेटको हकमा वडासमिति बसेर निर्णय गर्न सक्छ।’
उपमहानगरका लागि आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ५१ करोड र मधेश प्रदेश सरकारले ५ करोड रुपैयाँ बराबरको ससर्त कार्यक्रम पठाएको छ। उपमहानगरको कुल १ अर्ब ८७ करोड बजेटमध्ये बाँकी १ अर्ब १० करोड रुपैयाँबाट आगामी वर्ष जीतपुरसिमरा नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ८ देखि १० करोड रुपैयाँ खर्च गरिनेछ। यसैगरी अनिवार्य दायित्व अन्तर्गत कर्मचारीहरूको बढेको तलब र भत्तामा ४५ करोड रुपैयाँ तथा पुराना योजनाहरूको भुक्तानी मिलान गर्नका लागि ४० देखि ५० करोड रुपैयाँ खर्च हुने जनाइएको छ।
यो दोस्रो स्थानीय तह निर्वाचनपछिको अन्तिम वर्षको बजेट हो। विगतका वर्षहरू जस्तो यसपटकको नगरसभामा टेबल, कुर्सी तोडफोड तथा हुलदङ्गा नभई सहमतिमै सबै कार्यक्रम पारित भएको छ। योजना शाखा प्रमुख चौधरीले थपे, ‘सबै वडाध्यक्षहरूको सहमतिमा यो निर्णय भएको हो। यस वर्षको नगरसभामा विगतमा जस्तो भएन, शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।’
यसअघि उपमहानगरले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। तर त्यतिबेला ५० करोड रुपैयाँ घाटा बजेट तयार हुँदा उपमहानगरलाई पुराना योजनाहरूको भुक्तानी दिन ठूलो समस्या परेको थियो। उपमहानगरले सम्पत्ति कर, बहाल कर, मालपोत कर, मनोरञ्जन, सवारी, कवाडी कर, ढुङ्गा, गिटी, बालुवा सहित ३६ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ, जसबाट वार्षिक अनुमानित २५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन हुने गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण