प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
सारांश
- राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ।
- जनमोर्चाले प्रदेश सभा खारेजीले राज्यको प्रशासनिक संरचनालाई सरल बनाउने, अनावश्यक आर्थिक व्ययभार घटाउने तथा मुलुकको वर्तमान संरचनाबारे भइरहेको बहसलाई बल पुग्ने विश्वास व्यक्त गरेको छ।
- यद्यपि, जनमोर्चाले रास्वपाले धर्मनिरपेक्षताका विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेकोमा चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा जनमोर्चाले प्रदेश सभा खारेज गर्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको हो।
वक्तव्यमा प्रदेश सभाको खारेजीले राज्यको प्रशासनिक संरचनालाई सरल बनाउने, अनावश्यक रूपमा बढ्दै गएको आर्थिक व्ययभार घटाउने तथा मुलुकको वर्तमान संरचनाबारे भइरहेको बहसलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ।
यद्यपि, जनमोर्चाले रास्वपाको महाधिवेशनले धर्मनिरपेक्षताका विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै गम्भीर चासोसमेत व्यक्त गरेको छ।
पार्टीका अनुसार लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता २०६२र६३ को जनआन्दोलनका ऐतिहासिक उपलब्धि मात्र नभई नेपालको वर्तमान संविधानका आधारभूत स्तम्भ हुन्। तर रास्वपाको मौनताले धर्मनिरपेक्षताप्रतिको प्रतिबद्धतामै अस्पष्टता देखिएको र यसले राजावादी शक्ति वा भारतको संस्थापन पक्षसँग निकट राजनीतिक दृष्टिकोण अवलम्बन गर्ने सम्भावनाबारे संशय उत्पन्न गरेको जनमोर्चाको भनाइ छ।
जनमोर्चाले धर्मनिरपेक्षतालाई कमजोर पार्ने वा त्यसविरुद्ध हुने कुनै पनि प्रयास स्वीकार नगर्ने र संविधानका आधारभूत उपलब्धिको दृढतापूर्वक रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण