नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सेना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अमेरिकाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । विराटनगरमा शुक्रबार आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले दिल्लीमा भएको १२ बुँदे शान्ति सम्झौतादेखि अहिलेसम्मका घटनाक्रमलाई केलाउने प्रयास गरे ।
त्यसक्रममा उनले २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोह र फागुन २१ को निर्वाचन परिणामको विषयमा नेपाली सेनाले खेलेको भूमिकाप्रति पनि आशङ्का व्यक्त गरे । उनले अमेरिकातर्फ लक्षित गर्दै ‘सुपर पावर’ ले संविधान खारेज गर्न लागिरहेको दाबी पनि गरे ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसदमा नेपाली सेनाप्रति आक्रोश पोखेका थिए । बादलकै शैलीमा प्रचण्डले पनि नेपाली सेनाको संवेदनशीलता, टिओबी, बारबरा फाउन्डेसन र अमेरिकन यूथ काउन्सिल जस्ता संस्थाहरूको नेपालभित्रको अस्वाभाविक सक्रियता रणनीतिक भएको भन्दै त्यसको काउन्टर गर्नुपर्ने बताए ।
प्रचण्डले गम्भीर र भू–राजनीतिक हस्तक्षेप हुने गरेको विषय कोट्याउँदै दिल्लीमा भएको १२ बुँदे सहमतिको विषयमा अमेरिकाले भिटो प्रयोग गर्न खोजे पनि नसकेको बताए । ‘हामी जब ऐतिहासिक १२ बुँदे समझदारीको मस्यौदा तयार पार्न दिल्लीमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र हामी सबै लागिरहेका थियौँ, तत्कालीन समयमा संसारको एउटा ‘सुपर पावर’ (अमेरिकातर्फ सङ्केत गर्दै) का उच्च प्रतिनिधिहरू विशेष विमान चार्टर गरेर दिल्ली ओर्लिएका थिए । उनीहरूको एउटै मात्र उद्देश्य थियो- जुनसुकै मूल्यमा पनि १२ बुँदे समझदारी रोक्नु र नेपालको शान्ति प्रक्रिया भाँड्नु,’ प्रचण्डले भने, ‘ती सुपर पावरका प्रतिनिधिहरूले गिरिजाप्रसाद कोइरालालाई भेटेर कडा धम्की दिएका थिए । उनीहरूले भनेका थिए- आतङ्ककारी भनिएका माओवादीसँग कुनै पनि सम्झौता नगर, यदि सम्झौता गर्यौँ भने यसको निकै गम्भीर र अपूरणीय मूल्य चुकाउनुपर्नेछ । उनीहरूले गिरिजाबाबुलाई तर्साउन र समझदारी भाँड्न आफ्नो सम्पूर्ण साम्राज्यवादी शक्ति प्रयोग गरे । तर, गिरिजाबाबुले र हामीले लिएको अडान, नेपाली जनताको अधिकारप्रतिको निष्ठाका कारण हामीले कसैको धम्की सुनेनौँ र सम्झौता गरेरै छाड्यौँ ।’
विदेशी महाशक्तिले आफ्नो पूरा तागत लगाएर भिटो प्रयोग गर्दा पनि नेपाली नेताहरूको अडानका कारण मात्रै शान्ति सम्झौता र गणतन्त्र सम्भव भएको प्रचण्डको जिकिर थियो । प्रचण्डले अहिले पनि नेपाली राजनीतिमा त्यस्तै अदृश्य शक्तिहरूको खेल निकै गम्भीर ढंगले चलिरहेको बताए । त्यो खेल नेपालको संविधान समाप्त पार्ने र लोकतन्त्र खतरामा पार्ने खालको भएको उनको दाबी थियो ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कडा वैचारिक र राजनीतिक प्रहार गरे । उनले रास्वपालाई नेपाली माटोको उपज नभई विदेशी शक्तिहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न निर्माण गरेको एउटा पार्टी भएको आरोप लगाए । माओवादी आन्दोलन शहीदको रगत र श्रमजीवी जनताको पसिनाको जगमा ठडिएको ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै उनले रास्वपाको जग डलर र वैदेशिक स्वार्थमा आधारित रहेको ठोकुवा गरे ।

‘रास्वपा कुनै आन्दोलन वा जनसङ्घर्षबाट जन्मेको पार्टी होइन । यो त विदेशी प्रयोगशालामा कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी शक्तिहरूलाई कमजोर बनाउन रणनीतिक रूपमा वासिङ्टनबाट बनाइएको पार्टी हो । यसको नेपथ्यमा बारबरा फाउन्डेसन, टिओबी र अमेरिकन यूथ काउन्सिल जस्ता डलर बोकेका साम्राज्यवादी संस्थाहरू क्रियाशील छन् । यी संस्थाहरूले अर्बौँ डलर लगानी गरेर, नेपाली सञ्चारकर्मी र केही महत्त्वाकाङ्क्षी युवाहरूलाई वासिङ्टन र न्युयोर्क पुर्याएर तालिम दिएका छन् र नेपालमा पठाएका छन् । यो नेपालमा नवउदारवादी फाँसीवाद लाद्ने एउटा व्यवस्थित प्रपञ्च हो ।’ रास्वपाले साम्राज्यवादी स्वार्थ अनुकूल नेपालको सङ्घीयता, समावेशी लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने दाहालको आरोप छ ।
उनले आफ्नो पार्टीबाट रास्वपामा जान लागेकाहरू पनि रोकिएको दाबी गरे । नेपाली समाजको एउटा रैथाने उखानलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘पोले पनि घामै जाती, पिटे पनि आफ्नै आमा जाती, आफ्नै पार्टी जाती । हाम्रा धेरै नेता–कार्यकर्ताहरू जो अलिकति निराश भएर, अलिकति दिग्भ्रमित भएर उता बहकिन लागेका थिए, तीमध्ये ६० प्रतिशतभन्दा बढी अहिले आफ्नै पार्टी जाती भन्दै फर्किसकेका छन् ।’
रास्वपाले आफ्नो असली वर्ग–चरित्र र हैसियत के हो भन्ने कुरा १ सय दिनमै नेपाली जनताका सामु क्लियर गरिदिएको प्रचण्डको भनाइ छ । ‘उनीहरूको राष्ट्रियताको ढोंग, सुकुमबासीलाई उठिबास लगाउने जनविरोधी कृत्य र संसद्देखि सरकारसम्मका लज्जास्पद हर्कतहरूले उनीहरूको भ्रम छिट्टै टुटाइदियो,’ प्रचण्डले भने ।
फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले हासिल गरेको चुनावी परिणामलाई ‘अप्रत्याशित र नाटकीय परिणाम’ भन्दै प्रचण्डले गम्भीर संशय व्यक्त गरे । उनले निर्वाचनको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै कतै मतपेटिका (बक्सा) नै साटिएको त होइन भनेर अरूले सुनाएको भन्दै आशङ्का व्यक्त गरे ।
‘हामीले चुनाव प्रचारका क्रममा प्रत्यक्ष देखेका छौँ, रास्वपाका तर्फबाट उम्मेदवार बनेका एक जना पात्रले चुनावको केही दिनअघि हाम्रा उम्मेदवारसँग भेटेर भनेका थिए- मेरो त जमानत जफत हुने भयो कमरेड, बढीमा ३ सय देखि ५ सय मत आउला, चुनाव सकिएपछि म तपाईँकै पार्टीमा प्रवेश गर्छु, मलाई संरक्षण दिनुहोला । तर, जब मतगणना सकियो र बक्सा खोलियो, तिनै पात्र कसरी एकाएक ४५ हजार मत ल्याएर विजयी भए ? यो कसरी सम्भव भयो ? हाम्रा साथीहरू जसको जित सुनिश्चित थियो, उनीहरूले आफैँले हालेको भोट समेत गायब भएको देख्नुपर्यो,’ प्रचण्डले भने ।
मतपेटिका नै साटिएको र ‘अल्गोरिदम’ को म्यानिपुलेशन तथा विदेशी डलरको नाङ्गो खेलमार्फत जनमत उल्ट्याइएको त होइन भनेर केही मासिनले अहिले पनि भन्ने गर्छन् । तर, निर्वाचनमा आफूहरू पनि सहभागी भएको कारण केही भन्ने ठाउँ नरहेको उनको भनाइ थियो । ‘यहाँ बडो चलाखीपूर्ण ढङ्गले षड्यन्त्रपूर्ण काम भयो,’ प्रचण्डले भने, ‘हामीले त्यस कुरालाई समयमै बुझ्न सकेनौँ ।’
_uJfGOIujNy.jpg)
प्रचण्डले २४ गते भएको आन्दोलन नियोजित ‘विध्वंस’ भएको दाबी गरे । ‘२४ गते एउटा विध्वंस भयो । यो अन्तिम भने होइन,’ प्रचण्डले भने, ‘तपाईँहरूले यत्तिमै खेल सकियो भन्ने ठान्नुभएको छ भने त्यो महाभूल हुनेवाला छ । अझ ठुलो विध्वंस हुनेवाला छ ।’
प्रतिगामी शक्तिहरूले संविधान नै खारेज गर्ने, सङ्घीयता र समावेशी अधिकारहरू समाप्त पार्ने र नेपालको लोकतन्त्रलाई समाप्त पार्ने दिशामा लैजान विभिन्न हिसाबका षड्यन्त्रहरू भइरहेको उनले दाबी गरे । अहिले राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि दबाब दिन थालिएको उनले बताए ।
‘राष्ट्रपति संस्थामाथि समेत गम्भीर दबाब र धम्की सिर्जना दिइरहेको भनेर मलाई साथीहरूले सुनाएका छन् । उहाँलाई राजीनामा दिनुपर्ने धम्की गइरहेको कुरा के हो हामी सतर्क हुनुपर्छ । राष्ट्रपति टिक्दैनन् कि भन्ने हल्लाहरू बजारमा सुनिँदैछन् । नेपालको ७ दशक लामो आन्दोलनका उपलब्धिहरूलाई नै नामेट पार्ने रणनीतिक योजनाअनुसार यो भइरहेको छ,’ प्रचण्डले भने ।
उनले कोशी प्रदेशबाट फेरि एउटा नयाँ आन्दोलनको आँधीबेहरी सिर्जना हुनसक्ने चेतावनी दिए । ‘पूर्वमा फेरि आगो बल्न सक्छ । इतिहास साक्षी छ, जब जब देशमा राष्ट्रियता, जनअधिकार र सार्वभौमिकतामाथि सङ्कट आएको छ, पूर्वका जनताले नै पहिलो क्रान्तिको बिगुल फुकेका छन् । अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, संविधानमाथि वैदेशिक हस्तक्षेप परास्त गर्नका लागि आवश्यक परे एमाले र कांग्रेसका देशभक्त शक्तिहरूको समेत साथ लिएर पूर्वबाट नयाँ आन्दोलनको राँको बाल्न सकिन्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले नेपालको आन्तरिक राजनीतिमा गरिरहेको हस्तक्षेप परास्त गर्न आफ्नो कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढङ्गले विस्तार गर्ने प्रचण्डले बताए ।
‘केही दिन अगाडि माधवजी रसिया जानुभयो । म केही दिनपछि श्रीलङ्का जाँदैछु । अब देशभित्र मात्रै कुचुरकुचर गरेर केही नहुने स्थिति आयो,’ प्रचण्डले भने । श्रीलङ्का भ्रमणका क्रममा त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट हुने उनले बताए । ‘सम्भव हुँदा राष्ट्रपतिसँग पनि भेट्ने हो । तर, मुलरुपमा त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरूसँग मेरो भेट हुन्छ,’ प्रचण्डले भने । दक्षिण एसियामा साम्राज्यवादी शक्तिहरू र सुपर पावरको हस्तक्षेपविरुद्ध अन्तर्राष्ट्रिय वामपन्थी मोर्चाबन्दी कसिलो बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले आफू, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ बुद्धभिक्षु जस्तो घण्टी बजाएर नबस्ने र नयाँ क्रमभङ्ग गर्ने दाबी पनि गरे । महाधिवेशनमार्फत सक्षम युवालाई नेतृत्व सुम्पिने पनि उनले बताए । उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग सहकार्य गरिने बताए । ‘अब वामपन्थीहरू मिल्नुपर्छ । अहिले नै मिल्यौँ भने पनि संसदमा प्रमुख विपक्षी दल त भइन्छ,’ उनले एमालेसँग मिल्ने आशय व्यक्त गर्दै भने, ‘तत्कालका लागि एमालेसँग कार्यगत सहकार्य हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण