शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !

शुक्रबार, १२ असार २०८३, १६ : ४२
शुक्रबार, १२ असार २०८३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका नेता राजकिशोर यादवबिच दुरी बढेको छ । फागुन २१ गतेको चुनाव सम्पन्न भएपछि जसपा नेपालका नेता राजकिशोर यादवको पार्टीको कुनै पनि गतिविधिमा संलग्न देखिएका छैनन् । पार्टीका बैठकहरूमा अनुपस्थित भइरहेका नेता राजकिशोर यादव पार्टी कार्यालय जान समेत छाडेका छन् ।

पार्टीले अहिले मधेस प्रदेशका जिल्लाहरूमा अन्तरक्रिया तथा अभिमुखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । हरेक कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ पुग्ने गरेका छन् ।

तर नेता राजकिशोर यादव कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन् । यहाँसम्म कि आज सिराहामा पार्टीले अन्तरक्रिया तथा अभिमुखी कार्यक्रमको आयोजना गरेको छ तर सो कार्यक्रममा पनि राजकिशोर यादवको सहभागिता छैन ।

उनी आफैँ मात्र होइन, उनका पक्षका कुनै पनि नेता सो कार्यक्रममा सहभागी नभएको त्यहाँ कार्यक्रममा रहेका एक नेताले रातोपाटीलाई बताए । ती नेताले भने, ‘अरू जिल्लामा कार्यक्रम हुँदा सहभागी नहुन खासै मतलबको कुरा होइन तर आफ्नै जिल्लामा कार्यक्रम हुँदा पनि उपस्थित नहुनु दाल मे कुछ काला हैं भनी बुझ्न सकिन्छ ।’

राजकिशोर यादव राष्ट्रिय नेता हुन्, उनको गृहजिल्ला सिराहा हो तर आफ्नै जिल्लामा कार्यक्रम हुँदा पनि उपस्थित हुनु राम्रो सङ्केत नभएको नेताहरूको भनाइ छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादवबिच विगतमा पनि त्यति राम्रो सम्बन्ध थिएन  । मधेस आन्दोलनबाट राजनीतिमा आएका राजकिशोर यादव जयप्रकाश गुप्ताले तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग भएर गठन गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टीमा आबद्ध भएका थिए ।

जेपी गुप्ता भ्रष्टाचार मुद्दामा जेल गएपछि उनी तत्कालीन फोरम गणतान्त्रिकका अध्यक्ष भएका थिए । पछि विभिन्न दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) गठन हुँदा उनी त्यसमा सहभागी भएका थिए । राजपा नेपाल र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग एकता भयो र जसपा नेपाल बन्यो ।

राजकिशोर यादव जसपा नेपालको नेता भए । पछि महन्थ ठाकुरहरू अलग भएपछि राजकिशोर यादव उपेन्द्र यादवकै साथमा अर्थात् जसपा नेपालमै बसे । उनी जसपा नेपालमा बसे पनि उपेन्द्र यादवसँग सुमधुर सम्बन्ध कहिले रहेन । दुवै जनाले एक अर्कालाई शंकाको दृष्टिले हेरिरहेको निकटस्थ नेताहरूको भनाइ छ ।

जेनजी आन्दोलनअघि जनकपुरमा सम्पन्न जसपा नेपालको महाधिवेशन भएको थियो । सो महाधिवेशनमा उनी अध्यक्षका नै दाबेदार थिए तर चुनाव नभएपछि उनी सहअध्यक्षको दाबी गरेका थिए । तर उनलाई उपाध्यक्षमा मनोनीत गरिएको थियो । उपाध्यक्ष भए पनि उनी त्यति सन्तुष्ट थिएनन् ।

सिराहाको २ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचनमा उनले चुनाव जितेका थिए । सो बेला उनी संसदमा अन्तर्राष्ट्रिय समितिका सभापति थिए । त्यसपछि उनी आफ्नो छुट्टै समूह सञ्चालन गरेका थिए । सिंहदरबारमा रहेको समितिको कार्यालयमा असन्तुष्ट पक्षको छुट्टै बैठकहरू बसाउन थालेका थिए । त्यसले गर्दा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निकै असन्तुष्ट थिए ।

पार्टीका बैठकहरूमा प्रायः अनुपस्थित हुने र असन्तुष्ट पक्षहरूको बैठक छुट्टै बसाउने गरेको थाह पाएपछि उपेन्द्र यादव उनीसँग असन्तुष्ट थिए ।

सोही क्रममा जेनजी आन्दोलन भयो । फागुनमा चुनाव भयो राजकिशोर यादव सिराहा ४ बाट पराजित भए । पराजित भएपछि त उनी झन् पार्टीको सम्पर्कमा जान छाडेको नेताहरूको भनाइ छ । उनले बदलिँदो परिस्थितिमा पार्टीमा पुस्तान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।  

तर उनको यो कुराको सुनुवाइ भएन । जसपा नेपाल र लोसपा नेपालको एकता भयो । उपेन्द्र यादव अध्यक्ष भए र महन्थ ठाकुर संरक्षक भए । त्यसले राजकिशोर यादव चिढिन पुगेको नेताहरूको भनाइ छ ।  अहिले उनी पार्टीका बैठक तथा कार्यक्रमहरूमा पनि जान छाडेका छन् । स्रोतका अनुसार उनले मधेसमा युवाहरूको छुट्टै सङ्गठन बनाउनमा आन्तरिक तयारी गरिरहेका छन् ।

यसबारे थप बुझ्न राजकिशोर यादवलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप