शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
रास्वपा महाधिवेशन

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

शुक्रबार, १२ असार २०८३, २० : ४४
शुक्रबार, १२ असार २०८३

चितवन । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ । 

चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएकाे  महाधिवेशन शुक्रबार पदाधिकारी चयन गर्दै सकिएको हो । 

रास्वपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए । महिला उपसभापतिमा सोविता गौतम प्रतिस्पर्धाबाट निर्वाचित भइन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । 

त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भइन् । 

नवनिर्वाचित पदाधिकारीको शुक्रबार नै शपथ ग्रहण भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अब सभापति रवि लामिछानेले वरिष्ठ नेता १,उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्नेछन् ।  

त्यस्तै ५१ जना केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनयन गर्नेछन् । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसबाहेकक सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् । 

पार्टी गठन गरेको चार वर्षमा पहिलो महाधिवेशन सम्पन्न गरेर रास्वपाले नयाँ नेतृत्व र नीति तय मात्र गरेको छैन, संस्थागत मान्यता समेत पाएको छ । 

छोटो अवधिमा असीमित सफलता र जनसमर्थन पाएको रास्वपालाई अव पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यता र विधि  पद्धतिमा हिँडाउने चुनौती थपिएको छ । अरूलाई प्रश्न र खबरदारी गर्दै उदाएको यो पार्टी अव जवाफ दिने ठाउँमा पुगेको मात्र छैन, जनताका आम अपेक्षा सम्बोधन गर्ने जिम्मेवारी समेत पुरा गर्नुपर्ने अवस्थामा पुगेको छ । 

महाधिवेशनका क्रममा छिटपुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाए पनि रास्वपाले आफूलाई संस्थागत रूपमा राजनीतिक वैधानिकता दिन सफल भएको छ ।

महाधिवेशनमार्फत रास्वपाले राजनीतिक वैधता पाउन सफल भए पनि पहिलो महाधिवेशनमार्फत नै पुराना पार्टीमा जस्तै गुटउपगुटका सङ्केतहरू देखिएका छन् ।

महाधिवेशन उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पार्टीभित्र गुट–उपगुट नहुने भने पनि केन्द्रीय सदस्य र पदाधिकारीको निर्वाचन हुने दिनसम्म पुग्दा गुटबन्दीका सङ्केतहरू प्रस्टै देखिएका छन् ।

दोस्रो चरणमा पदाधिकारी निर्वाचनका बेला उम्मेदवारी दर्तादेखि फिर्ता लिने समयका गतिविधि नियाल्दा र नेताहरूका अभिव्यक्ति सुन्दा पनि यो पार्टीमा गुटबन्दीको बीउ रोपिएको प्रस्टै देख्न र बुझ्न सकिन्थ्यो । गुट उपगुट भएको कुरा सभापति लामिछाने आफैले पनि स्वीकार गरे । 

‘गुट उपगुट रहेछन् भनेपनि अब जरैदेखि उखेल्न लागिपर्छु’ शपथ ग्रहणपछि नवनिर्वाचित सभापति रवि लामिछानेले भने, ‘अव पार्टी परिपक्व र प्रतिबद्ध भएर अघि बढ्ने छ ।’

साथै, उनले नयाँ नेतृत्वका लागि सहमतिका जुटाउन आफूले प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गरे । 

‘अव यो हलबाट निस्केपछि जसरी हामी प्रतिस्पर्धामा उत्रेका थियौ अव निकै उच्च सौहार्दतामा अघि बढ्ने छौ । जसले जित्यो त्यो सिङ्गो घण्टीले जित्यो’, सभापति लामिछानेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप