शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित

शनिबार, १३ असार २०८३, ०२ : ५४
शनिबार, १३ असार २०८३

सारांश

  • ओस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गर्‍यो ।
  • डेम्बेलेले खेलको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरे, जुन विश्वकपमा उनको पहिलो ह्याट्रिक हो ।
  • यस जितसँगै फ्रान्स ९ अंकसहित समूह 'आई' को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

काठमाडौँ । ओस्मान डेम्बेलेको ऐतिहासिक ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकपको समूह ‘आई’ को अन्तिम खेलमा नर्वेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा जित निकाल्दै फ्रान्स समूहको शीर्ष स्थानमा रहन सफल भयो ।

फ्रान्सेली स्ट्राइकर ओस्मान डेम्बेलेले खेलको पहिलो हाफमै आफ्नो प्रभाव जमाए । उनले खेलको ७औँ, २०औँ र ३२औँ मिनेटमा गोल गर्दै मात्र ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरे । फ्रान्सको राष्ट्रिय टोलीका लागि विश्वकपमा यो उनको पहिलो ह्याट्रिक हो । यो प्रदर्शनसँगै डेम्बेले ४ गोल र १ असिस्टसहित ‘गोल्डेन बुट’ को दौडमा तेस्रो स्थानमा उक्लिएका छन् ।

नर्वेले यसअघि नै ‘राउन्ड अफ ३२’ मा स्थान सुरक्षित गरिसकेकाले प्रशिक्षक स्टेले सोल्बाकेनले टोलीमा व्यापक परिवर्तन गरेका थिए । स्टार स्ट्राइकर एर्लिंग हालान्डलाई यस खेलमा बेन्चमा आराम दिइएको थियो । नर्वेका लागि २१औँ मिनेटमा थेलो आसगार्डले एक गोल फर्काउँदै खेलमा फर्किने आशा जगाएका थिए । तर, ५०औँ मिनेटमा जोर्गेन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुकेपछि नर्वेले खेलमा फर्कने सुवर्ण अवसर गुमायो ।

खेलको इन्जुरी समयमा डेसिरे डुएले अर्को गोल थपेपछि फ्रान्सले ४–१ को सहज जित पक्का गर्‍यो । फ्रान्सले समूह चरणका तीन वटै खेल जित्दै ९ अंकसहित समूह ‘आई’ को शीर्ष स्थान ओगटेको छ । नर्वे भने ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ ।

यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो । इराकका रेबिन सुलाकाले १३औँ मिनेटमै रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित इराकमाथि सेनेगलले गोलको वर्षा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप