आफ्नो कमजोरीको दोष शासकीय स्वरूपलाई नथोपरौँ, व्यवस्थामाथि धावा बोल्नु गलत : आङ्देम्बे
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय स्वरूप र सङ्घीयतामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।
- नेता आङ्देम्बेले राजनीतिक नेतृत्वको अकर्मण्यता र कमजोरीको दोष व्यवस्थालाई थोपर्नु राजनीतिक अपरिपक्वता भएको बताए ।
- उनले ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान संविधान र शासकीय स्वरूपमाथि प्रश्नचिह्न खडा नगर्न र यसको सफल कार्यान्वयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरे ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय स्वरूप र सङ्घीयतामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा नेता आङ्देम्बेले राजनीतिक नेतृत्वको अकर्मण्यता र कमजोरीको दोष व्यवस्थालाई थोपर्नु राजनीतिक अपरिपक्वता भएको बताए ।
आङ्देम्बेले अहिलेको शासकीय स्वरूपमाथि धावा बोल्ने कोसिस भइरहेको भन्दै यसले राम्रो संकेत नगर्ने चेतावनी दिए । ‘हाम्रो आफ्नै अकर्मण्यता, सोचको अपरिपक्वता र कमजोरीको दोष हामीले शासकीय स्वरूपलाई थोपरिरहेका छौँ। यो व्यवस्थालाई राम्रोसँग नबुझी र पूर्ण रूपमा अभ्यास नै नगरी प्रश्न उठाउनु किमार्थ उचित हुँदैन,’ उनले भने ।
मुलुकले अङ्गीकार गरेको सात प्रदेश र तीन तहको सरकारको संरचना कुनै लहडमा नआएको भन्दै आङ्देम्बेले यसलाई जोगाउनुपर्ने बताए । ‘शासकीय स्वरूपका बारेमा कुनै लहर, आवेग वा उत्तेजनाले प्रभाव पार्नु हुँदैन,’ उनले भने, ‘जनताको रगत र ठुलो बलिदानबाट प्राप्त भएको यो ऐतिहासिक उपलब्धिलाई कुनै पनि बहानामा अनिर्णयको बन्दी बनाइनु हुँदैन।’
आङ्देम्बेले व्यवस्था बदल्ने कुरा गर्नुभन्दा पनि वर्तमान संरचनामार्फत नै जनतालाई वास्तविक लोकतन्त्र र विकासको अनुभूति गराउनुपर्ने बताए । उनले ऐतिहासिक निष्कर्षका रूपमा रहेको वर्तमान संविधान र शासकीय स्वरूपमाथि प्रश्नचिह्न खडा नगर्न र यसको सफल कार्यान्वयनमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण