बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

चीनको कारखाना गतिविधिमा पुनः वृद्धि

मङ्गलबार, १६ असार २०८३, १२ : १८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • चीनको उत्पादन क्षेत्र जुन महिनामा पुनः विस्तारतर्फ फर्किएको छ ।
  • कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित चिप, कम्प्युटर र अन्य प्रविधिजन्य उत्पादनको विश्वव्यापी माग बढेसँगै कारखाना गतिविधि बढेको हो ।
  • अमेरिकी खुद्रा व्यापार कम्पनीहरूले पनि ब्ल्याक फ्राइडे र क्रिसमस किनमेल सिजनलाई लक्षित गर्दै सम्भावित ट्यारिफ वृद्धि हुनुअघि नै चीनबाट सामान अर्डर गर्ने क्रम बढाएका छन् ।

बेइजिङ । चीनको उत्पादन क्षेत्र जुन महिनामा पुनः विस्तारतर्फ फर्किएको छ । कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित चिप, कम्प्युटर र अन्य प्रविधिजन्य उत्पादनको विश्वव्यापी माग बढेसँगै कारखाना गतिविधि बढेको हो । मेरिकी अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि नै सामान पठाउने निर्यातकर्ताको रणनीति र बलियो निर्यात मागले चीनको सुस्त अर्थतन्त्रलाई केही राहत दिएको देखिएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)ले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन महिनाको म्यानुफ्याक्चरिङ पर्चेजिङ म्उानेजर्स इन्डेक्स (पीएमआई)  ५० दशमलव ३ अंकमा उक्लिएको छ । मे महिनामा यो सूच ५० अंक थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको सर्वेक्षणमा यो सूचक जुन महिनामा पनि ५० अंक नै रहने देखाएको थियो । पीएमआई सूचक ५० भन्दा माथि रहनुलाई कुनै पनि आर्थिक क्षेत्रमा गतिविधि बढिरहेको संकेत गर्दछ ।

विश्लेषकहरूका अनुसार विश्वभर डेटा सेन्टर, एआई प्रणाली र उन्नत इलेक्ट्रोनिक उपकरणका लागि आवश्यक सेमिकन्डक्टर तथा कम्प्युटर उपकरणको मागले चीनको उत्पादन क्षेत्रलाई बलियो टेवा दिएको हो । परामर्शदाता संस्था युरेसिया ग्रुपकी चीन निर्देशक ड्यान वाङका अनुसार एआईसँग सम्बन्धित उत्पादनको निर्यात बढ्नुका साथै जुलाई अन्त्यदेखि लागू हुने अमेरिकी नयाँ ट्यारिफअघि नै निर्यात बढाउने प्रयासले उत्पादन गतिविधि विस्तार गर्न मद्दत गरेको हो । साथै, कच्चा पदार्थको लागत घटेकाले घरेलु मागमा पनि केही सुधार आएको उनले बताइन् ।

अमेरिकी खुद्रा व्यापार कम्पनीहरूले पनि ब्ल्याक फ्राइडे र क्रिसमस किनमेल सिजनलाई लक्षित गर्दै सम्भावित ट्यारिफ वृद्धि हुनुअघि नै चीनबाट सामान अर्डर गर्ने क्रम बढाएका छन् । ढुवानी क्षेत्रका अधिकारीहरूका अनुसार अमेरिकी आयातकर्ताहरूले सामान चारदेखि छ साताअघि नै मगाउन थालेका छन् ।

तथ्यांकअनुसार नयाँ निर्यात मागसम्बन्धी सूचकांक ४८ दशमलव ६ अंकबाट बढेर ५० दशमलव १ अंकमा पुगेको छ । उत्पादन सूचकांक ५१ दशमलव ४ अंक रहँदा नयाँ अर्डर सूचकांक ५१ दशमलव २ अंकमा उक्लिएको छ । यद्यपि, कारखानाबाट निस्कने वस्तुको मूल्य सूचकांक ५१ दशमलव ९ अंकबाट घटेर ४८ दशमलव २ अंकमा झरेको छ, जसले मूल्यमा पुनः दबाब बढ्न थालेको संकेत गर्छ । रोजगारीसम्बन्धी सूचक पनि लगातार घट्दो क्रममा रहेको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(ईआईयू)का वरिष्ठ अर्थशास्त्री सु थियानचेनले एआई क्षेत्रमा भइरहेको विश्वव्यापी लगानीका कारण निकट भविष्यमा पनि चीनको निर्यात बलियो रहने अपेक्षा व्यक्त गरेका छन् ।  उनका अनुसार आगामी महिनाहरूमा सरकारी खर्च बढ्ने र मौद्रिक नीतिमा थप सहजता ल्याइने सम्भावना छ ।

समीक्षा अवधिमा सेवा र निर्माण क्षेत्र समेट्ने नन–म्यानुफ्याक्चरिङ क्षेत्रको पीएमआई पनि ५० दशमलव १ अंकबाट बढेर ५० दशलमव २ अंकमा पुगेको छ भने समग्र कम्पोजिट पीएमआई ५० दशमलव ६ अंकमा पुगेको छ । यद्यपि, चीनको अर्थतन्त्रमा चुनौतीहरू अझै कायम छन् । लामो समयदेखि जारी घरजग्गा क्षेत्रको संकट, कमजोर घरेलु उपभोग र नयाँ घरको मूल्यमा आएको गिरावटले समग्र आर्थिक गतिविधिमा दबाब सिर्जना गरिरहेको छ । मे महिनाको तथ्यांकअनुसार तीन वर्षयताकै पहिलोपटक खुद्रा बिक्रीमा गिरावट आएको थियो ।

क्यापिटल इकोनोमिक्सका चीन अर्थशास्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डका अनुसार उत्पादन क्षेत्रमा आएको सुधार मुख्यतः निर्यात र एआईसँग सम्बन्धित उद्योगमा मात्र सीमित छ । उनका अनुसार उत्पादन क्षेत्र पुनः मूल्य घट्ने जोखिमतर्फ उन्मुख भइरहेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप