ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाबिच पार्टी एकताको चर्चा चुलिएका बेला दुवै नेताले तत्काल पार्टी एकता असम्भव भएको अभिव्यक्ति दिएका छन् ।
असार १४ गते एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा ओली, प्रचण्डसहित माधव नेपाल र झलनाथ खनालले एउटै मञ्च सेयर गरेपछि धेरैजसोले दुई पार्टीबिच एकताको वार्मअपका रूपमा बुझेका थिए ।
गत चुनावमा लज्जास्पद नतिजा बेहोरेका दुवै दलले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पार्टी एकता गर्न लागेका हुन् कि भन्ने विपक्षी र दुवै पार्टीका नेता कार्यकर्ताले समेत आङ्कलन गरेका थिए । यो बिचमा एमाले र नेकपा दुवै पार्टीका केही नेताहरूले पार्टी एकताका लागि संवाद र छलफल समेत चलाएका समाचारहरू सार्वजनिक हुँदै आएका थिए ।
मदन जयन्तीकै अवसरमा नेकपाका नेताहरु प्रचण्ड, नेपाल र खनालले सहकार्य गर्दै एकतासम्म पुग्न सकिने आशय प्रकट गरेका थिए । तर, यसअघि गरिएको आँकलनविपरित ओली र प्रचण्डले तत्काल एकता नहुने पार्टी पङ्क्तिमा प्रस्ट पारेका छन् ।
सोमबार नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठकमा नेकपा संयोजक प्रचण्डले महाधिवेशन अघि पार्टी एकता सम्भव नभएको बताएका थिए ।
‘ मैले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै भनेको छैन । महाधिवेशन अगाडि एकता सम्भव पनि छैन’, अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए, ‘अहिले हुँदा पनि हुँदैन ।’
पहिला आफ्नो पार्टी बलियो बनाउनेतर्फ नै ध्यान दिनुपर्ने भन्दै प्रचण्डले सोही अनुसार सदस्यता नवीकरण,वितरण गर्ने र पार्टीलाई थप सुदृढीकरण गर्नको लागि वडा तहसम्म अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्यस कारण अहिलेको आवश्यकता वामपन्थी,समाजवादी मोर्चा,देशभक्तहरूसँग सहकार्यको आवश्यकता छ’, प्रचण्डको भनाई उद्धृत गर्दै सरल सहयात्री पौडेलले रातोपाटीसँग भने, ‘यसै विषयमा मैले एमाले,वामपन्थी लगायत दलहरूसँग सहकार्यको लागि संवाद गरेको हुँ । एकताका लागि हैन ।’
संयोजक प्रचण्डले पार्टीमा ब्रिफिङ गरेको भोलिपल्ट अर्थात् मङ्गलवार एमाले अध्यक्ष ओलीले पनि प्रचण्डकै भनाइसँग मिल्दोजुल्दो बताए ।
मङ्गलवार पार्टी कार्यालय च्यासलमा नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता भन्दा पनि अपहरित लोकतन्त्रलाई फर्काउन संयुक्त सङ्घर्ष जरुरी रहेकोमा जोड दिएका छन् ।
‘देशमा गरिएको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ’, अध्यक्ष ओलीले भने । उनले भने पार्टी एकताको सम्भावना नरहेको र त्यसबारे भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
‘हामी समूहगत र संस्थागत एकता गर्दैनौँ तर पार्टी प्रवेश गर्ने व्यक्ति र समूहलाई पार्टी प्रवेश गराई उदारताका साथ समेट्ने काम गर्छौँ’, ओलीको प्रस्टीकरण थियो ।
त्यसो त दुवै पार्टीका नेता कार्यकर्ताहरूले पनि बस्तुनिष्ठ समीक्षा नगरी गरिने पार्टी एकता दिगो नहुने भन्दै हतारमा गरिने भनिएको एकताको आलोचना गर्दै आएका थिए । उनीहरूले २०७५ सालमा भएको एकता नटिक्नुमा नेतृत्वको कमजोरी भन्दै त्यस्तै एकता जरुरी नभएको बताउँदै आएका छन् । अर्काथरी नेता कार्यकर्ताहरूले भने ओली र प्रचण्ड अभिभावकको रूपमा बसेर पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीको नेतृत्व गर्दा उपयुक्त हुने मत प्रकट गर्दै आएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण