मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
सारांश
- मोरङको विराटनगरमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार देखाएर सर्वसाधारणलाई आतङ्कित पार्ने एक युवक पक्राउ परेका छन्।
- गत असार १२ गते नक्कली हतियार बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
- प्रहरीले असार १५ गते राति २३ वर्षीय मो. ईजराईललाई निजकै घरबाट नक्कली हतियारसहित नियन्त्रणमा लिएको हो।
मोरङ । विराटनगरमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर आम सर्वसाधारणलाई त्रसित र आतङ्कित बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.–९ बस्ने २३ वर्षका मो. ईजराईललाई प्रहरीले नक्कली हतियारसहित नियन्त्रणमा लिएको हो।
गत असार १२ गते मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने क्रममा ती युवकले नक्कली हतियार बोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, मोरङ तथा मातहतका प्रहरी एकाइहरूले व्यापक रूपमा खोजतलास सुरु गरेका थिए।
खोजी गर्ने क्रममा असार १५ गते राति अन्दाजी ९:४० बजेको समयमा प्रहरीले ईजराईललाई निजकै घर वतनबाट उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका ती युवकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण