बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी

बुधबार, १७ असार २०८३, ०६ : ००
बुधबार, १७ असार २०८३

सारांश

  • मेक्सिकोले सन् २०२६ को विश्वकपको राउन्ड अफ ३२ मा एस्टाडियो आज्टेकामा इक्वेडरको सामना गर्दैछ, जुन अहिलेसम्मकै सबैभन्दा कठिन खेल हुने अपेक्षा गरिएको छ ।
  • समूह चरणका सबै खेल जितेको मेक्सिकोले ४० वर्षयता पहिलो नकआउट जितको लक्ष्य राखेको छ, तर जर्मनीविरुद्धको जितपछि नकआउट चरणमा पुगेको इक्वेडर पनि खतरनाक प्रतिद्वन्द्वी हो ।
  • दुई बलिया रक्षापंक्तिबिचको यो खेलमा थोरै गोल अवसरको सदुपयोग गर्ने टोली विजयी हुने सम्भावना छ, तर घरेलु मैदानको फाइदा र पछिल्लो लयका कारण मेक्सिको केही अगाडि देखिन्छ ।

मेक्सिकोको स्वप्निल विश्वकप यात्राको सबैभन्दा कठिन परीक्षा निकै खतरनाक प्रतिद्वन्द्वी इक्वेडरविरुद्ध सुरु हुँदै छ । सन् २०२६ विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको मेक्सिकोले अब राउन्ड अफ ३२ मा एस्टाडियो आज्टेकामा इक्वेडरसँग आफ्नो अहिलेसम्मकै सबैभन्दा कठिन खेल खेल्दै छ । 

सन् २०२२ का दुई फाइनलिस्टबाहेक समूह चरणका तीनै खेल जित्ने एक मात्र टोली मेक्सिको हो । प्रशिक्षक हाभियर अग्विरेको व्यावहारिक रणनीतिलाई ‘एल त्री’ले उत्कृष्ट रूपमा आत्मसात गरेको छ । टोली अहिले यस्तो स्वप्निल विश्वकप यात्रामा छ जहाँ ४० वर्षयताको पहिलो नकआउट जित अब सम्भावना मात्र होइन, वास्तविक लक्ष्य बनेको छ । 

तर इक्वेडरलाई हराउनु सहज हुने छैन ।

सेबास्टियन बेक्कासेसेको टोलीले पहिलो दुई खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । तर जर्मनीविरुद्धको नाटकीय जितले उसलाई नकआउट चरणमा पुर्‍यायो । दक्षिण अमेरिकी टोलीमा उच्चस्तरीय व्यक्तिगत प्रतिभा छ र प्रतियोगिता सुरु हुनुअघि नै धेरैले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये सबैभन्दा खतरनाक टोलीका रूपमा मूल्यांकन गरेका थिए । मेक्सिको सिटीको निकै चुनौतीपूर्ण घरेलु वातावरणका बाबजुद इक्वेडरसँग आयोजकलाई स्तब्ध पार्न सक्ने पर्याप्त क्षमता छ । 

मेक्सिकोलाई अन्तिम १६ मा पुग्ने मामिलामा सामान्य रूपमा दाबेदार मानिए पनि राउन्ड अफ ३२ कै सबैभन्दा प्रतिस्पर्धात्मक खेलमध्ये एक मानिएको यस खेलको निर्णय सानो अन्तरले हुन सक्छ । 

‘एल त्रि’को नाटकीय जित

समूह चरणका उत्कृष्ट टोलीमध्ये एक बनेको मेक्सिकोले पुरस्कारस्वरूप त्यस्तो इक्वेडरसँग खेल्नुपर्ने भएको छ, जसलाई धेरैले प्रतियोगिताको ‘डार्क हर्स’ मानिरहेका छन् । व्यक्तिगत प्रतिभाको हिसाबले इक्वेडर केही बलियो देखिए पनि मेक्सिकोको सबैभन्दा ठुलो शक्ति भने टोली भित्रको राम्रो समन्वय नै हो । 

आज्टेकाको बत्तीमुनि ८० हजारभन्दा बढी दर्शक सहित मेक्सिकोले इक्वेडरलाई यस विश्वकपकै सबैभन्दा कठिन वातावरणमध्ये एकमा खेल्न बाध्य पार्नेछ । तर यी दुईबिच आज्टेकामा जुजारु घम्साघम्सीको अपेक्षा गर्न सकिन्छ । किनकि, यी दुई टोलीका क्षमता र खेल्ने शैली खासै अन्तर पाइँदैन । 

दुई बलिया रक्षापंक्तिबिच हुने यो खेलमा सिर्जना हुने थोरै गोल अवसरको सदुपयोग गर्ने टोली नै विजयी बन्ने सम्भावना छ । मेक्सिकोले अहिलेसम्म यही पक्षमा उत्कृष्ट प्रदर्शन गरेको छ भने इक्वेडरले गोल गर्ने अवसरको उपयोगमा संघर्ष गरिरहेको छ । 

यो खेल अन्तिम क्षणसम्म लम्बिन सक्छ र पेनाल्टी सुटआउटको सम्भावना पनि उत्तिकै बलियो छ । यद्यपि पछिल्लो प्रदर्शन र घरेलु मैदानको फाइदालाई आधार मान्दा मेक्सिको केही अगाडि देखिन्छ । अन्ततः ‘एल त्रि’ले आफ्नो जादुमय विश्वकप यात्रालाई निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ । 

आपसी आमनेसामनेको इतिहास

यो मेक्सिको र इक्वेडरबिचको समग्रमा २८औँ भेट हुनेछ । मेक्सिकोले १५ खेल जितेको छ भने आठ खेल बराबरीमा सकिएका छन् । इक्वेडरले केवल चार खेल जितेको छ । विश्वकपमा यी दुई टोलीबिच एक मात्र भेट सन् २००२ मा भएको थियो, जहाँ मेक्सिको २–१ ले विजयी भएको थियो । 

आज्टेका मैदानको प्रभाव

घरेलु मैदानको फाइदाले खेलको नतिजामा ठुलो प्रभाव पार्न सक्छ । सन् १९६६ यता मेक्सिकोले एस्टाडियो आज्टेकामा केवल दुई आधिकारिक खेल मात्र हारेको छ । आफ्नै घरेलु मैदानमा उसले पछिल्ला २४ खेलमा कुनै हार बेहोरेको छैन । 

मेक्सिकोको अविश्वसनीय लय

मेक्सिको पछिल्ला ११ खेलमा अपराजित छ । यस अवधिमा उसले केवल दुई गोल मात्र खाएको छ । सन् २०२६ विश्वकपमा एक गोल पनि नखाई समूह चरणका तीनै खेल जित्ने एकमात्र टोली पनि मेक्सिको नै हो ।

प्रशिक्षक हाभियर अग्विरेले यस विश्वकपभर आफ्नो सुरुआती टोलीको छनोटमा उत्कृष्ट निर्णय गरेका छन् । चेकियाविरुद्धको जितमा उनले केही प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । अब राउल हिमेनेज, एरिक लिरा र योहान भास्केज सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ । 

रोबर्टो अल्भाराडो र जुलियन क्विन्योनेसले अग्रपंक्ति पूरा गर्नेछन् । इक्वेडरको बलियो मिडफिल्डसँग शारीरिक रूपमा प्रतिस्पर्धा गर्न लुइस रोमोले पनि आफ्नो स्थान कायम राख्न सक्छन् । चेकियाविरुद्ध आत्मविश्वासपूर्ण प्रदर्शन गरेका किशोर प्रतिभा गिल्बेर्टो मोराले अल्भाराडोनजिक खेल्दै मुख्य अवसर सिर्जनाकर्ताको भूमिका पाउन सक्ने सम्भावना छ ।

एडसन आल्भारेजले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले रक्षापंक्तिको केन्द्रमा योहान भास्केजसँग साझेदारी गर्दै सेसार मोन्टेसलाई बेन्चमा राख्न सक्छन् । चेकियाविरुद्ध गिलेर्मो ओचोआले राष्ट्रिय टोलीका समर्थकसँग भावुक बिदाइ गरेका थिए । अब गोलपोस्टको जिम्मेवारी फेरि राउल राङ्गेलले सम्हाल्नेछन् । 

मेक्सिकोको सम्भावित टोली (४–३–३) : राङ्गेल, रेयेस, आल्भारेज, भास्केज, गालार्डो, मोरा, लिरा, रोमो; अल्भाराडो, हिमेनेज, क्विन्योनेस ।

इक्वेडरको सम्भावित सुरुआती टोली

इक्वेडरसँग विश्वस्तरका केही उत्कृष्ट खेलाडी छन् । जर्मनीविरुद्धको जितमा प्रशिक्षक सेबास्टियन बेक्कासेसेले सम्भवतः आफ्नो टोलीको नयाँ स्तर फेला पारे । उनले बल नियन्त्रणमार्फत खेलमा प्रभुत्व जमाउन सक्ने थप आक्रमणमुखी टोली उतारेका थिए । 

सन्डरल्यान्डका निल्सन आङ्गुलोले बायाँ विङमा आफ्नो स्थान कायम राख्न सक्छन् । त्यसले गोन्जालो प्लाटालाई स्ट्राइकर एन्नर भालेन्सियाको पछाडि तथा मोइसेस काइसेदो र पेद्रो भिटेको उत्कृष्ट मिडफिल्ड जोडीको अगाडि खेल्ने अवसर दिनेछ । रक्षापंक्तिमा विलियम पाचो, जोएल ओर्डोनेज र पिएरो हिन्कापिएले अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा बलियो रक्षापंक्तिमध्ये एकको नेतृत्व गर्नेछन् । 

इक्वेडरको सम्भावित टोली (४–२–३–१) : गालिन्देज, फ्रान्को, ओर्डोनेज, पाचो, हिन्कापिए; काइसेदो, भिटे; येबोआ, प्लाटा, आङ्गुलो, भालेन्सिया ।

समग्रमा मेक्सिको विरुद्ध इक्वेडरः
स्थानः मेक्सिको सिटी
रंगशालाः एस्टाडियो आज्टेका
मितिः बुधबार विहान ६ः४५ (नेपाली समय)
रेफ्रीः स्लाभ्को भिन्चिच (स्लोभेनिया)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप