बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली

बुधबार, १७ असार २०८३, १४ : ५५
बुधबार, १७ असार २०८३

सारांश

  • नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले दुई तिहाइ बहुमतको आडमा सरकारले मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
  • नेता ज्ञवालीले संघीयता खारेज गर्ने दस्ताबेज पारित भएको भन्दै सरकारको नियत संविधान समाप्त पार्ने हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
  • उनले सरकार र प्रधानमन्त्रीले आफूखुसी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि खतरनाक चेतावनी भएको बताएका छन् ।

काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् । वर्तमान सरकारको यस्तो कार्यशैलीका विरुद्ध चौतर्फी खबरदारी आवश्यक रहेको उनको भनाइ छ ।

बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै नेता ज्ञवालीले सरकारको कार्यशैली र गतिविधिले देशको संविधान र लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्ने टिप्पणी गरेका हुन् । 

सत्तारुढ दलले संघीयता खारेज गर्ने दस्ताबेज पारित गरेको भन्दै उनले सरकारको नियत वर्तमान संविधानलाई नै समाप्त पार्ने हो कि भन्ने आशंका बलियो हुँदै गएको बताए । प्रधानमन्त्री र सरकारले आफूखुसी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक चेतावनी भएको उनको तर्क छ ।

उनले कार्यक्रममा भने, ‘अहिलेको सरकारले जुन दुई तिहाइको नाउमा मनपरी गर्न खोजिरहेको छ त्यसको खबरदारी गर्नुपर्ने यो संस्थाको महत्त्वपूर्ण दायित्व हो । त्यसो भएको हुनाले कुन, कुन विषय हामी उठाउने ? कुन कुरामा हामीले खबरदारी गर्नुपर्ने हो त्यो विषयमा हामी बेला मौकामा भेटेर छलफल गरौँ । अहिले हामी संघीयता खारेज गर्ने कुरा सुनिरहेका छौँ । सरकारले यस्तै गरेर जाने हो भने यो संविधानलाई नै समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका बढिरहेको छ । अनि सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट उहाँहरूमा विकास भइरहेको छ त्यो अत्यन्त खतरनाक छ । कतै निर्वाचित तानाशाहको उदय त हुने होइन ? यो प्रश्न उठिरहेको छ । म त्यसो भन्न खोजिरहेको छैन । तर स्थिति त्यतातिर जान खोजिरहेको आभास धेरैले गरिरहनुभएको छ ।’

नेता ज्ञवालीले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने प्रश्न उठ्न थालेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्ने धारणा राखे । उनले देशलाई सही दिशामा डोर्‍याउन पूर्वसांसदहरूको भूमिका र अनुभव अझ बढी महत्त्वपूर्ण हुने समेत उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप