चिनियाँ सेनाले रुसी सैनिकलाई गोप्य सैन्य प्रशिक्षण दिएको दाबी
सारांश
- गत वर्ष चिनियाँ सेनाले रुसी सैनिकलाई गोप्य सैन्य प्रशिक्षण दिएको दाबी गरिएको छ ।
- रुसका रक्षा मन्त्रीको आन्तरिक आदेशअनुसार रुसी प्रतिनिधिमण्डलले जनमुक्ति सेनाका सैन्य प्रतिष्ठानहरूमा तालिम लिएको थियो ।
- प्रशिक्षणमा आणविक रिएक्टरको नमुना देखाउनुका साथै रेडियोलोजिकल, रासायनिक तथा जैविक सुरक्षासम्बन्धी अभ्यास गराइएको थियो ।
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका रक्षा मन्त्रीको प्रत्यक्ष स्वीकृतिमा गत वर्ष चिनियाँ सेनाले रुसी सैनिकलाई गोप्य सैन्य प्रशिक्षण दिएको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सार्वजनिक गरेको समाचारमा उक्त प्रशिक्षणमा रुस र चीनका कम्तीमा चार जना उच्च सैनिक अधिकारी प्रत्यक्ष रूपमा संलग्न रहेको उल्लेख गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार रुसका रक्षा मन्त्री आन्द्रेई बेलोउसोभले सन २०२५ को अगस्टमा जारी गरेको आन्तरिक आदेशअनुसार रुसी सशस्त्र बलको एक प्रतिनिधिमण्डल प्रशिक्षणका लागि चीन गएको थियो । उनीहरूले जनमुक्ति सेना (पीएलए)का सैन्य प्रतिष्ठानहरूमा विभिन्न तालिम लिएको बताइएको छ ।
गोप्य दस्ताबेजअनुसार सन २०२५ को नोभेम्बरमा बेइजिङस्थित एक सैन्य केन्द्रमा तीन साताको विशेष तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा रेडियोलोजिकल, रासायनिक तथा जैविक सुरक्षासम्बन्धी अभ्यास गराइएको उल्लेख छ । समाचारमा चिनियाँ प्रशिक्षकले रुसी सैनिकलाई आणविक रिएक्टरको नमुना देखाउँदै प्रशिक्षण दिएको, रासायनिक तथा विकिरण पहिचान गर्ने तरिका सिकाएको तथा प्रदूषणबाट हावाप्रवाह प्रणाली सुरक्षित राख्ने उपायबारे जानकारी दिएको विवरण समावेश छ ।
युरोपेली अधिकारीहरूका अनुसार यस्तो संवेदनशील सैन्य तालिमले रुस र चीनबिचको रणनीतिक सहकार्यको गहिराइ झल्काउने भएकाले युरोपमा चिन्ता बढेको छ । यस विषयमा रुस र चीनका रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएका छैनन् । चीनको विदेश मन्त्रालयले भने रोयटर्सको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै युक्रेन युद्धबारे आफ्नो नीति निरन्तर तटस्थ रहेको जनाएको छ । मन्त्रालयले प्रतिवेदनमा उल्लेख गरिएका आरोपहरू पूर्ण रूपमा निराधार भएको दाबी गरेको छ । चीनले युक्रेन युद्धमा आफू तटस्थ रहेको र शान्ति मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण