आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सांसदसँग

दलित, महिला, सीमान्तकृत समुदायका लागि आवाज उठाइरहन्छु : सांसद रम्तेल

आइतबार, २१ असार २०८३

काठमाडौँ । राधिका रम्तेल लामो समयदेखि कर्णालीका महिला र दलित समुदायको हक–अधिकार दिलाउन सक्रिय छिन् । सुर्खेतकी स्थायी बासिन्दा रम्तेल कर्णालीका सीमान्तकृत समुदायको आवाजलाई राष्ट्रियस्तरमा उठाउन निरन्तर संघर्षरत छिन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी रम्तेलले कर्णालीका समस्यालाई नजिकबाट भोगेकी र देखेकी छन् । दलित क्लस्टरको प्रतिनिधित्व गर्दै संघीय संसदमा प्रवेश गरेकी रम्तेलले संसदका बैठकमा सीमान्तकृत वर्गका मुद्दाहरूलाई उठाउँदै आइरहेकी छन् ।

उनै रम्तेलसँग रातोपाटीको ‘सांसदस“ग’ स्तम्भका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

सांसद बन्छु भन्ने सोच्नु भएको थियो कहिल्यै ?

सांसद बन्छु भन्ने जिन्दगीमा नसोचेकै कुरा थियो । मेरो पृष्ठभूमि हेर्ने हो भने म नितान्त सामाजिक कार्य गरेर राजनीतिमा आएको हो । राजनीतिक दलमा आवद्ध भएको मेरो केही पनि अनुभव थिएन । यहाँसम्म पुग्छु, सांसद बन्छु, सिंहदरबारमा आएर जनताको आवाज उठाउँछु भन्ने त झन् कल्पना पनि थिएन ।

सांसद बन्ने मौका पाउनुभयो, संसदमा पुगिसकेपछि कस्तो अनुभूति भयो ? के कुरा सिकियो ?

पार्टीले मलाई ठुलो मौका दियो । समानुपातिकमा कर्णाली प्रदेशलाई समेटेर एकदमै न्याय गरेको छ । म यो ठाउँमा आउने व्यक्ति हुँदै होइन, तर पार्टीले हाम्रो प्रदेशलाई, त्यो पनि दलित समुदायको प्रतिनिधित्व समेट्यो । श्रम संस्कृति पार्टीबाट तीन जनाले प्रत्यक्ष जित्नुभयो र चार जना समानुपातिकबाट आयौँ । सबै क्लस्टर, त्यसमा पनि कर्णाली प्रदेशलाई समेटेर हामीलाई संसदमा ल्याउनुभयो । यो काम उदाहरणीय हो । अध्यक्षले राम्रो गर्दै जानुभएको छ । यसको लागि हृदयदेखि नै धेरै–धेरै धन्यवाद दिन्छु ।

चुनावको बेला जनतास“ग के के प्रतिबद्धता गर्नु भएको थियो ? संसदमा पुगेपछि जनताका लागि के—के काम गर्छु भन्ने थियो ?

त्यतिखेर संसदमा पुग्छु भन्ने कुरै थिएन, तर पुगेँ । कर्णालीका विकट ठाउँहरूमा स्कुल छैनन्, कतिपय ठाउँमा स्कुल छ, तर विद्यार्थी छैनन् । कति ठाउँमा स्वास्थ्य चौकी छैन, कति ठाउँमा स्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी छैनन् । कर्णाली, सुदूरपश्चिमको कुरा गर्ने हो भने अहिले पनि सुत्केरी महिलाहरूले निकै सास्ती भोग्नुपर्छ । गाउँगाउँमा बाटो छैन, सबै ठाउँमा गाडी जाँदैन । अस्पताल ल्याउँदा बाटोमै मरेका घटना छन् । यस्ता दर्दनाक घटनाहरूलाई केही समाधान गर्न गर्न सकिन्छ कि भन्ने मेरो मनमा थियो । मैले संसदमा आवाज उठाइरहेको पनि छु र भोलिको दिनमा पनि उठाउने प्रण लिएको छु ।

श्रम संस्कृति पार्टीले श्रमदानलाई बढी महत्त्व दिन्छ । श्रमदान गरौँ भन्ने संस्कारको विकास गरेको छ । अहिले दार्चुलामा अभियान सुरु भइसकेको छ । अब कर्णालीमा त्यस्तो केही काम सुरु हुँदैछ कि ?

1-IMG_20260630_170210.jpg

कर्णालीका सार्वजनिक चोकहरू, त्यहाँका नालाहरू, जे–जे आफूले सकिन्छ, हाम्रो पार्टीले केही काम गर्दै आएको छ । धेरै साथीहरू खटिरहनुभएको छ । कति ठाउँमा बाटो बनाउनुभएको छ । कति ठाउँमा जाली लथालिङ्ग थिए, त्यो मिलाउनुभएको छ । वर्षौंदेखि थुप्रिएको फोहोरहरू व्यवस्थित गर्नुभएको छ । कर्णालीमा हाम्रो श्रमदाता धेरै खटिनुभएको छ ।

अझै श्रमदानबाट गर्नुपर्ने कुरा धेरै छन् । त्यहाँका सुकुमबासी बस्तीहरूलाई व्यवस्थित गर्नु पर्ने छ । हालै म कर्णाली प्रदेशमा जाँदा त्यहाँ सुकुमबासी जनताहरू रोइरहेको देखेँ । अर्कोतर्फ स्कुल जाने बाटो छैन, खाने पानी छैन, स्वास्थ्य सेवा छैन, जनताले गुनासो गरिरहेका छन् । यो कुराले हामीलाई दुःख लागिरहेको छ । हामी सरकारमा छैनौँ, विपक्षमा छौँ र पनि हामी यो कुरा उठाउछौँ ।

संसदमा गत हप्ता दुई दिनको तालिम पनि लिनुभयो । यो तालिमले के–के कुरा सिकायो ?

सांसदहरूले साँच्चिकै सिक्नै पर्ने तालिम थियो । प्रधानमन्त्री, मन्त्रीले सिक्नै पर्ने तालिम थियो । नीति–नियमका कुराहरू, कसरी बोल्ने, कति बोल्ने, कुन विषयमा बोल्ने, ती सबै कुरा सिकियो । हाम्रो प्रधानमन्त्रीज्यूले पनि सिक्न पर्ने कुराहरू थियो । उहाँ तालिममा आउनु भएन ।

2-IMG_20260630_171305.jpg

हाम्रा मन्त्रीहरू पनि तालिममा आउन सक्नुभएन । त्यसैले यो तालिमहरूले हामीलाई धेरै कुरा सिकियो । तालिम हाम्रो लागि छोटो पनि भयो । दुई–चार दिन अझै अरू थपेर यो तालिमले गहिरो रूपमा सिकाउनुपर्ने हो । हामीले धेरै कुरा सिक्न पायौँ । मचाहिँ धेरै खुसी छु ।

सांसद्का रूपमा यो कार्यकालभरि के–के काम गर्नु हुनेछ ? कस्तो भूमिका खेल्नु हुनेछ ?

देशैभरिका महिला दिदीबहिनीहरूका समस्या छन् । दलित, मुस्लिम, मधेसीहरूका समस्या छन् । देशमा विभिन्न जातजातिका मानिस छन् । सबै यो देशका नागरिक हुन्, हरेकले यो देशमा सेवा–सुविधा पाउन्, साँच्चिकै यो देशमा बसेको अनुभूति गर्न पाउन् । दलित, महिला, सीमान्तकृत समुदायका लागि संसदमा म आवाज उठाइरहनेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया