आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित

आइतबार, २१ असार २०८३, १९ : २९
आइतबार, २१ असार २०८३

सारांश

  • सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ओलम्पियन खेलाडीहरूलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ।
  • बक्सिङ, तेक्वान्दो, पौडी, ब्याडमिन्टन, एथलेटिक्स, पारा एथलेटिक्स र भारोत्तोलनका खेलाडीहरूलाई सम्मान गरियो।
  • खेलाडीहरूले सम्मानले थप प्रेरणा मिलेको र खेलकुदमा बजेटको अभाव रहेको बताएका छन्।

धनगढी।सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका ख्यातिप्राप्त ओलम्पियन खेलाडीहरूलाई आइतबार सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशबाट ओलम्पिक खेलमा सहभागिता जनाएर देशको सान बढाउने खेलाडीहरूलाई उनीहरूको योगदानको कदर गर्दै नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

सामाजिक विकास मन्त्री बेलबहादुर रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा खेलाडीहरूलाई जनही ७० हजार रुपैयाँ नगद, सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा ओलम्पिकमा सहभागी बक्सिङ खेलाडी विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट  रहेका छन्। त्यसैगरी, चार पटक दक्षिण एसियाली स्वर्ण पदक विजेता तथा ओलम्पियन कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट र यसैगरि तेक्वानदो खेलाडी  निशा रावललाई पनि सम्मान गरिएको छ।

यस्तै सम्मानित हुने खेलाडीहरूमा पौडीकी गौरीका सिंह, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सकी सरस्वती भट्टराई, तेक्वान्दोका भरतसिंह महरा र पारा एथलेटिक्सका विक्रमबहादुर राना रहेका छन्। परिषद्ले भारोत्तोलनका खेलाडी स्वर्गीय भरत बहादुरलाई मरणोपरान्त सम्मान गरेको छ।

सम्मानित भएपछि खेलाडी दीपक विष्टले कार्यक्रममा बोल्दै सुदूरपश्चिम खेलकुदमा सधैँ अगाडि रहेको र नेपाली खेलकुद क्षेत्रलाई सुदूरपश्चिमले दबाब दिइरहेको बताए।

‘हामीसँग स्रोत साधनको अभाव भए पनि साहसको कमी छैन। यस्ता सम्मानले हामीलाई अझै केही गर्ने आँट दिन्छ। खेलकुदमा बजेटको अभाव छ, तर मन्त्रीज्यू र प्रदेश सरकारले खेलाडीहरूलाई निराश पार्नुहुने छैन भन्ने आशा छ,’उनले भने।

मन्त्री बेलबहादुर रानामगरले खेलाडीहरू देशका गहना भएको चर्चा गर्दै प्रदेश सरकार खेलकुदको विकास र खेलाडीको वृत्ति विकासमा प्रतिबद्ध रहेको बताए। उनले सीमित स्रोत साधनका बाबजुद पनि प्रदेशले खेल क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप