सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने

आइतबार, २१ असार २०८३, २३ : २७
आइतबार, २१ असार २०८३

काठमाडौँ । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथि फिफाले लगाएको एक खेलको प्रतिबन्ध निलम्बन गरेपछि उनले बेल्जियमविरुद्धको विश्वकपको अन्तिम १६ ९प्रि–क्वार्टरफाइनल० को खेल खेल्न पाउने भएका छन् ।

२५ वर्षीय स्ट्राइकर बालोगनले बोस्निया–हर्जगोभिनाका डिफेन्डर तारिक मुहरेमोभिचमाथि फल गरेबापत सिधै रातो कार्ड पाएका थिए । सह–आयोजक अमेरिकाले अन्तिम ३२ को सो खेल २–० ले जितेको थियो ।

फिफाले बालोगनको स्वचालित एक खेलको प्रतिबन्धलाई एक वर्षका लागि निलम्बन गरेको हो। फिफाले आफ्नो वक्तव्यमा भनेको छ, ‘फिफा अनुशासन संहिताको धारा २७ अनुसार, खेल प्रतिबन्धलाई एक वर्षको परीक्षण कालका लागि निलम्बित गरिएको छ । ’

फिफाले थपेको छ, ‘यस परीक्षण कालमा फोलारिन बालोगनले पुनः उस्तै प्रकृतिको गल्ती गरेमा यो निलम्बन खारेज भई पुरानो प्रतिबन्ध लागू हुनेछ र नयाँ उल्लंघनका लागि थप कारबाही समेत आकर्षित हुनसक्नेछ ।’

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत फिफाको यस निर्णयको स्वागत गर्दै ‘ठुलो अन्याय सच्च्याएको’ मा धन्यवाद दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘सही काम गरेको र ठुलो अन्यायलाई उल्ट्याएकोमा फिफालाई धन्यवाद ! राष्ट्रपति डोनाल्ड जे. ट्रम्प। ’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यसअघि रातो कार्ड दिने निर्णयको समीक्षा हुनुपर्ने माग गरेका थिए । पत्रकार सम्मेलनमा अमेरिकाको प्रदर्शनबारे सोधिएको प्रश्नमा रुबियोले भनेका थिए, ‘हाम्रो प्रदर्शन उत्कृष्ट थियो। तर रातो कार्डको निर्णयले हामी मर्कामा पर्‍यौँ । यसका लागि पुनरावेदनको प्रक्रिया हुनुपर्छ ।’

प्रशिक्षक माउरिसियो पोचेटिनोको अमेरिकी टोलीका लागि बालोगन निकै महत्त्वपूर्ण खेलाडी साबित हुँदै आएका छन् । उनले प्याराग्वेविरुद्ध ४–१ को जित दर्ता गरेको खेलमा दुई गोल गरेका थिए। त्यस्तै, बोस्नियाविरुद्धको खेलको ६४औँ मिनेटमा रातो कार्ड पाउनुअघि पनि पहिलो गोल उनैले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप