ध्रुवे हात्तीको आतंक: घरमै पसेर आमा–छोराको लियो ज्यान, स्थानीयको प्रदर्शनपछि चारबुँदे सहमति
सारांश
- चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीले भरतपुर-२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा आमा-छोराको मृत्यु भएको छ ।
- स्थानीयवासीले शव राखेर प्रदर्शन गर्दै ध्रुवेलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् ।
- आन्दोलनपछि हात्ती नियन्त्रण, मृतक परिवारलाई राहत र घर पुनर्निर्माण गर्नेलगायत चारबुँदे सहमति भएको छ ।
मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ले शनिबार राति भरतपुर महानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा आमा–छोराको मृत्यु भएको छ ।
वर्षौँदेखि स्थानीय बस्तीमा आतंक मच्चाउँदै आएको ध्रुवेलाई समयमै नियन्त्रणमा लिन नसक्दा दुई निर्दोष नागरिकको ज्यान गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
शनिबार राति करिब ११ बजेतिर बेलहट्टास्थित पूर्ण बोटेको कच्ची घरमा हात्तीले आक्रमण गर्दा उनकी श्रीमती २५ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ‘डीएसपी चन्द्रभूषण यादवका अनुसार आमा–छोरा घरभित्र सुतिरहेको अवस्थामा हात्तीले अचानक घरमा आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट परिवार जोगाउन घरमूली पूर्ण बोटेले आगो बालेर हात्ती धपाउने प्रयास गरेका थिए । तर, आगो कच्ची घरमा सल्किएपछि घरमै आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट थप मानवीय क्षति भने हुन पाएन ।
आक्रोशित स्थानीयले शव राखेर गरे प्रदर्शन
घटनापछि आक्रोशित स्थानीयले मृतक आमा–छोराको शव चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा प्रवेश गर्ने राप्ती नदीमाथिको पुलमा राखेर धर्ना दिएका थिए । ध्रुवेलाई तत्काल नियन्त्रणमा नलिएसम्म शव नउठाउने चेतावनी दिँदै उनीहरूले निकुञ्ज प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
स्थानीयका अनुसार ध्रुवे लामो समयदेखि बेलहट्टा, जगतपुर र आसपासका बस्तीमा प्रवेश गरेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने तथा मानिसमाथि आक्रमण गर्ने घटनामा संलग्न रहँदै आएको थियो । पटक–पटक निकुञ्ज प्रशासनलाई जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ ।
वार्तापछि चारबुँदे सहमति
स्थानीयको आन्दोलनपछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समिति तथा इलाका प्रहरी कार्यालय गीतानगरका प्रतिनिधिबिच छलफल भएको थियो ।
छलफलपछि चारबुँदे सहमति भएको छ । सहमतिअनुसार जङ्गली हात्ती ध्रुवेलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्जमार्फत मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिदिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवश्यक सुरक्षा तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ।
भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडीले निकुञ्ज प्रशासनको लापरबाहीका कारण दुःखद घटना भएको आरोप लगाए । उनका अनुसार ध्रुवेले लामो समयदेखि मानव बस्तीमा पसेर आतंक मच्चाउँदै आए पनि नियन्त्रणका लागि पटक–पटक आग्रह गर्दा पनि निकुञ्ज प्रशासनले बेवास्ता गरेको थियो ।
‘स्थानीयले धेरै पटक जानकारी गराएका थिए। तर समयमै प्रभावकारी कदम नचालिँदा आज दुई निर्दोष नागरिकको ज्यान गएको छ,’ उनले भने, ‘अब तत्काल ध्रुवेलाई नियन्त्रणमा लिनुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्छ ।’
स्थानीयका अनुसार ‘ध्रुवे’ नामले चिनिने उक्त जङ्गली हात्ती विगत धेरै वर्षदेखि चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाउँदै आएको छ। रातको समयमा गाउँ पस्ने, घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मानिसमाथि आक्रमण गर्ने घटना बारम्बार दोहोरिँदै आएका छन् । यसअघि पनि ध्रुवेको आक्रमणबाट चितवन र आसपासका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएका थुप्रै घटना सार्वजनिक भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
-
विश्वकप लिग-२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
-
सेन्ट पिटर्सबर्गको प्रमुख तेल टर्मिनलमा युक्रेनीड्रोन आक्रमण
-
घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
-
नेपालको पर्यटन प्रवर्द्धनबारे अमेरिकामा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण