धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताका छन् ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्रको आज निरीक्षणपछि मन्त्री पौडेलले देवभूमि सर्किट बनाउन पौराणिककालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिए ।
“धर्मग्रन्थका देवीदेवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनिहरूले तपस्या बसेको, यात्रा गरेको बाटो पहिचान गरेर त्यहाँ पर्यटक भित्र्याउने सरकारको योजना हो”, उनले भने, “देवभूमि सर्किटमा समेटिएका गन्तव्य पहिचान गरी सरकारले पूर्वाधार र प्रवर्द्धनमा लगानी गर्न बजेट विनियोजन गरेको छ ।”
दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी, गलेश्वर, पुलाश्रम, बागलुङ कालिका, कालञ्जर पर्वत, देवघाटलगायत कालीगण्डकी करिडोरलाई देवभूमि सर्किटका रूपमा विकास गर्ने योजना रहेको मन्त्री पौडेलको भनाइ थियो । पर्यापर्यटन, प्राकृतिक, साहासिकसँगै आरोग्य पर्यटन विकासमा पनि सरकारले जोड दिएको उनले बताए । मन्त्री पौडेलले आजै बेनी नगरपालिका–९ गलेश्वर शिवालयको दर्शन र क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग छलफल गरे । स्थानीय तहहरूसँगको साझेदारीमा शाकाहारी र न्यून बजेटमा तीर्थयात्राका लागि आउने पर्यटकलाई लक्षित गरेर धर्मशाला सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।
मन्त्री पौडेलले धार्मिक संस्थाहरूसँग भएको कोषलाई परिचालन गरेर सरकारले पूर्वाधार र प्रवर्द्धनको क्षेत्रमा लागत साझेदारीका योजना तथा कार्यक्रम बनाएको बताए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका प्रमुख संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्यसचिव सम्मरबहादुर थापालगायतले अवस्था, योजना र सरकारसँगको अपेक्षाका विषयमा जानकारी गराएका थिए । ।
त्यसैगरी, मन्त्री पौडेललाई मुस्ताङबाट फर्कने क्रममा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण आधार शिविरमा सञ्चार, विद्युत् सुविधा विस्तार तथा आवास व्यवस्थापनलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । शनिबार मुस्ताङको मुक्तिनाथ र कोरला नाकाको भ्रमण गरेका मन्त्री पौडेलको टोली आइतबार बेनी हुँदै सडकमार्ग भएर काठमाडौँ फर्किएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण