इतिहासले फेरि एकपटक नेपाली कांग्रेसलाई बोलाइरहेको छ
नेपाल अहिले केवल राजनीतिक परिवर्तनको यात्रामा छैन; यो विश्वास, उत्तरदायित्व र राष्ट्रिय चरित्रको कठिन परीक्षाबाट गुज्रिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशकभन्दा बढी समय बितिसकेको छ । संविधान जारी भएको पनि वर्षौँ भइसकेको छ । राजनीतिक परिवर्तनका ठूला लक्ष्यहरू संस्थागत भएका छन् ।
तर जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति भने अपेक्षाअनुसार हुन सकेको छैन । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दियो, मतदानको अधिकार दियो, समावेशी प्रतिनिधित्वको ढोका खोल्यो, तर रोजगारीको खोजीमा हजारौँ युवाले हरेक महिना विमानस्थलबाट बिदाइ लिनुपर्ने यथार्थ अझै पनि कायम छ ।
किसानले आफ्नो उत्पादनको उचित मूल्य खोजिरहेका छन् । साना उद्यमीहरू आर्थिक अनिश्चिततासँग जुधिरहेका छन् । शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा सुधारको अपेक्षा अझै बलियो छ । यिनै कारणले जनतामा प्रश्नहरू बढिरहेका छन्– के राजनीतिक परिवर्तनले अपेक्षित जीवनस्तर दिन सकेको छ ? लोकतन्त्रको प्रतिफल किन सबैले समान रूपमा महसुस गर्न सकेका छैनन् ?
यस्ता प्रश्नहरू केवल सरकारतर्फ लक्षित छैनन्; ती लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका दलहरूतर्फ पनि तेर्सिएका छन् । तीमध्ये सबैभन्दा ठूलो ऐतिहासिक जिम्मेवारी बोकेको दल नेपाली कांग्रेस पनि हो । सात दशकभन्दा लामो इतिहास बोकेको यो दल कुनै सामान्य राजनीतिक सङ्गठन होइन ।
जनताले विगतको योगदानलाई सम्मान गर्छन्, तर भविष्यको आशा वर्तमानको व्यवहारबाट निर्माण गर्छन् ।
यसको प्रत्येक अध्यायमा संघर्ष छ, बलिदान छ, जेल छ, निर्वासन छ, जनआन्दोलन छ, राष्ट्रिय सहमति छ । र, लोकतन्त्रप्रतिको अदम्य विश्वास छ । यसैकारणले नेपाली कांग्रेसलाई केवल एउटा पार्टीका रूपमा होइन, नेपालको लोकतान्त्रिक चेतनाको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा हेरिन्छ ।
तर इतिहासले एउटा कठोर सत्य पनि सिकाउँछ— जुन संस्था आफ्नो गौरवमा मात्र रमाउँछ र समयको आवाज सुन्दैन, त्यो क्रमशः जनविश्वासबाट टाढिँदै जान्छ । इतिहासले सम्मान दिन्छ, तर भविष्यको जिम्मेवारी वर्तमानको कर्मले निर्धारण गर्छ । नेपाली कांग्रेसका लागि आज यही सबैभन्दा ठूलो परीक्षा हो । विगतका महान् उपलब्धिहरूले वर्तमानका कमजोरी स्वतः ढाक्दैनन् ।
जनताले विगतको योगदानलाई सम्मान गर्छन्, तर भविष्यको आशा वर्तमानको व्यवहारबाट निर्माण गर्छन् ।
आज कांग्रेसभित्र पनि अनेक प्रश्न उठिरहेका छन् । धेरै पुराना कार्यकर्ताले आफूलाई उपेक्षित महसुस गरेका छन् । युवाहरूले अवसरभन्दा निराशा बढी देखिरहेका छन् । विचारको बहसभन्दा व्यक्तिकेन्द्रित प्रतिस्पर्धाले स्थान लिएको अनुभूति बढेको छ । सङ्गठनका धेरै तहमा सक्रियताको ऊर्जा कमजोर भएको गुनासो सुनिन्छ ।
यस्ता असन्तुष्टिहरूलाई शत्रुका आरोपका रूपमा होइन, आफ्नै घरभित्रबाट उठेका आत्मसमीक्षाका आवाजका रूपमा सुन्न सकियो भने मात्र पुनर्जागरणको ढोका खुल्न सक्छ । त्यसैगरी, आमजनतामा पनि पुराना राजनीतिक दलहरूप्रति बढ्दो निराशा देखिन्छ । यसको अर्थ लोकतन्त्रप्रति निराशा होइन; बरु लोकतन्त्रलाई अझ प्रभावकारी बनाउनुपर्ने जनअपेक्षा हो ।
जनता परिवर्तन चाहन्छन्, तर परिवर्तनको अर्थ केवल नयाँ अनुहार होइन; नयाँ संस्कार, नयाँ कार्यशैली, पारदर्शिता, सुशासन र उत्तरदायित्व पनि हो । लोकतन्त्रमा जनताको धैर्य असीमित हुँदैन । जब आशा र परिणामबीचको दूरी बढ्छ, तब असन्तुष्टि पनि बढ्छ । त्यसैले जनविश्वास पुनः जित्ने बाटो आत्मसमीक्षा, सुधार र सेवाबाट मात्र सम्भव हुन्छ ।
इतिहासको गौरव केवल सम्झनाका लागि होइन, वर्तमानलाई सच्याउने प्रेरणाका लागि हो । नेपालको लोकतन्त्र आज केवल कानुनी व्यवस्थाले मात्र सुरक्षित हुने अवस्था छैन ।
यस सन्दर्भमा नेपाली कांग्रेसको भूमिका अझ विशेष छ । किनकि यो दलले नेपालको लोकतान्त्रिक इतिहासलाई दिशा दिएको छ । ००७ सालको क्रान्तिदेखि ०१५ सालको पहिलो जननिर्वाचित सरकारसम्म, पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि ०४६ सालको जनआन्दोलनसम्म, शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म हरेक निर्णायक मोडमा कांग्रेस अग्रपङ्क्तिमा उभिएको इतिहास छ ।
यही इतिहासले आज पनि यसलाई ठूलो नैतिक जिम्मेवारी दिन्छ । इतिहासको गौरव केवल सम्झनाका लागि होइन, वर्तमानलाई सच्याउने प्रेरणाका लागि हो । नेपालको लोकतन्त्र आज केवल कानुनी व्यवस्थाले मात्र सुरक्षित हुने अवस्था छैन । लोकतन्त्र संस्थागत हुन राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र, नैतिक नेतृत्व, जनताप्रतिको उत्तरदायित्व र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता उत्तिकै आवश्यक हुन्छ ।
यदि लोकतान्त्रिक दलहरू आफैँ कमजोर भए, विभाजित भए वा जनविश्वास गुमाए भने लोकतन्त्रका संस्थाहरू पनि कमजोर हुन थाल्छन् । विश्व इतिहासले यस्ता धेरै उदाहरण देखाएको छ । त्यसैले नेपाली कांग्रेसको पुनर्जागरण केवल एउटा पार्टीको हितको विषय होइन; यो नेपालको लोकतान्त्रिक भविष्यसँग पनि गहिरोसँग जोडिएको विषय हो ।
आज आवश्यक कुरा दोष खोज्नु होइन, दिशा खोज्नु हो । कसलाई हराउने होइन, कसरी राष्ट्रलाई जिताउने भन्ने सोच विकसित गर्नु हो ।
नेपाली कांग्रेससँग यी सबै पुनः जागृत गर्ने ऐतिहासिक अवसर अझै पनि बाँकी छ । तर अवसर सधैँ पर्खेर बस्दैन ।
गुटको विजयले क्षणिक लाभ दिन सक्छ, तर विचारको विजयले पुस्तौँसम्म राष्ट्रलाई दिशा दिन्छ । पदले केही वर्षसम्म सम्मान दिन सक्छ, तर त्याग र सेवाले इतिहासमा अमरता दिन्छ । यही शिक्षा नेपाली कांग्रेसका संस्थापक पुस्ताले आफ्नो जीवनबाट दिएका थिए । आज फेरि समयले त्यही प्रश्न दोहोर्याइरहेको छ ।
के कांग्रेस आफ्नो इतिहासबाट शक्ति लिएर भविष्य निर्माण गर्न तयार छ ? के उसले आफ्ना कमजोरी स्वीकार गर्दै जनविश्वास पुनः जित्न सक्छ ? के उसले व्यक्तिकेन्द्रित प्रतिस्पर्धाबाट माथि उठेर विचार, सङ्गठन र राष्ट्रलाई केन्द्रमा राख्न सक्छ ? यदि यसको उत्तर ‘सक्छ’ भन्ने हो भने, नेपाली कांग्रेसको पुनर्जागरण केवल सम्भावना होइन, राष्ट्रिय आवश्यकता बन्न सक्छ ।
किनकि अन्ततः कुनै पनि राजनीतिक दलको अस्तित्व उसको कार्यालय, झण्डा वा चुनावी सफलताले मात्र निर्धारण गर्दैन । उसको वास्तविक शक्ति जनताको विश्वास, कार्यकर्ताको समर्पण, नेतृत्वको नैतिकता र राष्ट्रप्रतिको निष्ठाले निर्धारण गर्छ ।
नेपाली कांग्रेससँग यी सबै पुनः जागृत गर्ने ऐतिहासिक अवसर अझै पनि बाँकी छ । तर अवसर सधैँ पर्खेर बस्दैन । इतिहासले अवसर दिन्छ, तर त्यसको सदुपयोग गर्ने जिम्मेवारी वर्तमान पुस्ताकै काँधमा हुन्छ ।
क्रमशः...
(डा. शोभाकर पराजुलीले नेपाली लोकतन्त्रका सामु देखिएका चुनौती तथा नेपाली कांग्रेसलाई इतिहासले सुम्पिएको ऐतिहासिक जिम्मेवारी के हुन् भन्नेबारे पाँच भागमा आलेखको सङ्गालो तयार पारेका छन् । उनको आलेख रातोपाटीमा क्रमशः दिन बिराएर प्रकाशित हुनेछ । यो पराजुलीको पहिलो भाग हो ।– सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबिच भेटवार्ता
-
भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति (पूर्णपाठ)
-
बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै
-
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
-
गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ
-
ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण