राहदानी प्रकरणको फाइल मगाएर तत्काल अध्ययन गरौँ : सांसद विक्रम थापा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले राहदानी छपाइमा भएको अनियमितताको तत्काल छानबिन गर्नुपर्ने बताएका छन् ।
- उनले राहदानी विभागको फाइल मगाएर निर्णय प्रक्रियामा संलग्न व्यक्तिको नियत र राज्यलाई पुगेको क्षतिको गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिए ।
- सांसद थापाले राहदानी अभावले नागरिकले सास्ती भोगिरहेको र यसले वैदेशिक रोजगारीमा असर पारेको उल्लेख गर्दै समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने माग गरे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम थापाले राहदानी (पासपोर्ट) छपाइमा भएको अनियमितताको विषयमा समितिले तत्काल छानबिन थाल्नु पर्ने बताए।
मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद थापाले राहदानी विभागको फाइल तत्काल समितिमा मगाएर अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले राहदानी छपाइको निर्णय प्रक्रियामा कसको के नियत थियो र यसले राज्यलाई कति क्षति पुर्यायो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए।
बैठकमा सांसद थापाले भने, "अहिले बजारमा चर्चामा रहेको पछिल्लो तात्तातो काण्ड भनेको राहदानी छपाइ हो । त्यो फाइल हामीले हेर्न मिल्ने हो कि होइन? यदि मिल्छ भने तत्काल मगाऔँ । कसको नियत के थियो, निर्णयहरू नीतिगत रूपमा गरिएका थिए कि नियतवश गरिएका थिए, त्यसले राज्यलाई कति हानि–नोक्सानी भयो भन्ने कुराको गहिरो अध्ययन जरुरी छ ।"
सांसद थापाले राहदानीको अभावले गर्दा वैदेशिक रोजगारीमा जाने र अन्य प्रयोजनका लागि बाहिर जानुपर्ने नागरिकहरूले ठुलो सास्ती भोगिरहेको उल्लेख गरे ।
"रेमिट्यान्सले चलेको देशमा नागरिकले पासपोर्ट नपाउने अवस्था सिर्जना हुनु दु:खद हो," उनले भने, "यसले एकातिर सेवाग्राहीलाई समस्या भएको छ भने अर्कोतिर यो प्रक्रियामा संलग्नहरूको संलग्नतामाथि पनि प्रश्न उठेको छ ।"
लेखा समिति परम्परा धान्ने निकाय मात्र बन्न नहुने भन्दै थापाले प्रणालीभित्रै पसेर काम गर्नुपर्ने सुझाव दिए । उनले भने, "हामी समितिको संख्या पुर्याउन वा बैठक बस्न मात्र यहाँ आएका होइनौँ, हामी प्रणाली (सिस्टम) भित्रै छिर्नुपर्छ । बाहिर–बाहिर मात्रै छलफल गरेर हुँदैन, बीचमा हात हाल्नुपर्छ र यो आँट समितिले गर्नुपर्छ ।"
सांसद थापाले भ्रष्टाचारका पुराना फाइलहरू र हाल चर्चामा रहेका विषयहरूमाथि समितिले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने माग समेत गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण