साउने मेलाका लागि सजिँदै ‘मधेसको कैलाश’ टुटेश्वरनाथ महादेव मन्दिर
महोत्तरी । भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको सरसफाइ र सजाउने कार्य सुरु भएको छ। ‘मधेसको कैलाश’ भनिने मन्दिर वरपरका चुरेथुम्कामा रहेका रुखसमेत विभिन्न रङरोगन गरी कलात्मक रूपमा सजाइँदैछ।
साउने मेलामा पुग्ने श्रद्धालुलाई विशेष अनुभूति गराउन साजसज्जा, रङरोगन र सरसफाइका कामलाई यस वर्ष विशेष रूपमा अघि बढाइएको मन्दिर संरक्षण समितिले जनाएको छ। सौरमास र चन्द्रमास गणनाअनुरुप साउनभरि यहाँ धार्मिक मेला लाग्ने परम्परा छ। तर यसपालि भने साउन १ गतेदेखि सुरु हुने मेला साउन पूर्णिमा अर्थात् भदौ १२ गतेसम्म सञ्चालन हुनेछ।
यहाँ वर्षभरि नै टाढाटाढाबाट श्रद्धालु आइरहने तर प्रत्येक साउनमा विशेष मेला हुने मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवले बताए। साउनको पनि सोमबार विशेष मानिने हुनाले मेलालाई विशेष तुल्याउन यस वर्ष पनि पहिलेदेखि नै साजसजा, रङरोगन र सरसफाइका काम बढाइएको उनको भनाइ छ।
भगवान् शिवको बासस्थान कैलाश मानिने र टुटेश्वरनाथ मन्दिर चुरेस्थित पहाडी थुम्कामा अवस्थित हुँदा यसलाई शिवको बासस्थानसँग जोडेर हेर्ने गरिएको छ। टुटेश्वरका बासिन्दा तथा पूर्वीय दर्शन परम्पराका जानकार यतिराज काफ्लेका अनुसार यो ठाउँ त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले तपस्या गरेका सन्दर्भसँग जोडिएको छ।
प्राचीन शिवलिङ्ग रहेको मान्यताले मन्दिर अवस्थित पहाडी थुम्कोलाई शिवको बासस्थानसँग जोडेर मधेसको कैलाश भनिएको काफ्लेले जानकारी दिए। भारतको देवघरस्थित वैद्यनाथ धामलाई पुकारिएझैँ टुटेश्वरनाथलाई पनि ‘नेपालको बाबाधाम’ भनिने गरेको उनको भनाइ छ। यो क्षेत्र पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किलोमिटर वन क्षेत्र छिचोलेर पुग्न सकिन्छ।
माण्डवीगङ्गा नदी किनार, चारैतिर सघन वन, पहाडी शृङ्खला र सदाबहार सुगन्धित फूलको बासनाले जोसुकैलाई विशेष अनुभूति दिने टुटेश्वरनाथ महादेवको उद्भवबारे नै स्नातकोत्तर तहको सोध गरेका पत्रकार राजकरण महतोले बताए। त्रेता र द्वापर युगसँग जोडिएको सन्दर्भबारे विस्तृत चर्चा हुन नसकेको भन्दै उनले यसबारे तीनै तहका सरकारबिचको समन्वयमा काम बढ्न जरुरी रहेको औंल्याए।
यसअघि २०५२ सालमै टुटेश्वरनाथ मन्दिरको संरक्षणमा स्थानीयले चासो दिएपछि मधेस प्रदेश सरकारले पनि पछिल्लो समय पूर्वाधार विकास र संरक्षणमा सहयोग पुर्याएको छ। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह र पर्यटनमन्त्री सकिल मिँयाले पनि त्यस क्षेत्रको अवलोकन गरेका थिए। पछिल्लो समय उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न प्रयास भइरहेको छ।
त्यस ठाउँको संरक्षण र प्रचारका लागि स्थानीयस्तरमा समुदायबाट भइरहेका प्रयत्न सकारात्मक भए पनि थप पहल आवश्यक रहेको स्थानीयको भनाइ छ। दर्शन गर्न त्यहाँ पुगेकी हेटौँडाको बासामाढीकी तुलसा काफ्ले न्यौपानेले यो आस्था र विश्वासको थलो भएको र राज्यको चासो तथा उपस्थितिले थप भरोसा जाग्न सक्ने बताइन्। त्यस मन्दिरमा महाशिवरात्रि र बालाचतुर्दशीमा पनि विशेष मेला लाग्दै आएको छ। मन्दिरमा बागमती र कोशी प्रदेश तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशसम्मका श्रद्धालु भक्तजन ठूलो सङ्ख्यामा आउने गरेका छन्।
मन्दिर अवस्थित थुम्को परिसर वरपर असङ्ख्य सर्प देखिए पनि सर्पदंशका घटना कहिल्यै नभएको मन्दिरका पुजारी सिरी रायले जानकारी दिए। महादेवको दर्शन र प्रार्थनाले मनोकाङ्क्षा पूरा हुने, सद्भाव बढ्ने र शान्तिको अनुभूति मिल्ने गौशाला–४ रजखोरका ७५ वर्षीय वासुदेव महतोले बताए। महतो माण्डवीगङ्गा, स्वर्णमति र वरुणवति नदीको त्रिवेणी सङ्गममा जल बोकेर २०४० सालदेखि १८ किलोमिटर घस्रेर पार गर्दै शिवलिङ्गमा जल चढाउँदै आएका छन्। उनले मन्दिर क्षेत्रको विकास र संरक्षणमा स्थानीयको चासोलाई राज्यले सम्बोधन गर्नुपर्ने सुझाव दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण