बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अनलाइन ठगीबाट कसरी जोगिने ?

बुधबार, २४ असार २०८३, ११ : २६
बुधबार, २४ असार २०८३

पछिल्लो समय अनलाइन ठगीका घटना निकै बढेको छ । विशेषतः अनलाइन ठगी बढ्नुमा इन्टरनेटको बढ्दो प्रयोग हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग, डिजीटल भुक्तानीको प्रचलन पनि बढ्दै गएको छ । यस्ता प्रविधिमा दक्ष नभएका मानिस सजिलै ठगीमा पर्ने सम्भावना हुन्छ ।

कतिपय अवस्थामा मानिसहरू भ्रममा परेर, विश्वास र लोभमा परेर अनलाइन ठगीको सिकार भएका घटना छन् । ठगीमा संलग्नहरूले पहिचान लुकाएर ठगी गर्ने गरेका छन् । स्थानीय रूपमा मात्र नभएर सीमा पारबाट समेत अनलाइन ठगीका घटना भएको अवस्था छ ।

इन्टरनेटको व्यापक प्रयोग र जसरी डिजिटल भुक्तानीहरू भइरहेका छन्, अपराध गर्ने मान्छेहरूले त्यसलाई ‘मौका’ ठान्छन् । अनलाइन मार्केटिङ र अनलाइन सपिङबाट लोभ–लालचका कुरा आइरहेका छन् । मान्छेहरू लोभ, लालच र आफूले सामाजिक सञ्जाल अथवा अनलाइन भुक्तानी गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएको कारण यस्ता ठगीको जालमा परेका हुन् । कम मेहनत गरेर छिटो नाफा कमाउन खोज्दा पनि मानिस ठगिन्छ ।

यसमा नियामक निकायहरूले सचेतना फैलाइरहनु पर्ने अवस्था देखिन्छ । अनुसन्धान गर्ने निकायले ठगी हुनै नदिनेतर्फ प्रयास नगरेको होइन । ठगी न्यूनीकरणका लागि काम भइरहेको छ । प्रहरीले अनलाइन ठगीबाट जोगिनका लागि सचेतनाका कुरा भन्दै आएको देखिन्छ, तर मानिसहरू त्यस्ता कुरालाई बेवास्ता गरेर अघि बढ्दा ठगीमा पर्ने गरेका छन् ।

विशेषगरी चिठ्ठा परेको भ्रम, सामान आएको भ्रम, डिजिटल भुक्तानी दिँदा अथवा ओटीपीहरू सेयर नगर्नुस् भनेर सचेतनाको कार्यक्रम गरिरहेको अवस्था छ, तर त्यति हुँदाहुँदै पनि ठगीका धेरै घटना भएको छ । प्रहरीले दु्रत अनुसन्धान गरेर अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइरहेको पनि छ ।

यस्ता ठगी नियन्त्रण गर्न नियमित रूपमा जनचेतनाका अभियान सञ्चालन गर्नुपर्छ । जस्तैः बैंक र डिजिटल भुक्तानी सेवा प्रदायक संस्था, दुरसञ्चार र सामाजिक सञ्जालहरूको बिचमा समन्वय बढाउनुपर्ने देखिन्छ । शङ्कास्पद नम्बर, वेबसाइट अनि शङ्कास्पद खाता पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।

ठगी भयो भनेर बसिराख्ने हैन कि साइबर निगरानी पनि गर्नुपर्छ । हामी त्यसलाई डिजिटल निगरानी र पट्रोल पनि भन्छौँ । अपराध नहोस् भनेर सुरक्षाकर्मीहरू भौतिक रूपमा गस्ती जान्छन्, त्यसैगरी साइबरको पनि निगरानी गर्नुपर्छ । कस्ता व्यक्ति घुमिरहेका छन्, कस्ता किसिमका फरम्याट आएका छन् र कस्तो विज्ञापन सत्य, को–कस्तो झुटो हो भनेर निगरानी बढाउनु जरुरी देखिन्छ ।

विद्यालय, कलेज र जनसमुदायस्तरमा साइबर के हो र साइबर ठगीबाट कसरी बच्ने भनेर सचेतनाको कार्यक्रम जोडदार गर्नुपर्छ । सचेतनालाई निरन्तरता दिनुपर्छ । जसरी विद्युतीय माध्यमबाट ठगीका घटना भइरहेका छन्, त्यसलाई सामना गर्न अहिलेको अनुसन्धान शैली र प्रहरीसँग भएको प्रविधि पर्याप्त छ ? छैन भने के–केमा सुधार गर्नुपर्ने देखिन्छ ? यसमा पनि ध्यान दिनुपर्छ ।

पहिला त साइबर सम्बन्धी अपराध प्रहरीको साइबर ब्युरोले मात्रै हेर्ने गरेको थियो । अहिले सबै जिल्ला प्रहरी कार्यालयलाई त्यस्तो मुद्दा अनुसन्धानको जिम्मेवारी दिइएको छ । साइबर अपराध अनुसन्धानको कार्यक्षेत्र विस्तार गरेको छ । अनुसन्धानको कार्यक्षेत्र विस्तार हुँदा पीडितहरू स्थानीय रूपमै प्रहरी युनिटहरूमा गएर उजुरी दिन पाउँदा अनुसन्धान छिटो र छरितो हुँदैछ, तर यतिले मात्रै पुग्दैन ।

प्रविधिको विस्तार जसरी भइरहेको छ, अनुसन्धान गर्ने स्रोत र साधन पनि त्यही अनुरुप बढाउनुपर्छ । अनुसन्धान गर्ने निकायको क्षमता अभिवृद्धि, जनशक्तिको क्षमता अभिवृद्धि पनि त्यही रूपमा विकसित र थप गर्नुपर्ने आवश्यकता छ । त्यस्तै बैंक, डिजिटल सेवा प्रदायक संस्था, टेलिफोन सेवा प्रदायक कम्पनीहरू र सामाजिक सञ्जाल र प्रहरीको एकीकृत नेटवर्क बनाउनुपर्छ ।

देशभित्र मात्र नभएर विदेशसँग पनि सञ्जाल, समन्वय र सूचना आदानप्रदान गर्नु जरुरी छ । घटनापछि अनलाइन ठगीको रकम रोक्ने तरिका हुन्छ । त्यो ट्रयाकिङ गर्ने सिस्टम सुधार गरेर तत्काल सम्बन्धित बैंक तथा वालेटबाट सो रकम रोकिहाल्नुपर्छ । सेवा प्रदायकलाई सूचना दिने र तत्काल ट्रयाक गर्ने सिस्टम एकीकृत रूपमै बनाउनुपर्छ ।

  • ठगीका नयाँ–नयाँ शैली

पछिल्लो अनलाइन ठगीको ट्रेन्ड हेर्दा अपराधीहरूले नयाँ–नयाँ शैली प्रयोग गर्ने गरेका छन् । तपाईंलाई चिट्ठा परेको छ, त्यो पाउन केही भुक्तानी गर्नुस् भन्ने ठगीको शैली देखिन्छ । त्यस्तै, तपाईंको साथीले विदेशबाट पठाएको सामान भन्सारमा रोकिएको छ, फुकुवा गर्न रकम पठाउनु भन्ने तथा विदेशमा राम्रो रोजगारी छ भनेर लोभ देखाएर हुने ठगीका शैली नयाँ देखिन्छ ।

प्रेम सम्बन्ध राखेर अनेक हर्कत र ब्ल्याकमेलिङका घटना पनि देखिन्छन् । बैंकको स्टाफ बोलेको भन्दै केवाईसी भर्ने नाममा ओटीपी सेयर गर्न लगाउने, स्क्रिन सेयर गर्न लगाउने र सामाजिक सञ्जाल ह्याक गरेर रकम माग्ने घटना अहिले बढी देखिन्छ ।

अहिले अत्यधिक देखिएको शैली सस्तोमा मोबाइल र अन्य ग्याजेट पाइन्छ भनेर ठग्ने हो । मुख्य त हामीले कस्तो सामान, कुन विक्रेताबाट खरिद गर्दैछौँ भनेर यकिन गर्नुपर्छ । भुक्तानी पहिल्यै गर्ने होइन, सामान आफूले प्राप्त गरेपछि भुक्तानी दिने गर्नुपर्छ । हामीले सामानको बजार मूल्य पनि यकिन गर्नुपर्छ । १ लाख पर्ने सामान ६५ हजारमा किन बेच्न खोजिरहेको छ विक्रेताले भनेर पनि विचार गर्नुपर्छ । यसमा सचेत हुन आवश्यक छ ।

मानिसहरूमा अलिकति अल्छीपना र विस्तृतमा नबुझ्ने प्रवृत्ति छ । राम्रोसँग नबुझिकन अनलाइन सपिङ गरेर सामान मगाउने फेसनजस्तो भएको छ । सस्तोमा पाइन्छ भनेर लोभमा परेर वास्तविकता नबुझिकन सामान मगाउने प्रवृत्ति बढेको छ । त्यसकारण हामीले सामान विक्रेता को हो, भुक्तानीको माध्यम के हो र मार्केटिङ कसले गरिरहेको छ भनेर बुझ्न जरुरी छ । बुझेरमात्रै राम्रोसँग कारोबार गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

दैनिक रूपमा ठगी बढ्नुमा विभिन्न फ्याक्टरको भूमिका हुन्छ । मुख्य त हामीमा अहिले डिजिटल कारोबारहरू बढी भएको छ । डिजिटल कारोबार गर्दा विवरण, भुक्तानी माध्यम, सामान बिक्री गर्ने संस्थाको बारेमा नुबझिकन कारोबार गर्दा ठगीका घटना बढेको छ । सामाजिक सञ्जालको व्यापक प्रयोग र प्रविधिको एकदमै बढोत्तरी भएको अवस्थालाई मौकाका रूपमा लिएर अपराधीहरूले ठगी गर्ने गरेका छन्  । प्रविधिमा परिवर्तन भएसँगै अपराध गर्ने शैली धामधम परिवर्तन गरिरहेको अवस्था छ ।

ठगीका घटना रोक्न सचेतनाको सबैभन्दा ठुलो भूमिका हुन्छ । सचेतना बढाउन बैंकहरूले पनि भूमिका खेल्नुपर्छ । ठगीबाट जोगिनको लागि बैंकहरूले पासवर्ड बलियो राख्नुस्, ओटीपी सेयर नगर्नुस्, स्क्रिन सेयर नगर्नुस् भनेर अवेयरनेसका कार्यक्रमहरू गरेको देखिन्छ । प्रहरीले पनि गरिरहेको छ । अझ बढीभन्दा बढी अनुसन्धान गर्ने निकाय, बैंक, दुरसञ्चार र डिजिटल भुक्तानीका माध्यमले यसमा भरपर्दो समन्वय गर्न जरुरी हुन्छ । सेवा प्रदायकले एकपटक मात्र सूचना दिएर पुग्दैन, हाम्रोमा बिर्सिने संस्कार भएको हुनाले निरन्तर रुपमा सचेतनाको अभियान चलाउनु पर्छ । त्यस्ता खाले ठगीबाट जोगिन बलियो पासवर्ड कसरी राख्ने भन्नेबारे सचेतना बैंकिङ क्षेत्रबाटै हुनुपर्ने देखिन्छ ।

(प्रहरीबाट अवकाश प्राप्त एसएसपी श्रेष्ठसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीमा आधारित)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवन कुमार श्रेष्ठ
जीवन कुमार श्रेष्ठ
लेखकबाट थप