बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

इन्डोनेसियाको फोहोरको पहाडमा आठ दिनदेखि आगलागी, विषाक्त धुवाँका कारण सयौँ विस्थापित

बुधबार, २४ असार २०८३, १२ : ०१
बुधबार, २४ असार २०८३

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिक रहेको जातिवारिङ्गिन ल्यान्डफिलमा आठ दिनदेखि भीषण आगलागी जारी रहेको छ । गत जुन ३० मा सुरु भएको आगलागी अहिले १५ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । बाक्लो विषाक्त धुवाँले आसपासका बस्ती ढाकिएपछि सयौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् । फोहोरको थुप्रोमुनि जमेको मिथेन ग्यासका कारण आगो लागेको अनुमान गरिएको छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । आगो नियन्त्रणका लागि अग्निनियन्त्रकहरूले हेलिकप्टर, पानी ट्याङ्कर, बुलडोजर तथा ड्रोन परिचालन गरेका छन् । अधिकारीहरूले यसै साताको अन्त्यसम्म आगो नियन्त्रणमा आउने आशा व्यक्त गरेका छन् । तर वातावरणविद्हरूले यो घटना इन्डोनेसियामा बढ्दो फोहोर व्यवस्थापन संकटको एउटा उदाहरण मात्र भएको बताएका छन् । उनीहरूले यसलाई प्रणालीगत लापरबाहीबाट सिर्जिएको पर्यावरणीय विपत्तिको संज्ञा दिएका छन् ।

आगो सुरुमा एउटा सानो झिल्काबाट लागेको र त्यसपछि तीव्र हावाका कारण विभिन्न स्थानमा फैलिएको बताइएको छ । फोहोरका अग्ला थुप्रा र पुग्न कठिन स्थानहरूमा आगो फैलिएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ । आगो लागेपछि एक सातादेखि बाक्लो कालो धुवाँले वरपरका आवासीय क्षेत्र ढाकेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयका अनुसार ल्यान्डफिल वरपरको हावाको गुणस्तर केही दिनअघि अत्यन्त खतरनाक स्तरमा पुगेको थियो, यद्यपि पछिल्ला दिनमा अवस्था केही सुधारिएको छ ।

स्थानीय स्वास्थ्य निकायका अनुसार हालसम्म कम्तीमा २३४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। । तीमध्ये ७२ जनामा एक्युट रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सन पुष्टि भएको छ । अधिकारीहरूका अनुसार ल्यान्डफिलको पश्चिमी र दक्षिणी भागमा फोहोरका थुप्रामा अझै पनि आगो र धुवाँ बलिरहेको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा नआउँदासम्म त्यहाँका बासिन्दाको स्वास्थ्य र वातावरणमा जोखिम कायम रहने चिन्ता व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप