बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोरेर डान्स बारमा मस्ती

चोर्ने र किन्नेसहित ५ जना पक्राउ
बुधबार, २४ असार २०८३, १६ : २६
बुधबार, २४ असार २०८३

सारांश

  • प्रहरीले काठमाडौँको कालिमाटी र कलङ्की क्षेत्रका डान्स बार बाहिर पार्किङ गरिएका मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूले चोरीको मोटरसाइकल बेचेर आएको रकम डान्स बारमा खर्च गर्ने र रातको समयमा मास्टर कि प्रयोग गरी मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
  • अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूले चोरी गरेका ४ वटा मोटरसाइकल बरामद गरेको छ ।

काठमाडौँ । काठमाडौँको कालिमाटी र कलङ्की क्षेत्रका डान्स बार बाहिर पार्किङ गरेको मोटरसाइकल लगातार चोरी भएको सूचनापछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुरको महांकाल घर भएका २९ वर्षीय राजकुमार परियार, ३३ वर्षका इन्द्रबहादुर वाइबा, रौतहटको चन्द्रनिगाहापुर घर भएका २९ वर्षीय पञ्चलाल ब्लोन, ललितपुरको बागमती गाउँपालिका–५ घर भएका २४ वर्षीय सविन भुलन र काभ्रेको बेथानचोक घर भएका २४ वर्षीय अनिल योञ्जन छन् ।

ललितपुरको माहांकाल बस्दै आएका अनिल योञ्जन चोरीको मोटरसाइकल किनेको कसुरमा पक्राउ परेका हुन् । योञ्जनले चोरीमा संलग्न आरोपी इन्द्रबहादुरसँग टु टुवान्टी पल्सर सस्तो मूल्यमा खरिद गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

असार १९ र २१ मा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी परिसर काठमाडौँ र प्रहरी वृत्त कालिमाटीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

पञ्चलाल ब्लोन र इन्द्रबहादुर वाइबा कलङ्की क्षेत्रमा गइरहन्थे । मोटरसाइकल चोरीलाई पेसा बनाएका उनीहरू रातको समयमा कलङ्की क्षेत्रका डान्स बारमा जान्थे । चोरीको मोटरसाइकल बेचेर आएको रकम डान्स बारमा खर्च गरेर बाहिर निस्केपछि उनीहरूले मोटरसाइकल चोरेर भाग्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘डान्स बारबाट निस्केपछि मास्टर कि प्रयोग गरेर मोटरसाइकल चोरेर हिँड्ने गरेको देखिन्छ ।’  

चोरेको बाइक बेचेर उनीहरू फेरि डान्स बार धाउने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । ललितपुरको महांकालका राजकुमार परियार चाहिँ कालिमाटी क्षेत्रका चेरीका आरोपी हुन् । डान्स बारमा गएर निस्केपछि उनी कालिमाटीस्थित गल्लीबाट मोटरसाइकल चोरेर भाग्थे ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्– ‘आरोपीहरूले चोरीमा मास्टर कि प्रयोग गरेको देखिन्छ ।’

डान्स बारमा जानुअघि र निस्केपछि उनीहरू मोटरसाइकलको रेकी गर्थे । अनि, मास्टर कि  प्रयोग गरेर उनीहरू मोटरसाइकल स्टार्ट गरेर भाग्ने गरेका थिए । आरोपीहरूले बालाजु क्षेत्र, कपुरधारा र ताहाचलबाट पनि मोटरसाइकल चोरेको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरूले चोरेको ४ वटा मोटरसाइकल अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको छ । काठमाडौँ डुक र पल्सर मोटरसाइकल बरामद गरिएको एसएसपी खड्काले बताए । आरोपीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप