झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
सारांश
- पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप्प-झ्याप्प बत्ती जाने समस्याप्रति चिन्ता व्यक्त गर्दै प्राधिकरणलाई नेतृत्वविहीन राखेर समस्या समाधान नहुने बताएका छन्।
- उनले सरकारले सक्षम नेतृत्व दिनुको सट्टा समिति गठन गरेर पन्छिन खोजेको आरोप लगाउँदै निर्णय गर्ने नेतृत्वको आवश्यकतामा जोड दिएका छन्।
- घिसिङले ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखी प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व प्रदान गर्न तथा निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न माग गरेका छन्।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले झ्याप्प–झ्याप्प बत्ती जाने समस्या प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले प्राधिकरणलाई लामो समयसम्म नेतृत्वविहीन राखेर समस्याको समाधान नहुने भन्दै सरकारको आलोचना गरेका छन्।
एक प्रेस वक्तव्य जारी गर्दै घिसिङले वर्षायाममा प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् अवरुद्ध हुनु स्वाभाविक भए पनि त्यसलाई तत्काल सम्बोधन गर्न सक्षम र निर्णय लिन सक्ने नेतृत्व अनिवार्य हुने उल्लेख गरेका छन्। 'देशको सबैभन्दा महत्त्वपूर्ण सार्वजनिक संस्था नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि कायम मुकायम (कामु) को भरमा सञ्चालन भइरहनु दुर्भाग्यपूर्ण छ,' उनले भनेका छन्।
घिसिङले सरकारले संस्थालाई सक्षम नेतृत्व दिनुको साटो समस्या देखिँदा समिति गठन गरेर पन्छिन खोजेको आरोप लगाएका छन्। उनले कडा शब्दमा भनेका छन्, 'समिति बनाएर विद्युत् प्रणाली चल्दैन, निर्णय गर्ने नेतृत्व चाहिन्छ। प्रशासनिक अन्योल र राजनीतिक हस्तक्षेपको मूल्य अन्ततः जनताले तिर्नुपरेको छ।'
ऊर्जा क्षेत्रलाई राजनीतिक प्रयोगशाला बनाउन नहुने तर्क गर्दै घिसिङले नेतृत्वको अभावले कर्मचारीको मनोबल प्रभावित भएको र दीर्घकालीन योजनाहरूमा असर परेको बताएका छन्। उनले सरकारलाई ऊर्जा सुरक्षालाई प्राथमिकतामा राख्दै प्राधिकरणलाई तत्काल पूर्णकालीन, सक्षम र स्वायत्त नेतृत्व प्रदान गर्न माग गरेका छन्।
'नेतृत्वको अभावलाई प्राविधिक समस्याको आवरणले ढाक्न खोज्नु समाधान होइन,' घिसिङले भनेका छन्, 'अहिलेको समस्या समाधान नगरिए यसले भविष्यमा गम्भीर संस्थागत संकट निम्त्याउने निश्चित छ।'
उनले समस्या समाधानका लागि केवल नेतृत्व मात्र नभई निर्माणाधीन प्रसारण तथा वितरण प्रणालीलाई छिटो सम्पन्न गर्न, प्रणालीको आधुनिकीकरण गर्न र नियमित मर्मत–सम्भारमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। प्राधिकरणमा शीघ्र अधिकारसम्पन्न नेतृत्व दिएर संस्थागत स्थायित्व सुनिश्चित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको उनको ठम्याइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा गहिरिँदो सङ्कट, नेताहरूमा किन बढ्दैछ असन्तुष्टि ?
-
कालिकोटमा कालाजारको बिरामी देखियो
-
इजरायललाई रहम इमानुएलको चेतावनी- अब नि:शर्त अमेरिकी सहायता हुँदैन
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण