बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम

बिहीबार, २५ असार २०८३, ०९ : २९
बिहीबार, २५ असार २०८३

सारांश

  • बाढी पूर्वानुमान महाशाखाले आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य रहेको जनाएको छ।
  • ठुला नदीहरूमा तत्काल ठूलो खतरा नदेखिए पनि देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।
  • आगामी दुई दिनसम्म साना नदीहरूमा बाढीको जोखिम कायम रहने र नदी तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सामान्य रहेको छ।

यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले जनाएको छ।

ठुला नदीहरूमा तत्काल ठूलो खतरा नदेखिए पनि देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम उच्च रहेको छ। आज पाल्पा, दाङ, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको भनाइ छ।

यसका साथै ईलाम, पाँचथर, गोरखा, अर्घाखाँची, काठमाण्डौ, चितवन, डोटी, डडेल्धुरा, नवलपरासी (पश्चिम), बर्दिया र आसपासका जिल्ला भएर बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना देखिएको छ।

आगामी दुई दिनको पूर्वानुमान हेर्दा साना नदीहरूमा बाढीको जोखिम कायम रहने देखिन्छ। भोलि असार २६ गते कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

त्यसैगरी पर्सि असार २७ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेश भएर बहने साना नदीहरूमा पनि बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाले नदी तटीय क्षेत्रमा बस्ने सबैलाई सतर्कता अपनाउन र मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाव दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप