कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
सारांश
- लामखुट्टेले मानिसलाई टोक्नुको मुख्य कारण शरीरबाट निस्कने कार्बन डाइअक्साइड, शरीरको ताप र छालाको गन्ध हो।
- कार्बन डाइअक्साइडको मात्रा, शरीरको ताप र छालाको गन्धमा हुने भिन्नताले गर्दा केही व्यक्ति लामखुट्टेका लागि अरूको तुलनामा बढी आकर्षक हुन्छन्।
- लामखुट्टेले टोक्दा व्यक्तिको शरीरको प्रतिक्रिया पनि फरक-फरक हुन्छ, जुन आनुवंशिक रूपमा प्रभावित हुन सक्छ।
म लामखुट्टेलाई चुम्बकले जस्तै आफूतिर तान्छु। गर्मीको बिदामा म विश्वको जुनसुकै कुनामा गए पनि एउटा कुरा लगभग पक्का हुन्छ, लामखुट्टेले मलाई पक्कै टोक्छन्।
लामखुट्टेले टोकेपछि मेरो छालामा चिलाउने ठुला-ठुला डाम बस्छन्। ती डाम हप्तौँसम्म रहिरहन्छन्।
अर्कोतर्फ, मसँगै बस्ने अन्य दुई जनालाई लामखुट्टेको खासै असर पर्दैन। उनीहरूलाई सायदै लामखुट्टेले टोक्छ। टोकिहाले पनि सानो रातो डाम मात्र बस्छ र त्यो चाँडै हराउँछ।
मेरा साथीहरू अक्सर जिस्किँदै भन्छन्, मेरो रगत ‘धेरै गुलियो’ छ, त्यसैले लामखुट्टेले मलाई धेरै टोक्छन्। रोचक कुरा त के छ भने यो कुरामा केही सत्यता हुन सक्छ।
वास्तवमा, हाम्रो शरीरबाट धेरै प्रकारका जैविक सङ्केतहरू निस्कन्छन्। जस्तै, हाम्रो सास र शरीरको गन्ध। यिनै सङ्केतले लामखुट्टे कुन व्यक्तिप्रति बढी आकर्षित हुन्छन् भन्ने तय गर्छन्। कतिपय मानिसमा यी सङ्केत यति बलिया हुन्छन्, लामखुट्टे उनीहरूतर्फ आफैँ तानिन्छन्।
आउनुहोस्, रगत चुस्ने यो लामखुट्टेले हामीलाई कसरी फेला पार्छन् भन्ने तीन प्रमुख कारण बुझौँ।
- शिकार वरपर छ भन्ने यसरी थाहा पाउँछन्
पोथी लामखुट्टेले मात्र मानिसलाई टोक्छन्। यिनीहरू हाम्रो रगतप्रति आकर्षित हुनुको कारण के हो भने यसबाट उनीहरूले प्रोटिन पाउँछन्। उक्त प्रोटिन अण्डाको विकास गर्न सहयोगी हुन्छ।
लामखुट्टेले लगभग १० मिटर (३३ फिट) को दुरीबाटै आफ्नो शिकार चिन्न सक्छन्। उनीहरू आफ्नो हेर्ने र सुँघ्ने क्षमताको मद्दतले यसो गर्छन्।
लक्ष्य पहिचान गर्न वातावरणमा रहेको कार्बन डाइअक्साइडका कणले पनि भूमिका खेल्छन्। यी कण हामी आफ्नो सास र छालाको माध्यमबाट बाहिर फाल्छौँ।
मानिसको सासमा हुने कार्बन डाइअक्साइडले लामखुट्टेलाई वरपर कुनै सम्भावित शिकार छ भन्ने सङ्केत दिन्छ। यो सङ्केत पाउनेबित्तिकै लामखुट्टेको शिकार खोज्ने प्रक्रिया सक्रिय हुन्छ र उनीहरू त्यस व्यक्ति तर्फ अघि बढ्न थाल्छन्।
बालबालिकाको तुलनामा वयस्कलाई लामखुट्टेले बढी टोक्छन्। किनभने उनीहरूले हावामा बढी कार्बन डाइअक्साइड फाल्छन्।
यही कारण हो, लामखुट्टे मानिसप्रति मात्र आकर्षित हुँदैनन्, कार्बन डाइअक्साइडका अन्य स्रोततर्फ पनि तानिन्छन्।
यसैकारण लामखुट्टेलाई फसाउने जालमा ‘ड्राई आइस’ र बोतलमा भरिएको कार्बन डाइअक्साइडको पनि प्रयोग गरिन्छ।
- शरीरको तापबाट पनि लामखुट्टे आकर्षित हुन्छन्
अनुसन्धानले के देखाउँछ भने लामखुट्टे कुनै शरीरको ताप र ओसिलोपनतर्फ पनि तानिन्छन्। कार्बन डाइअक्साइडको कारण पैदा हुने गर्मी र ओसिलोपनले यो आकर्षणलाई अझ बढाइदिन्छ।
यही कारणले गर्दा अन्य महिलाको तुलनामा गर्भवती महिलालाई लगभग दोब्बर बढी लामखुट्टेले टोक्न सक्छन्।

यसो हुनुको कारण के हो भने गर्भावस्थाको समयमा शरीरको ‘मेटाबोलिजम’ र सास फेर्ने गति बढ्छ। यसले गर्दा शरीरले धेरै ताप पैदा गर्छ र धेरै कार्बन डाइअक्साइड बाहिर फाल्छ।
बेलायतको डरहम युनिभर्सिटीका जनस्वास्थ्य कीट-विज्ञानका प्राध्यापक स्टिभ लिन्ड्से भन्छन्, ‘तपाईंको शरीरभित्र एउटा सानो भट्टीले जस्तै काम गरिरहेको हुन्छ, त्यसैले यो धेरै तातो हुन्छ।’
व्यायाम वा कसरत गर्ने मानिसले पनि लामखुट्टेलाई धेरै आकर्षित गर्छन्। विशेषगरी कसरत गर्ने समयमा वा त्यसलगत्तै।
यसको कारण के हो भने व्यायामको समयमा शरीरको ‘मेटाबोलिजम’ तीब्र हुन्छ। जसले गर्दा बढी कार्बन डाइअक्साइड निस्कन्छ। साथै शरीर धेरै तातो हुन्छ र पसिना पनि बढी आउँछ।
यसैगरी, धेरै तौल भएका मानिसले पनि लामखुट्टेलाई बढी आकर्षित गर्न सक्छन्। किनभने उनीहरूको शरीरले सामान्यतया बढी ताप पैदा गर्छ र उनीहरू धेरै कार्बन डाइअक्साइड फाल्छन्।
- छालाको गन्धले तय गर्छ लामखुट्टेले कसलाई टोक्छन्
जब लामखुट्टे आफ्नो लक्ष्यको १० मिटर (३३ फिट) भन्दा कम दुरीमा पुग्छन्, तब उनीहरू छाला र सासबाट आउने गन्धसहित धेरै सङ्केतहरूको मद्दतले आफ्नो शिकारको पहिचान गर्छन्।
प्राध्यापक स्टिभ लिन्ड्से भन्छन्, ‘यो सबै गन्धको खेल हो। लामखुट्टेले कसलाई टोक्छन् भन्ने कुरा धेरै हदसम्म त्यो व्यक्तिको शरीरको गन्धमा निर्भर गर्छ। शरीरबाट निस्कने रासायनिक पदार्थहरूको गन्धमा हुने भिन्नताले नै यो तय गर्छ। लामखुट्टे एउटा रासायनिक दुनियाँमा बस्छन्।’
लिन्ड्से र उनका साथी वैज्ञानिकहरूले त्यो धारणालाई पनि गलत साबित गरेका छन्, जसमा भनिन्छ, ‘जसको रगत गुलियो हुन्छ, उसलाई लामखुट्टेले धेरै टोक्छन्।’

उनीहरूको अनुसन्धान अनुसार, लामखुट्टे वास्तवमा हरेक व्यक्तिको छालाबाट निस्कने खास र फरक गन्धतर्फ आकर्षित हुन्छन्।
हाम्रो छालामा रहने सूक्ष्म जीव (माइक्रोअर्गानिजम) ले कार्बोहाइड्रेट, फ्याटी एसिड र पेप्टाइड जस्ता पदार्थलाई टुक्र्याएर वाष्पशील जैविक यौगिक (भोलाटाइल अर्गानिक कम्पाउन्ड्स) बनाउँछन्।
यी यौगिक सजिलै हावामा फैलिन्छन् र लामखुट्टेले यिनलाई चिन्न सक्छन्। हाम्रो छालाबाट ५०० भन्दा बढी प्रकारका वाष्पशील जैविक यौगिक निस्कन्छन्।
लामखुट्टे पहिल्यैदेखि छालामा हुने अमोनिया र ल्याक्टिक एसिडतर्फ आकर्षित हुन्छन्। यदि छालामा कार्बोक्सिलिक एसिड पनि छ भने उनीहरूको आकर्षण अझ बढ्छ।
- रकफेलर युनिभर्सिटीको अनुसन्धानमा के पत्ता लाग्यो ?
अमेरिकाको रकफेलर युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ६४ जना मानिसको छालाको गन्धको अध्ययन गरे। यसका लागि सहभागीहरूलाई छ घण्टासम्म नाइलनका कपडा लगाउन दिइयो। जसले गर्दा ती कपडामा छालाको गन्ध जम्मा हुन सकोस्।
त्यसपछि लामखुट्टेलाई यी नमुनामध्ये आफ्नो रोजाइ छान्ने मौका दिइयो। नतिजाबाट के पत्ता लाग्यो भने लामखुट्टे ती मानिसको गन्धलाई बढी मन पराउँछन्, जसको छालामा कार्बोक्सिलिक एसिडको मात्रा धेरै हुन्छ।
अनुसन्धानकर्ताहरूले प्रत्येक व्यक्तिका लागि ‘लामखुट्टे आकर्षण स्कोर’ तयार गरे। जसको स्कोर सबैभन्दा बढी थियो, उनीहरू सबैभन्दा कम स्कोर भएको व्यक्तिको तुलनामा लामखुट्टेका लागि १०० गुणा बढी आकर्षक पाइए।
रोचक कुरा त के रह्यो भने मानिसको जीवनशैलीमा परिवर्तन आए तापनि यो अन्तर धेरै वर्षसम्म कायमै रह्यो। प्राध्यापक स्टिभ लिन्ड्से भन्छन्, ‘लामखुट्टेका लागि तपाईंको आकर्षण धेरै हदसम्म पहिल्यै तय भएको हुन्छ।’

- छालामा रहेका ब्याक्टेरियाले पनि आकर्षण बढाउन सक्छन्
छालामा रहने सूक्ष्म जीवको प्रकारले पनि लामखुट्टे कुनै व्यक्तिप्रति कति आकर्षित हुन्छन् भन्ने कुरा तय गर्छ।
नेदरल्यान्ड्सको वागेनिन्जेन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले के पत्ता लगाए भने जुन मानिसहरूतर्फ मलेरिया फैलाउने लामखुट्टे बढी आकर्षित हुन्थे, उनीहरूको छालामा रहेको ब्याक्टेरियाको संरचना अरूको भन्दा फरक थियो। उनीहरूको छालामा ब्याक्टेरियाको सङ्ख्या धेरै थियो, तर ती प्रजातिको विविधता भने कम थियो।
यसको एउटा कारण के हुन सक्छ भने छालामा हुने ब्याक्टेरियाले शरीरको खास गन्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। वास्तवमा, यदि छालामा ब्याक्टेरिया नहुने हो भने मानिसको पसिनामा लगभग कुनै गन्ध नै हुँदैन।
जुम्ल्याहा मानिसहरूमा गरिएको अध्ययनमा पनि के पाइयो भने उस्तै देखिने जुम्ल्याहाहरूमा लामखुट्टे लगभग एउटै स्तरमा आकर्षित हुन्छन्। जबकि, फरक देखिने जुम्ल्याहा मानिसको शरीरप्रति लामखुट्टे आकर्षित हुने कुरामा अन्तर देखियो।
यसले के सङ्केत गर्छ भने शरीरको त्यो गन्ध, जसले लामखुट्टे कुनै व्यक्तिप्रति कति आकर्षित हुन्छन् भन्ने तय गर्छ, त्यो जेनेटिक रूपमा पनि प्रभावित हुन सक्छ। अर्थात्, यसको सम्बन्ध हाम्रो जिनसँग पनि हुन सक्छ।
- हरेक व्यक्तिमा लामखुट्टेको टोकाइको असर फरक हुन्छ
लामखुट्टेले टोक्दा हरेक व्यक्तिको शरीरको प्रतिक्रिया फरक-फरक हुन सक्छ।
एउटा बृहत् आनुवंशिक अध्ययनमा के पाइयो भने हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित जिनहरू लामखुट्टेले टोक्दा हाम्रो शरीरले कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरासँग गहिरोसँग जोडिएका हुन्छन्।
रोचक कुरा के छ भने यिनै जिनहरूले शरीरमा हुने एलर्जीसँग जोडिएका जिनहरूसँग पनि सम्बन्ध राख्छन्।

यसबाहेक, कतिपय मानिसमा लामखुट्टेले टोकेपछि छाला धेरै सुन्निने र ठुला डाम बस्ने सम्भावना हुन्छ। यसले गर्दा उनीहरूलाई लामखुट्टेले आफूलाई चुम्बकले जस्तै तान्छन् भन्ने लाग्न सक्छ।
वैज्ञानिक फर्ग्युसन भन्छन्, ‘कतिपय मानिसलाई आफूलाई लामखुट्टेले धेरै टोके जस्तो लाग्छ। जबकि वास्तवमा उनीहरूको शरीरले लामखुट्टेको टोकाइमा बढी प्रतिक्रिया दिइरहेको हुन्छ। अर्कोतर्फ, कतिपय मानिसलाई लामखुट्टेले अक्सर टोकिरहेका हुन्छन्, तर उनीहरूको शरीरमा त्यसको असर एकदमै कम देखिन्छ।’
हुन त कतिपय मानिस जैविक रूपमा अरूको तुलनामा लामखुट्टेका लागि बढी आकर्षक हुन सक्छन्। तर, कुनै पनि व्यक्ति लामखुट्टेबाट पूर्ण रूपमा सुरक्षित हुँदैन।
फर्ग्युसन भन्छन्, ‘यदि तपाईंलाई लामखुट्टेले टोक्दैनन् जस्तो लाग्छ भने पनि तपाईंले तिनीहरूबाट बच्न आवश्यक सावधानी भने पक्कै अपनाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण