एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
काठमाडाैँ । विश्वका प्रमुख सङ्गीत उद्योगसम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएका सङ्गीत सामग्रीको पहिचान गर्न नयाँ स्वेच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन् । यसको उद्देश्य एआईबाट उत्पादित सामग्रीबारे श्रोतालाई स्पष्ट जानकारी उपलब्ध गराउनु हो ।
फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफपीआई) र रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए) ले ग्रामी अवार्ड आयोजकसहित अन्य संस्थाहरूसँग मिलेर शुक्रबार उक्त प्रणाली सार्वजनिक गरेका हुन् ।
संस्थाहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा श्रोताहरूले सङ्गीत सिर्जनामा एआई कसरी र कति प्रयोग भएको छ भन्ने जानकारी चाहेको उल्लेख गर्दै नयाँ लेबलले पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नयाँ प्रणालीअन्तर्गत दुई प्रकारका लेबल प्रयोग गरिनेछन् । पहिलो ‘एआईद्वारा सिर्जना गरिएका’लेबल त्यस्ता सामग्रीमा प्रयोग हुनेछ, जहाँ गीत वा रेकर्डिङका अधिकांश वा सम्पूर्ण सिर्जनात्मक पक्ष कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको हुन्छ । यसमा एआईबाट पूर्ण रूपमा सिर्जित गीत, एआईद्वारा तयार गरिएका मुख्य स्वर वा प्रमुख वाद्य ट्र्याकसमेत समावेश हुनेछन् ।
दोस्रो ‘एआई–सहायता प्राप्त’लेबल भने मुख्य रूपमा मानव सिर्जनामा आधारित भए पनि केही सिर्जनात्मक अंशमा एआईको सहयोग लिइएको सङ्गीतमा प्रयोग गरिनेछ । यस प्रकारका सामग्रीमा मुख्य स्वर र प्रमुख वाद्य प्रस्तुतीकरण भने मानव कलाकारले नै गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
यो स्वेच्छिक लेबलिङ प्रणाली सङ्गीत स्ट्रिमिङ सेवासहित विश्वव्यापी रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । सङ्गीत स्ट्रिमिङ सेवा डिजरले एआईबाट सिर्जित सामग्रीलाई स्वचालित रूपमा चिह्न लगाउने व्यवस्था गरिसकेको छ ।
कम्पनीका अनुसार हाल नयाँ अपलोड हुने सामग्रीमध्ये करिब आधा एआईबाट सिर्जित छन् । जुन महिनामा डिजरले ९९ दशमलव आठ प्रतिशत शुद्धतासहित एआई सङ्गीत पहिचान गर्ने प्रणालीसमेत सार्वजनिक गरेको थियो ।
यसै वर्षको सुरुमा एप्पल म्युजिकका एक अधिकारीले नयाँ अपलोड हुने सामग्रीमध्ये एक तिहाइभन्दा बढी पूर्ण रूपमा एआईबाट सिर्जित हुने बताएका थिए । एप्पल म्युजिक, अमेजन म्युजिक र स्पोटिफाइजस्ता स्ट्रिमिङ सेवाहरूको प्रतिनिधित्व गर्ने ‘डिजिटल मिडिया एसोसिएसन’(डिमा)ले पनि नयाँ लेबलिङ प्रणालीको स्वागत गर्दै प्रयोगकर्तालाई थप पारदर्शी जानकारी उपलब्ध गराउन एआईसम्बन्धी मेटाडाटा अझ सुदृढ बनाइने जनाएको छ ।
स्पोटिफाइले गत अप्रिलमा कलाकारको आधिकारिक सामग्री पहिचान गर्न ‘स्पोटिफाइद्वारा प्रमाणित’ लेबल सुरु गरेको थियो भने एआईद्वारा हुने प्रतिरूपण (इम्पर्सोनेसन) रोक्न नयाँ उपायहरू पनि लागू गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण