शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति

शनिबार, २७ असार २०८३, १२ : १४
शनिबार, २७ असार २०८३

सारांश

  • पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर-कमला सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ ।
  • चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको यस सडकको हालसम्मको कुल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ ।
  • एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको हुनेगरी निर्माण भइरहेको छ ।

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ । आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ ले निर्माण गरिरहेको यस सडकको हालसम्मको कुल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ । वि.सं. २०७७ कात्तिक १३ गतेदेखि निर्माण सुरु गरिएको यस आयोजनाको काम लक्ष्यअनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ ।

सडक विभाग, आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

कुल ८६.७३ किलोमिटर लम्बाइ रहेको यस सडकलाई कञ्चनपुर–कमला सडक योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ । जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुशाहासम्मको ३९.४२ किलोमिटर सडक ७ अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।

त्यसैगरी, सप्तरीको कुशाहादेखि सिराहाको कमला पुलसम्म पर्ने ४७.२१ किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत ८ अर्ब ८० करोड ७० लाख १८ हजार रुपैयाँ रहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको हुनेगरी निर्माण भइरहेको छ ।–न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप