शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
व्यक्तित्व

नेपाली साहित्य नारीरत्न : गीताकेशरी

शनिबार, २७ असार २०८३, १६ : ००
शनिबार, २७ असार २०८३

सारांश

  • गीताकेशरी एक गम्भीर, अग्लो, गोरो अनुहार भएकी कोमल मनकी, कुबेर विचारकी र सुन्दर कर्मकी धनी स्रष्टा थिइन्।
  • उनको जन्म १९९७ असार २७ गते काठमाडौँको पकनाजोलमा भएको थियो र उनले उपन्यास लेखनमा विशेष योगदान पुर्याइन्।
  • गीताकेशरीले १२ उपन्यास र ३ कथासङ्ग्रह लेखिन्, जागिरे जीवनमा पनि सफलता पाइन् र नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानकी प्रथम महिला सदस्यसचिव बनिन्।

गम्भीर व्यक्तित्व, अग्लो शरीर र गोरो अनुहारकी धनी गीताकेशरी मनकी पनि कोमल थिइन्, विचारकी पनि कुबेर थिइन् र कर्मकी पनि सुन्दर थिइन्। उनी जसरी सादा जीवनले ढाकिएकी थिइन्, त्यसरी नै लेखनकलामा पनि सरल, सहज र सरस देखिन्थिन्।

उनी विवेकलाई मनमा राखेर लेख्ने स्रष्टा थिइन् र मनलाई विवेकभन्दा धेरै माथिको उचाइमा पुर्‍याउने सिर्जनाकार थिइन्। उनी आफ्नो साहित्यिक यात्रामा उपन्यासलाई नै आफ्नो थाप्लोमा बोकेर हिँडिन् किनभने उपन्यास भनेकै कल्पनाको खेती हो। उनी कल्पनाकी पनि जादु जस्ती थिइन्।

गीताकेशरी प्रायः कल्पनाको पिङ मच्चाउँदै सामाजिक धरातलमा लेख्ने कलाकी उदाहरण बनिन्। इतिहाससम्बद्ध विषयलाई पनि कोक्रोमा बोकेर उनी हिँडिरहन्थिन्। उनी लेख्दा उतार–चढावका कथा लेख्थिन्। उनी कहीँ नीच पात्रहरूको आविष्कार गर्थिन् र कहीँ आफ्ना चरित्रहरूलाई फूलबुट्टा जोडेर शिखर पुर्‍याउने गर्थिन्। उनी आफ्ना पात्रहरूको जसरी वर्णन गर्थिन्, त्यसरी नै घटनाको वर्णन गर्न पनि थाक्दिनथिन्। उनको लेखन घटनाविशेषले अलङ्कृत मानियो। उनको लेखनमा बौद्धिकताको रापलाई भावनाको ढकनीले ढपक्कै छोपेको देखियो।

गीताकेशरीको जन्म संवत् १९९७ असार २७ गते बुधबार काठमाडौँको पकनाजोलमा भएको थियो। रामराज पन्त र सीता पन्तका तीन भाइ छोराअगाडि उनी एक्ली छोरी थिइन्। कुनै बेला रामराज पन्त नेपाली शैक्षिक परिवेशमा परिचित नाम थियो। उनी श्रीपन्तका नामबाट भजनलेखनमा परिचित थिए र नेपालको सार्वजनिक प्रशासनमा पनि उनको नाम चर्चित थियो। पन्त रेडियो नेपालमा निर्देशक पनि भए।

गीताकेशरी सानैदेखि सरल भईकन पनि तीक्ष्ण बुद्धिकी थिइन्। उनको इमान्दारी पनि अनुकरणीय थियो। साथै शिष्टतामा पनि उनी नम्बरी सुन थिइन्। उनको व्यक्तित्व अनुकरणीय थियो। उनी बाल्यकालदेखि किशोरावस्थासम्म शिष्टतामा हाँकिएकी थिइन्। उनको त्यही शिष्टताले युवाकाल ढाक्यो, बैँसालु जीवन भरियो र अन्ततः प्रौढतामा पनि त्यही सिद्धान्तले स्थिरता पाइरहेकै थियो। त्यसैले नेपाली समाजसामु उनी शिष्ट व्यक्तित्वमा गनिइन्। नेपाली भाषासाहित्यमा व्यक्तित्वले कृतित्व चिनाउने गीताकेशरी अघिल्लो स्थानमा पुगिन्। वास्तवमा भन्ने हो भने उनी आफ्नो सिर्जनाका तुलनामा असल थिइन्।

नेपाली भाषासाहित्यमा उपन्यासलेखनमा मात्र समर्पित व्यक्तिको गणना गर्दा गीताकेशरी अग्रपङ्क्तिमा आउने नाम हो। आफ्नो सिर्जनाको सामर्थ्यलाई प्रायः उपन्यासमा मात्र सीमित गर्ने सायद गीताकेशरी मात्र एक जना स्रष्टा थिइन्। उपन्यासलेखनकला उनको व्यक्तित्वको सिङ्गो रूप मानियो। खासगरेर नेपाली भाषा संसारमा एउटी स्रष्टाका सबैजसो कृतिगत सिर्जना प्रायः उपन्यासमा नै मात्र केन्द्रित हुनु त्यो स्वयंमा उपलब्धि हो। त्यसैले पनि उनी नेपाली भाषासाहित्यमा थप चर्चित उपन्यासकार भइन्।

गीताकेशरी सानामा स्कुल गइनन्। नारीशिक्षामा अग्रसर गराउन त्यस बेला हिम्मतिला आमाबाबु प्रायः देखिँदैनथे। यति हुँदाहुँदै पनि गीताकेशरीलाई चाहिँ घरैमा शिक्षा दिइएको थियो। उनी स्कुलस्तरको पढाइ घरैमा पाई पारङ्गत भएकी थिइन्। त्यसैले एसएलसी दिने बेलामा यिनलाई स्कुल भर्ना गरिएको थियो। तदनुरूप काठमाडौँको लैनचौरस्थित शान्ति विद्यागृहमा उनलाई दसौँ कक्षामा भर्ना गराइयो। स्कुल भर्ना भएकै साल उनले एसएलसी परीक्षा पास गरिन्। त्यस घडी त्यो बेहोरा पनि अन्य विद्यार्थीका लागि निकै प्रेरक रहेको थियो।

स्कुल भर्ना हुनेबित्तिकै एसएलसी पास भएपछि आफ्नो पढाइप्रति गीताकेशरीलाई झनै विश्वास बढ्न थाल्यो। उनका अभिभावक पनि आफ्नी छोरीको हैसियतमा सन्तुष्ट थिए। त्यसैले घरपरिवारको सल्लाहले नै गीताकेशरी पद्मकन्या कलेज भर्ना भइन्। त्यसै कलेजबाट उनले आईए र बीए उत्तीर्ण गरिन्। अनि समयसन्दर्भ मिलाएर उनले एमए पनि पढ्न थालिन्। तिनैताका उनको एक जना युवकसँग भेट भयो।

गीताकेशरीले बाइस वर्षको उमेर पूरा भएपछि बिहे गरिन्। उनले समझदारीका साथ प्रेमविवाह गरेकी थिइन्। उनका पुरुष भण्डारी थरका ब्राह्मण थिए र उनी भर्खर न्युजिल्यान्डबाट पढेर नेपाल आएका थिए। गीताकेशरीले २०१९ साल वैशाखमा केशवराज केशरीसँग दाम्पत्य जीवन कसेकी थिइन्। उनका पति सप्तरी जिल्लाका भए तापनि सासूससुरा बनारस बस्थे। त्यहाँ पनि उनीहरूको घर थियो।

बिहेताका केशवराज केशरी पशुविकास केन्द्रका अधिकृत थिए। बिहेपछि यी दम्पतीले करिब तेइस वर्ष एउटै नाउमा (डुङ्गामा) खुट्टा टेके। त्यसपछि यिनका पति बिरामी भए, अनि यिनले गीताकेशरीलाई चटक्कै छोडे। मिर्गौलाको रोगका कारण उपचार गर्दागर्दै भारतको दिल्लीस्थित एउटा अस्पतालमा केशवराज केशरी ०४२ साल मङ्सिर २ गते स्वर्गीय भए।

गीताकेशरीमा वैधव्यको चोट खप्टिएपछि उनी लेखनमा झनै जाँगरिली बनिन्। उनको मनको पीडा, डाह, छटपटी, पीर, मर्का सबै विषय उनले उपन्यासमा खन्याइन्। जिन्दगीको लिस्नो उक्लने क्रमका एक–एक कथा जोडिँदै जाँदा उनका एकपछि अर्को उपन्यास नेपाली साहित्यका मन्दिरमा चाङ लाग्दै जान थाले। त्यसैले उनी उपन्यासलेखनकी एउटी सग्लो स्रष्टा नै बनिन्। उनले बाह्रवटा उपन्यास र तीनवटा कथासङ्ग्रह लेखिन्।

गीताकेशरीले कुनै–कुनै उपन्यास र कथाहरूलाई कल्पनाका सागरमा नभुली यथार्थ विवरणमा पनि आबद्ध गराइन्। अनि उनका प्रायः रचनामा पनि नारीजागरणकै आत्मा बोलिरहेका हुन्छन्। उनी आफ्ना उपन्यास र कथाहरूमा नारीजीवनको यथार्थ विवरण नै पोख्ने गर्थिन्।

गीताकेशरीले बिहेपछि जागिर खाइन्। प्रारम्भमा यिनले काठमाडौँको बानेश्वरस्थित श्री ५ रत्नराज्यलक्ष्मी हाईस्कुलमा शिक्षण पेसा समातिन्। त्यहाँ यिनले एक वर्ष पढाइन्। त्यसपछि यिनी शाही नेपाल वायुसेवा निगममा छिरिन्। त्यतिखेर यिनी त्यहाँ सहायक बिक्री अधिकृत थिइन्। त्यहाँ पनि यिनले आफ्नो सरल व्यक्तित्वको परिचय दिइन् र कठोर रूपमा काममा पनि घोटिइन्।

अन्ततः त्यस ठाउँमा यिनी निर्देशकसम्म भइन्। त्यहाँबाट यिनले स्वैच्छिक अवकाश लिइन्। अनि यिनी ट्राभल्स एजेन्सीमा लागिन्, अथवा भनौँ यिनी एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल्समा नायब महाप्रबन्धकमा भर्ना भइन्। त्यहाँ पनि यिनले आफ्नो पैँतीस वर्षको हवाईसेवाको अनुभव सदुपयोग गरिन्। ट्राभल्स एजेन्सीमा यिनले करिब पाँच वर्ष काम गरिन्।

गीताकेशरी नेपाली भाषासाहित्यमा जसरी समर्पित भइन् र जागिरे जीवनमा पनि जसरी उत्कृष्टताको नाममा गन्ती भइन्, त्यसरी नै उनी नेपाली भाषासाहित्यको उच्च आधिकारिक स्थानमा पनि पुगिन्। उनी ०६१ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानकी सदस्यसचिव भइन्। प्रज्ञा–प्रतिष्ठानमा उनी प्रथम नारी सदस्यसचिव भएकी थिइन्।

गीताकेशरी प्रज्ञा–प्रतिष्ठानमा सदस्यसचिव भएको घटनाले नेपाली परिवेशमा ठूलो भावनात्मक परिवर्तन गरिदियो। वास्तवमा यो जित नारीहरूको मात्र थिएन; नेपाली साहित्यको आधुनिकीकरणको उपलब्धिको परिणामस्वरूप नै गीताकेशरीको सदस्यसचिव पद घोषित भएको थियो। उनको नियुक्तिमा जसले विरोध गरे पनि र जसले समर्थन गरे पनि उनीचाहिँ इतिहासको पानामा आबद्ध हुने ठाउँमा नै पुगेकी थिइन्।

गीताकेशरीले साहित्यको सिर्जनामा मन, वचन र कर्म मात्र लगाइनन्; उनले आफ्ना आमाबाबुका नाममा पनि पुरस्कार राखिन् र उनले आफ्ना माइतीका सदस्यहरूलाई उत्साहित पारी ‘पन्त स्मृति प्रतिष्ठान’ नामको एउटा संस्था खोल्न पनि सहयोग गरिन्। साथै उनले आफ्ना ससुरा र सासूको पुण्यस्मृतिमा भेषराज केशरी र कादम्बिनी अक्षयकोषको स्थापना गरिन्।

उनले बालसाहित्यलाई प्रोत्साहन दिन कादम्बिनी पुरस्कारको स्थापना गरेकी थिइन्। यसैगरी नेपाल एनिमल साइन्स एसोसिएसनद्वारा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान भरतपुरमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने गरी २०५२ सालदेखि उनले उनका पतिको स्मृतिमा केशवराज केशरी मेमोरियल छात्रवृत्ति कोषको स्थापना गरेकी थिइन्।

गीताकेशरीले तीन छोरी पाइन्– डा. नीलु, डा. निशा र नीता। तीनै जना छोरीले उच्च शिक्षा ग्रहण गरे। तीनैजना वैवाहिक जीवनमा गाँसिए; जसअनुसार जेठी छोरी डा. नीलु भारतमा, माइली छोरी डा. निशा नेपालमा र कान्छी छोरी नीता जापानमा आ–आफ्ना रुचिअनुसारका पेसामा संलग्न भए।

गीताकेशरी मौलिकता मन पराउने स्रष्टा थिइन्। उनको निजी व्यवहार पनि मौलिकतामा बाँधिएको पाइन्थ्यो। उनी सोझी देखिए तापनि चित्त नबुझेका कुरामा झडङ्ग रिसाउँथिन्। उनी 'मान्छेबाट भूल हुन्छ नै तर त्यसको सुधार गर्नुपर्छ' भन्थिन्। उनी अनावश्यक वादविवादमा हात हाल्दिनथिन्। उनी खुरुखुरु आफ्नो काम गर्थिन्। उनले नेपालका प्रायः सम्पूर्ण जिल्लाको भ्रमण गरेकी थिइन्। साथै उनले एसिया, युरोप, अमेरिका र अस्ट्रेलियाका विभिन्न मुलुकको पनि भ्रमण गरेकी थिइन्।

गीताकेशरीले आफ्नो मिलनसार स्वभावले धेरैको मन जितेकी थिइन्। साहित्यमा पनि उनको आफ्नो बेग्लै धारा कायम भएको थियो। उनले साहित्य सिर्जनामा लामो सेवा गरेबापत नइ एकेडेमीमार्फत त्रिमूर्ति निकेतनबाट एक लाख रुपियाँ राशिसहित ‘नेपाली साहित्य नारीरत्न’को उपाधि पाएकी थिइन्। उनले सो उपाधिको ताम्रपत्र र नगद राशि शताब्दी पुरुष सत्यमोहन जोशीबाट ग्रहण गरेकी थिइन्। उनले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र राष्ट्रिय प्रतिभा पुरस्कारका साथै लोकप्रिया पुरस्कार, धरणीधर पुरस्कार र गङ्की वसुन्धरा पुरस्कार आदि पाएकी थिइन्।

गीताकेशरीले २०८३ असार १८ गते आफ्ना तीन छोरीका सामुन्ने प्राण त्याग गरिन्। सोही दिन उनको पार्थिव शरीरलाई आर्यघाट पुर्‍याइएको थियो, अनि ती छोरीहरूले नै उनलाई दागबत्ती दिएका थिए।

गीताकेशरीका 'कसिङ्गर' (२०३४), 'सौगात' (२०४६), 'आवाज' (२०४७), 'मुक्ति' (२०४८), 'खोज' (२०५०), 'अन्तिम निम्तो' (२०५१), 'विश्वास' (२०५२), 'खुला आकाश' (२०५४), 'नोकरी' (२०५५), 'निष्कर्ष' (२०६०), 'बदलिँदो क्षितिज' (२०६६), 'फक्रँदो कोपिला' (२०६८) उपन्यास हुन् भने उनका 'तरङ्ग' (२०५७), 'भुमरी' (२०५९), र 'लहर' (२०६५) कथासङ्ग्रह प्रकाशित छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप