आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
सांसदसँग

‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु

आइतबार, २८ असार २०८३

अफ्साना बानु प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् । संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा सदस्य रहेकी बानुले जेनजीको प्रतिनिधित्व गर्छिन् ।

जेनजी आन्दोलनका घाइते, सहिद परिवारका लागि उनले निरन्तर आवाज उठाइरहेकी छन् । ‘सांसदसँग’ स्तम्भका लागि बानुसँग उनले संसदमा निर्वाह गर्दै आएको भूमिका र उनका एजेन्डाका विषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ, सांसद बानुसँग गरिएको कुराकानीको सम्पादित अंश :

संसदमा पुगेपछि कस्तो महसुस गर्नुभयो ?

संसदमा पुगिसकेपछि एक सांसदको रूपमा मैले ठुलो जिम्मेवारी बोध गरिरहेकी छु । यो परिवर्तन विशेषगरी ‘जेनजी’को आन्दोलनले ल्याएको हो । हामी आफैँ पनि त्यो आन्दोलनमा सहभागी भएको हुनाले सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सहयोग र खबरदारी गर्नुपर्छ भन्ने लाग्छ ।

संसद् पुगेपछि तपाईंले विभिन्न तालिम लिनुभयो, ती तालिमबाट के–के कुरा सिक्नुभयो ?

हाम्रो पार्टी (रास्वपा) ले सांसदहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न अभिमुखीकरण कार्यक्रमहरू आयोजना गरिरहन्छ । हालै हामीलाई ‘डिजिटल प्लेटफर्म’ को सही प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम दिइयो । यसमा डिजिटल माध्यमबाट हुन सक्ने विभिन्न प्रकारका ठगीबाट कसरी जोगिने र संसदीय अभ्यासमा यसलाई कसरी उपयोग गर्ने भन्ने सिकाइयो ।

साथै, नीति–नियम र ऐन निर्माणको प्रक्रिया, संशोधन प्रस्ताव र विधेयक कसरी दर्ता गर्ने भन्ने जस्ता संसदीय अभ्यासका प्राविधिक विषयमा पनि हामीले ज्ञान प्राप्त गरिरहेका छौँ ।

संसद् सचिवालयले आयोजना गरेको दुई दिने अभिमुखीकरण र पार्टीले दिएको तालिममा केही फरक पाउनुभयो ?

त्यस्तो खासै ठुलो भिन्नता त छैन । दुवै ठाउँमा संसदीय अभ्यासका बारेमै सिकाइने हो । संसदमा हामीले ती कुराहरू व्यावहारिक रूपमा अभ्यास गरिरहेका हुन्छौँ भने अभिमुखीकरणमा सैद्धान्तिक रूपमा सिक्छौँ । धेरैजसो कुरा समान नै छन् ।

धेरैजसो सांसद नयाँ हुनुहुन्छ, संसदमा बोल्ने शैली, पहिरन, मर्यादाका बारेमा के कस्ता कुरा सिकाइयो ?

1-IMG_20260710_164114.jpg

संसदमा बोल्ने र आचरणका विषयमा धेरैजसो ‘कार्यव्यवस्था परामर्श समिति’ मा छलफल र सिकाउने गरिन्छ । पहिरनको सन्दर्भमा म के मान्छु भने हामी एउटा सार्वभौम संसद्को सदस्य भइसकेपछि अन्तर्राष्ट्रिय मञ्चमा समेत आफूलाई नेपालको प्रतिनिधिको रूपमा प्रस्तुत गरिरहेका हुन्छौँ । त्यसैले हाम्रो पहिरनमा मौलिकता झल्किनु आवश्यक छ । पुरुषका लागि दौरा–सुरुवाल र ढाका टोपी तथा महिलाका लागि सारी र कोट/ब्लेजर अनिवार्य गरिएको छ, जसमा मेरो पूर्ण समर्थन छ । यो संसदीय मर्यादाका लागि आवश्यक पनि छ ।

अहिले अध्ययनका लागि कत्तिको समय निकाल्नुहुन्छ ? के पढ्दै हुनुहुन्छ ?

संसदमा हाम्रो ‘पिजन होल’ (सांसदहरूको चिठीपत्र राख्ने ठाउँ) मा सधैँ केही न केही अध्ययन सामग्री आइरहेका हुन्छन् । त्यसमा कुन विधेयक जाँदैछ, कुन ऐन बन्दैछ भन्ने विवरण हुन्छ । हालै मैले निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन प्राप्त गरेकी छु । अहिले मेरो परीक्षा पनि चलिरहेको हुनाले पूर्ण रूपमा ध्यान केन्द्रित गर्न त गाह्रो भएको छ, तर पनि फुर्सद हुनासाथ यस्ता पुस्तक र प्रतिवेदनहरू पढ्ने गर्छु । यसले काम गर्ने नयाँ आइडिया दिन्छ ।

तपाईं आफैँ पनि ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ । यो पुस्ताका माग र मुद्दाहरू पूरा गर्न आफ्नो तर्फबाट के–कस्ता प्रयास गरिरहनुभएको छ ?

जेनजीका मुद्दा सम्बोधन गर्ने सन्दर्भमा हामी निरन्तर लागिरहेका छौँ । यसअघि पनि १५२ भन्दा बढी साथीहरूले हस्ताक्षर गरेर एउटा म्यान्डेट तयार गरेका थियौँ, जसमा मेरो पनि सक्रिय भूमिका थियो । सांसद हुनुभन्दा अगाडि र अहिले पनि मेरो मुख्य ध्यान कारागारमा रहेका आन्दोलनकारी साथीहरूलाई छुटाउन र उनीहरूसँग समन्वय गर्नमा केन्द्रित छ । धेरै युवा साथीहरू (कोही स्नातक, कोही स्नातकोत्तर पढ्दै गरेका) विगत नौ महिनादेखि थुनामा हुनुहुन्छ, जसले गर्दा उहाँहरू र उहाँका परिवार निकै चिन्तित हुनुहुन्छ ।

सुधन दाइ (गृहमन्त्री सुधन गुरुङ) र सभापति रवि लामिछानेसँगको समन्वयमा ७७ वटै जिल्लाबाट पक्राउ परेकाहरूको विवरण निकाल्ने र उनीहरूको रिहाइका लागि पहल गर्ने काम भइरहेको छ । भर्खरै एउटा पेसी रोकिएको छ, जुन हाम्रै पहलको सकारात्मक परिणाम हो ।

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग पनि सम्पर्कमा हुनुहुन्छ ?

म घाइते साथीहरू र सहिद परिवारसँग निरन्तर सम्पर्कमा छु, तर सबैभन्दा बढी समय कारागारमा रहेका साथीहरूसँगको संवादमा बित्छ । मेरो मोबाइलमा दैनिकजसो कारागारबाट धेरै कलहरू आउँछन् । उनीहरूको एउटै प्रश्न हुन्छ— ‘हामीले ल्याएको परिवर्तनमा हाम्रै सरकार हुँदा पनि हामी कति दिन भित्र बस्नुपर्ने हो ?’ उहाँहरूलाई अपडेट दिने र समन्वय गर्ने काम म गरिरहेकी छु ।

पक्राउ परेका, कारागारमा रहेका आन्दोलनकारी साथीहरूको सङ्ख्या कति होला ?

2-IMG_20260710_165207.jpg

७७ वटै जिल्लाबाट आएको विवरणको एउटा ठुलो पुस्तक गृह मन्त्रालयमा छ । मैले जानकारी पाएअनुसार आन्दोलनका क्रममा देशभरबाट करिब २७०० जना पक्राउ परेका थिए । तीमध्ये करिब ११०० भन्दा बढी काठमाडौँबाट मात्रै पक्राउ परेका हुन् । कोही धरौटीमा छुटिसक्नुभयो भने कतिपयमाथि अझै मुद्दा चलिरहेको छ । विस्तृत विवरण भने मन्त्रालयको रेकर्डमै छ ।

आफ्नो कार्यकालभरि संसदमा युवा र ‘जेन–जी’ को हितका लागि तपाईंले कस्तो भूमिका खेल्नु हुनेछ ? मुख्य योजना छन् कि ?

म एकदमै स्पष्ट छु, अहिले मेरो पहिलो प्राथमिकता भनेकै यो सरकार जुन जगमा उभिएको छ, त्यो ‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउनु हो । जो साथीहरू विगत नौ महिनादेखि कारागारमा हुनुहुन्छ, उहाँहरूलाई बाहिर निकाल्न म निरन्तर प्रयत्न गरिरहनेछु । मेरो कार्यकालको अहिलेको मुख्य एजेन्डा नै यही हो ।

अन्त्यमा, मतदाता र आम जनतालाई केही सन्देश दिन चाहनुहुन्छ ?

3-IMG_20260710_165210.jpg

काठमाडौँ मेरो आफ्नै जिल्ला हो, त्यसैले यहाँका बासिन्दासँग मेरो विशेष सामीप्यता छ । समग्रमा भन्नुपर्दा, हाम्रो सरकार गठन भएको भर्खरै १०० दिन पार भएको छ । हामी पनि सिक्ने र काम गर्ने क्रममै छौँ । काम गर्दै जाँदा शब्द चयन वा अन्य पक्षमा हाम्रा केही कमजोरी वा भूल हुन सक्छन्, त्यसका लागि हामी क्षमायाचना गर्दछौँ ।

म सबैलाई निराश नहुन र आशावादी बन्न आग्रह गर्दछु । पछिल्लो समय २५ वर्षीय युवा गणेश नेपालीले जुन आत्महत्याको बाटो रोज्नुभयो, त्यो राज्यका लागि एउटा ठुलो दुर्घटना हो । जुन पुस्ताले परिवर्तन ल्यायो, त्यही पुस्ताको युवाले यसरी ज्यान गुमाउनु पर्दा मेरो मन निकै रोएको छ । यस्ता घटना फेरि नदोहोरिउन् भन्नका लागि सत्ता पक्ष र प्रतिपक्ष दुवैले गम्भीर भएर सँगै काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया