केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
सारांश
- यातायात व्यवस्था विभागमा ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइ सुरक्षण मुद्रण केन्द्रले पूरा गरेको छ ।
- सम्झौता अनुसार २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिए पनि एक वर्षभन्दा कम म्याद भएका करिब ३ लाख लाइसेन्स तत्काल नछापिने भएका छन् ।
- जेनजी आन्दोलनका क्रममा विभागको लाइसेन्स छपाइ मेसिनमा क्षति पुगेपछि सुरक्षण मुद्रण केन्द्रले आधिकारिक रूपमा लाइसेन्स छपाइ सुरु गरेको थियो ।
काठमाडौँ । यातायात व्यवस्था विभागमा ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ‘ब्याकलग’ छपाइ अन्ततः पूरा भएको छ । सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाइ सक्ने सम्झौता अनुरूप २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिसकेको छ ।
यद्यपि, एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने तत्काल नछापिने भएका छन् । लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच दुई चरणमा सम्झौता भएको थियो । पहिलो सम्झौता अनुसार २०८३ वैशाख १२ गतेभित्र १२ लाख सवारी लाइसेन्स छापिसक्नुपर्ने थियो, जुन शतप्रतिशत सम्पन्न भइसकेको छ ।
त्यस्तै, दोस्रो सम्झौताअनुसार थप १७ लाख थान लाइसेन्स २०८३ असार मसान्तभित्र छपाइ सम्पन्न गर्नुपर्ने उल्लेख थियो । सोही सम्झौता बमोजिम विभागले कुल २९ लाख लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको थियो ।
केन्द्रका अनुसार विभागले पठाएको विवरणमध्ये २५ लाख ९२ हजार ४१७ थान लाइसेन्सको छपाइ कार्य सम्पन्न भइसकेको छ । बाँकी रहेका ३ लाख ७ हजार ५८३ थान लाइसेन्सको म्याद (भ्यालिडिटी) एक वर्षभन्दा कम रहेकाले तत्काल नछाप्ने निर्णय गरिएको हो ।
यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार एक वर्षभन्दा कम म्याद भएका ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्रै छापिनेछन् । रातोपाटीसँगको कुराकानीमा निर्देशक खतिवडाले भने, ‘हामीले सम्झौता अनुसार २९ लाख लाइसेन्सकै यकिन डेटा केन्द्रलाई दिइसकेका छौँ । लामो समयदेखि छाप्न बाँकी रहेकामध्ये जसको लाइसेन्सको म्याद एक वर्षभन्दा कम बाँकी छ, त्यस्ता करिब ३ लाख लाइसेन्स प्रिन्ट हुँदैनन् । प्रिन्ट भएका लाइसेन्सहरू भने उहाँहरूले आज बेलुका वा भोलिसम्ममा विभागमा ल्याइपुर्याउनु हुनेछ ।’
यता, सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले पनि ब्याकलगको छपाइ सम्पन्न भइसकेको र हाल अन्तिम चरणको ‘कटिङ’ को काम भइरहेको बताए । ‘ब्याकलग कम्प्लिट भइसकेको छ । २९ लाखमध्ये विभागले हामीलाई करिब २६ लाखको मात्रै डाटा दिएको थियो, ती सबै प्रिन्ट भएर कटिङमा गइरहेका छन्,’ उनले भने ।
उनका अनुसार पुराना ब्याकलग सकिए पनि दैनिक रूपमा आउने नयाँ तथा नवीकरण गरिएका सवारी लाइसेन्स दैनिक ३ देखि ४ हजार छपाइ कार्य भने निरन्तर चलिरहेको छ र निरन्तर छपाइ चलिरहने उनको भनाइ छ ।
- कसरी थुप्रिएको थियो २९ लाख ब्याकलग ?
विभागमा विगत ४ वर्षयता ट्रायल पास भएका तर स्मार्ट कार्ड नपाएका सेवाग्राहीका कारण २९ लाख लाइसेन्सको चाङ लागेको थियो । सुरुमा मेसिनको क्षमता र कार्डको अभावले सुस्त बनेको छपाइ कार्य गत वर्ष पूर्ण रूपमा ठप्प बन्न पुग्यो ।
त्यसमाथि २०८२ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीबाट यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी हुँदा विभागको लाइसेन्स छपाइ मेसिनमै ठुलो क्षति पुगेको थियो । मेसिन नै जलेपछि विभाग आफैँले लाइसेन्स छाप्न नसक्ने स्थितिमा पुग्यो, जसले गर्दा लाइसेन्स वितरण अनिश्चित बनेको थियो ।
यसपछि बनेको अन्तरिम सरकारले लाइसेन्स छपाइको सम्पूर्ण जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिने निर्णय गर्यो । हुन त यसअघि २०८२ जेठमै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच चालक अनुमतिपत्र छपाइ गर्ने सैद्धान्तिक सम्झौता भइसकेको थियो, तर काम अघि बढ्न सकेको थिएन ।
जेनजी आन्दोलनका क्रममा मेसिनमा क्षति पुगेपछि बाध्यात्मक अवस्थामा पुनः सम्झौता गरी केन्द्रले २०८२ कात्तिक २१ गतेदेखि आधिकारिक रूपमा लाइसेन्स छपाइ सुरु गरेको थियो ।
केन्द्रले छोटो समयमै वर्षौँदेखिको लाखौँ ब्याकलग छपाइ सम्पन्न गरेपछि स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका सेवाग्राहीले ठुलो राहत पाउने भएका छन् ।
साथै अब सवारी लाइसेन्स निरन्तर केन्द्रबाटै छपाइ हुने भएको छ । सुरक्षण मुद्रण ऐनले सरकारी र संवेदनशील कागजातहरू मुद्रण केन्द्रले मात्र छाप्ने विशेष अधिकार दिएको छ । सोही अनुसार केन्द्रले नै छाप्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण