बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?

बिहीबार, ३२ असार २०८३, ०९ : ३५
बिहीबार, ३२ असार २०८३

सारांश

  • अर्जेन्टिनाले विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्‍यो ।
  • अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी ९/१० अंकका साथ खेलका सबैभन्दा प्रभावशाली खेलाडी बने ।
  • इंग्ल्यान्डका एन्थोनी गोर्डन र जेड स्पेन्स ८/१० अंकसहित प्रभावशाली खेलाडी रहे ।

विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा खेल पल्टाउँदै इंग्ल्यान्डलाई २–१ ले पराजित गर्‍यो । खेलको नतिजा अर्जेन्टिनाको पक्षमा गए पनि व्यक्तिगत प्रदर्शनका हिसाबले दुवै टोलीका केही खेलाडी निकै चम्किए भने केही खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

मेस्सीको प्रदर्शन निर्णायक
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फेरि एकपटक खेलका सबैभन्दा प्रभावशाली खेलाडी बने । उनले ९/१० अंक प्राप्त गर्दै मैदानमा आफ्नो प्रभाव स्पष्ट देखाए । उमेरलाई चुनौती दिने बल नियन्त्रण, उत्कृष्ट ड्रिबल र सिर्जनात्मक खेलमार्फत उनले अर्जेन्टिनाको आक्रमणलाई निरन्तर गतिशील बनाए । दुवै गोलको आधार तयार पार्दै उनले टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्‍याउन निर्णायक भूमिका खेले ।

mm

अर्जेन्टिनाका अरुपनि चम्किए
मेस्सीलाई उत्कृष्ट साथ दिएका मिडफिल्डर एन्जो फर्नान्डेजले ८/१० अंक पाए । उनले पहिलो हाफमै उत्कृष्ट गोल गर्न नजिक पुगेका थिए भने ८५औँ मिनेटमा गरेको शानदार बराबरी गोलले अर्जेन्टिनालाई पुनरागमनको बाटो खोल्यो । एलेक्सिस म्याक एलिस्टर पनि समान ८ अंकसहित प्रभावशाली रहे । दुईपटक बल पोस्टमा लागेर गोलबाट वञ्चित भए पनि मिडफिल्डमा उनको सक्रियता उल्लेखनीय रह्यो ।

जुलियन आल्भारेजले पनि ८ अंक पाउँदै इंग्ल्यान्डको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोड्रिगो डे पाउल, निकोलास गोन्जालेज र लाउटारो मार्टिनेजले समान ८ अंक प्राप्त गरे । विशेषगरी डे पाउलले मैदान छिरेपछि अर्जेन्टिनाको खेलको लय नै बदलियो भने लाउटारोले इन्जुरी समयमा हेडमार्फत विजयी गोल गर्दै टोलीका नायक बने ।

2

रक्षापंक्तिमा क्रिस्टियन रोमेरो ८ अंकसहित अर्जेन्टिनाका उत्कृष्ट रक्षक रहे । दबाबका क्षणमा पनि उनी आत्मविश्वासी देखिए । ३८ वर्षीय निकोलास ओटामेन्डीले वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै ७ अंक प्राप्त गरे र आफ्नो अनुभवको राम्रो उपयोग गरे ।

इंग्ल्यान्डका एन्थोनी गोर्डन र जेड स्पेन्स प्रभावशाली

इंग्ल्यान्डतर्फ भने एन्थोनी गोर्डन र जेड स्पेन्स सबैभन्दा प्रभावशाली खेलाडी बने । दुवैले ८/१० अंक पाए । गोर्डनले दोस्रो हाफको सुरुमै उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगिताभर उत्कृष्ट लयमा रहेका उनले सेमिफाइनलमा पनि आफ्नो स्तर कायम राखे । स्पेन्सले दायाँ फ्ल्याङ्कमा निरन्तर आक्रमण गर्दै जुलियानो सिमियोनेलाई रोक्न गरेको उत्कृष्ट ट्याकलबाट पनि प्रशंसा बटुले ।

1

जोर्डन पिकफोर्ड, रिस जेम्स, जोन स्टोन्स, मार्क गेही, इलियट एन्डरसन र मोर्गन रोजर्सले समान ७ अंक प्राप्त गरे । पिकफोर्डले निकोलास गोन्जालेजको हेडरमा गरेको बचाउ उत्कृष्ट थियो भने रिस जेम्सले चोटपछि टोलीमा फर्केर सन्तुलित प्रदर्शन गरे । स्टोन्स र गेहीले अधिकांश समय अर्जेन्टिनाको आक्रमणलाई रोके पनि अन्तिम क्षणमा टोली दबाब थेग्न असफल भयो । रोजर्सले गोर्डनको गोलका लागि निर्णायक असिस्ट दिएका थिए ।

अपेक्षाकृत देखिएनन् इंग्ल्यान्डका केही प्रमुख खेलाडी 

इंग्ल्यान्डका केही प्रमुख खेलाडी अपेक्षाअनुसार देखिएनन् । जुड बेलिङ्घम र डेक्लान राइसले समान ६ अंक पाए । बेलिङ्घमले सिर्जनात्मक खेलमा प्रभाव पार्न सकेनन् भने राइस पनि खेलको अन्त्यसम्म आफ्नो प्रभाव कायम राख्न असफल भए । कप्तान ह्यारी केनको प्रदर्शन झन् निराशाजनक रह्यो । उनले ५/१० अंक मात्र पाए । इंग्ल्यान्डको गोल सुरु गराउने लामो पास दिए पनि खेलभर अर्जेन्टिनाको रक्षापंक्तिमा खासै चुनौती सिर्जना गर्न सकेनन् ।

वैकल्पिक खेलाडीहरूबाट पनि इंग्ल्यान्डले अपेक्षित सहयोग पाएन । एजरि कोन्सा र डान बर्नले समान ५ अंक पाए । कोन्सा अर्जेन्टिनाको बराबरी गोलका क्रममा कमजोर देखिए भने बर्नले पनि रक्षामा अपेक्षित प्रभाव पार्न सकेनन् । निको ओ’राइली, आइभान टोनी र मार्कस रासफोर्डले ६–६ अंक पाए पनि खेलको नतिजा बदल्न सकेनन् ।

समग्रमा व्यक्तिगत प्रदर्शनको मूल्याङ्कन हेर्दा अर्जेन्टिनाका खेलाडीहरू निर्णायक क्षणमा बढी प्रभावशाली देखिए । विशेषगरी मेस्सी, फर्नान्डेज, म्याक एलिस्टर र वैकल्पिक खेलाडीहरूको योगदानले खेलको दिशा बदल्यो । इंग्ल्यान्डका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा अनुभव, धैर्य र निर्णायक क्षणको सदुपयोगमा अर्जेन्टिना एक कदम अगाडि देखियो, जसले उसलाई लगातार दोस्रो विश्वकप फाइनलसम्म पुर्‍यायो ।

समग्र खेलाडी रेटिङः

खेलाडी रेटिङ

इंग्ल्यान्ड (१–१०)

जोर्डन पिकफोर्ड ७/१०

रिस जेम्स ७/१०

जोन स्टोन्स ७/१०

मार्क गेही ७/१०

जेड स्पेन्स ८/१०

इलियट एन्डरसन ७/१०

डेक्लान राइस ६/१०

मोर्गन रोजर्स ७/१०

जुड बेलिङ्घम ६/१०

एन्थोनी गोर्डन ८/१०

ह्यारी केन ५/१०

वैकल्पिक खेलाडी

एजरि कोन्सा ५/१०

डान बर्न ५/१०

निको ओ’राइली ६/१०

आइभान टोनी ६/१०

मार्कस रासफोर्ड ६/१०

अर्जेन्टिना 

एमिलियानो मार्टिनेज ६/१०

नाहुएल मोलिना ६/१०

क्रिस्टियन रोमेरो ८/१०

लिसान्ड्रो मार्टिनेज ७/१०

निकोलास टालियाफिको ५/१०

लियान्द्रो पारेडेस ५/१०

एन्जो फर्नान्डेज ८/१० 

एलेक्सिस म्याक एलिस्टर ८/१०

जुलियानो सिमियोने ६/१०

लियोनेल मेस्सी ९/१०

जुलियन आल्भारेज ८/१०

वैकल्पिक खेलाडी

निकोलास गोन्जालेज ८/१०

निकोलास ओटामेन्डी ७/१०

गोन्जालो मोन्टिएल ७/१०

रोड्रिगो डे पाउल ८/१०

लाउटारो मार्टिनेज ८/१०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप