शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन

शुक्रबार, ०१ साउन २०८३, १२ : २१
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन गरिएका कृषि तथा पशुपन्छी विकास कार्यक्रमहरूको प्रगति विवरण माग गरेको छ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका र नगरपालिकालाई आर्थिक वर्ष २०८२–८३ मा कार्यान्वयन भएका कार्यक्रमहरूको प्रगति विवरण पठाउन निर्देशन दिएको छ।
  • स्थानीय तहहरूले त्रैमासिक तथा वार्षिक रूपमा भौतिक र वित्तीय प्रगतिको विस्तृत विवरण तोकिएको ढाँचामा केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

काठमाडौँ । सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन गरिएका कृषि तथा पशुपन्छी विकास कार्यक्रमहरूको प्रगति विवरण माग गरेको छ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै गाउँपालिका र नगरपालिकालाई परिपत्र गर्दै आर्थिक वर्ष २०८२–८३ मा कार्यान्वयन भएका कार्यक्रमहरूको प्रगति विवरण पठाउन निर्देशन दिएको हो।

कृषि, वन तथा वातावरण मन्त्रालयको समन्वयमा पठाइएको उक्त परिपत्रमा कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि सञ्चालित योजनाहरूको प्रभावकारिता र कार्यान्वयनको अवस्था बुझ्न प्रतिवेदन माग गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमहरूलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी र नतिजामुखी बनाउन ‘सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ र ‘पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ बमोजिम प्रगति विवरण बुझाउनुपर्नेछ।

स्थानीय तहहरूले त्रैमासिक तथा वार्षिक रूपमा भौतिक र वित्तीय प्रगतिको विस्तृत विवरण तयार पारी केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले परिपत्रसँगै प्रगति प्रतिवेदनको निश्चित ढाँचा समेत पठाएको छ । जसमा कार्यक्रमको नाम, वार्षिक विनियोजित बजेट, भौतिक लक्ष्य, हालसम्मको प्रगति, देखिएका समस्या र समाधानका उपायहरू समेत उल्लेख गर्नुपर्नेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप