शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा

शुक्रबार, ०१ साउन २०८३, १२ : २५
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले २०२६ विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेलमा रक्षात्मक खेलाडी परिवर्तन गरे पनि टोलीले पुरानै कथा दोहोर्यायो।
  • खेलको लय परिवर्तन गर्न अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले खेलाडी परिवर्तन गरेपछि इंग्ल्यान्डको रक्षापंक्तिमा समस्या देखियो।
  • विदेशी प्रशिक्षक आउँदा पनि इंग्ल्यान्डका खेलाडीहरू प्रशिक्षकको शैलीमा नढल्नुले प्रशिक्षक नै पुरानै प्रवृत्तिमा ढल्न बाध्य हुने गरेको देखिन्छ।

लन्डन । जब थोमस टुचेललाई इंग्ल्यान्डको मुख्य प्रशिक्षक नियुक्त गरियो, सबैभन्दा ठुलो प्रश्न थियो— के उनले साँच्चिकै फरक सोच र शैली अपनाउनेछन् ? 

यो प्रश्नको कारण पनि स्पष्ट छ । इंग्ल्यान्डका अघिल्ला दुई विदेशी प्रशिक्षक स्वेन–गोरान एरिक्सन र फाबियो कापेल्लो दुवैले अन्ततः पारम्परिक इङ्लिस शैलीकै फुटबललाई अघि बढाए । उनीहरूले प्रायः ४–४–२ को संरचना अपनाए र अगाडिको लाइनमा एमिल हेस्कीजस्ता पारम्परिक स्ट्राइकरलाई प्रयोग गरे ।

त्यस्तै, महिला टोलीकी प्रशिक्षक सरिना विगमनले सुरुआतमा इंग्ल्यान्डको फुटबल दर्शन परिवर्तन गर्ने प्रयास गरे पनि समयसँगै उनको टोली पनि पुरानै इङ्लिस शैलीमा फर्किएको देखियो । गत युरोपियन च्याम्पियनसिपमा खेलाडीहरूले बारम्बार प्रयोग गर्ने ‘खास इंग्ल्यान्ड !’ भन्ने अभिव्यक्तिप्रति उनी असन्तुष्ट थिइन्, किनभने टोली प्राविधिक फुटबलभन्दा शारीरिक खेल र कडा ट्याकलमा बढी निर्भर हुँदै गएको थियो ।

टुचेलबाट भने नयाँ सोचको अपेक्षा गरिएको थियो । जर्मनीमा उनले देखाएको उत्कृष्ट रणनीतिक क्षमता र चेल्सीसँग च्याम्पियन्स लिग जित्दाको अनुभवले इंग्ल्यान्डलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको थियो । तर २०२६ विश्वकपमा इंग्ल्यान्ड फेरि पुरानै कथाको सिकार बन्यो । सन् २०१८ को विश्वकप र २०२० युरोकै झल्को दिने गरी टोलीले सुरुआतमा अग्रता लियो, त्यसपछि विपक्षीलाई खेलमा फर्कने अवसर दियो र अन्ततः २–१ ले अर्जेन्टिनासँग पराजित भयो ।

धेरैले अर्जेन्टिनाविरुद्ध टुचेलका रक्षात्मक खेलाडी परिवर्तनलाई हारको मुख्य कारण माने । तर त्यसलाई मात्र दोष दिन मिल्दैन । वास्तवमा, खेलाडी परिवर्तन गर्नुअघि नै इंग्ल्यान्ड पछाडि धकेलिएको थियो । सुरुआती उच्च दबाबको खेलका कारण टोली थाकिसकेको थियो । मेक्सिको सिटी र मियामीमा खेलेका कठिन खेलहरूको असर पनि देखिएको थियो ।

उता अर्जेन्टिनाले गोल आवश्यक भएपछि आफ्नो वास्तविक स्तरको खेल प्रदर्शन गर्न थाल्यो । प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर लिएन्ड्रो पारेडेसको स्थानमा विंगर निकोलस गोन्जालेजलाई उतारेपछि खेलको लय नै बदलियो । गोन्जालेजले बायाँतर्फबाट लगातार आक्रमण गर्दै इंग्ल्यान्डको रक्षापंक्तिमा समस्या सिर्जना गरे ।

त्यसपछि टुचेलले विंगर एन्थोनी गोर्डनलाई बाहिर निकालेर अतिरिक्त सेन्टर–ब्याक एज्री कोन्सालाई मैदानमा उतारे । इंग्ल्यान्ड पाँच रक्षकको संरचनामा गयो, जसले अर्जेन्टिनाको फराकिलो आक्रमण रोक्ने प्रयास गर्‍यो । टुचेलले खेलपछि भने, ‘उनीहरूसँग दुई विंगर र दुई स्ट्राइकर थिए । त्यसैले अन्तिम रक्षापंक्तिमा पाँच खेलाडी राख्नु उपयुक्त निर्णय थियो ।’

तर त्यसपछि नयाँ समस्या देखा पर्‍यो । जुड बेलिङ्घम बायाँ मिडफिल्डमा पुगे पनि उनीसँग विपक्षीलाई निरन्तर दबाब दिने ऊर्जा बाँकी थिएन । यही क्षेत्रमा लियोनेल मेस्सी र रोड्रिगो डे पाउलले खेल नियन्त्रण गरे । डे पाउलका उत्कृष्ट क्रसले एलेक्सिस म्याक एलिस्टरलाई लगातार अवसर दिलाए । एउटा प्रयास पोस्टमा लाग्यो भने अर्को गोलकिपर जोर्डन पिकफोर्डले रोके ।

टुचेलले त्यसपछि पनि थप रक्षात्मक परिवर्तन गरेनन् । अन्तिम समयमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजलाई मैदानमा उतारेपछि मात्र उनले फेरबदल गरे । रीस जेम्स चोटग्रस्त भएपछि ड्यान बर्नलाई उतारियो भने बिरामी अवस्थामै खेलिरहेका डेक्लान राइसको स्थानमा निको ओ’राइली मैदानमा आए । ओ’राइलीले मेस्सीलाई बायाँ खुट्टा प्रयोग गर्न नदिई दायाँतर्फ धकेल्ने प्रयास गरे, तर मेस्सीले दायाँ खुट्टाबाट पनि प्रभावकारी खेल देखाए ।

स्पष्ट रूपमा टुचेलको रणनीति १–० को अग्रता जोगाउनेमा केन्द्रित थियो । तर त्यसका कारण इंग्ल्यान्डले प्रतिआक्रमणको सम्भावना नै गुमायो । अर्जेन्टिनाले बराबरी गोल गरेपछि टोली मानसिक रूपमा झन् दबाबमा पर्‍यो ।

पहिलो गोल छोटो कर्नरबाट आयो । इंग्ल्यान्डको रक्षापंक्ति धेरै पछाडि खुम्चिँदा पेनाल्टी क्षेत्रको बाहिरी भाग खाली रह्यो । दोस्रो तथा निर्णायक गोल हुनुअघि जोन स्टोन्स टाउकोमा चोट लागेर असहज अवस्थामा थिए भने जेड स्पेन्स पनि चोटका कारण आफ्नो स्थानमा समयमै पुग्न सकेनन् । त्यसैको फाइदा उठाउँदै लाउटारो मार्टिनेजले विजयी गोल गरे ।

खेलपछि टुचेलले भने, ‘हामी पर्याप्त शारीरिक रूपमा बलिया देखिएनौँ । यो संरचनाको समस्या मात्र होइन । हामी धेरै निष्क्रिय भयौँ र त्यसको मूल्य चुकायौँ ।’

टुखेलका रणनीतिक निर्णयमाथि प्रश्न उठ्नु स्वाभाविक हो । तर इंग्ल्यान्डका लागि यो नयाँ कथा होइन । पछिल्ला तीन दशकमा इंग्ल्यान्ड प्रायः नकआउट खेलमा पहिले अग्रता लिन्छ, त्यसपछि खेलमा नियन्त्रण गुमाउँछ र अन्ततः पराजित हुन्छ । १९९६ मा जर्मनी, १९९८ मा अर्जेन्टिना, २००२ मा ब्राजिल, २००४ मा पोर्चुगल, २०१६ मा आइसल्यान्ड, २०१८ मा क्रोएसिया, २०२१ मा इटाली र अब २०२६ मा फेरि अर्जेन्टिनाविरुद्ध यही कथा दोहोरिएको छ ।

विश्वकपअघि टुखेलसँग एक पत्रकारले विदेशी प्रशिक्षकका रूपमा इंग्ल्यान्डको पहिचान परिवर्तन गर्न खोजेको हो कि भनेर सोधेका थिए । उनले भनेका थिए, ‘म पहिचान बदल्न खोजिरहेको छु भन्ने होइन । म खेलाडीलाई उनीहरूको क्षमता देखाउने वातावरण बनाउन चाहन्छु । हामी आक्रामक र अग्रसर फुटबल खेल्न सक्छौँ ।’

तर वास्तविकता फरक देखियो । आक्रामक शैलीलाई ९० मिनेटभर कायम राख्न इङ्लिस खेलाडीहरू सफल भएनन् । अन्ततः इंग्ल्यान्डमा विदेशी प्रशिक्षक आए पनि प्रायः एउटै कुरा दोहोरिन्छ । त्यो हो, खेलाडीहरू प्रशिक्षकको शैलीमा ढल्नुको सट्टा प्रशिक्षक नै बिस्तारै इङ्लिस फुटबलको पुरानै प्रवृत्तिमा ढल्न बाध्य हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप