नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
सारांश
- नेपालमा बालयौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकी अदालतले पनि दोषी ठहर गरेको छ।
- कुम्ब्सविरुद्ध आगामी अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको छ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ भदौ २४ गते कुम्ब्स र बुद्ध पुतवारलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेको थियो।
काठमाडौँ। नेपालमा बालयौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकी अदालतबाट पनि दोषी ठहर भएका छन्। अमेरिकाको संघीय अदालतले उनलाई नेपालमा गरेको सोही कसुरमा दोषी ठहर गरेको हो।
अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत कुम्ब्स दोषी ठहर भएको जानकारी सार्वजनिक गरेको छ। नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्द्धन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो।
उनी त्यसबेलादेखि नै हिरासतमै रहेका छन्। कुम्ब्सविरुद्ध आगामी अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागले जनाएको छ।
बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिन्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसारपसार गर्ने र विदेशी बालयौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो।
त्यसै क्रममा २०७३ भदौ २४ गते काठमाडौँको ठमेलस्थित याम्बु होटलबाट कुम्ब्स र उनलाई सहयोग गर्ने स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवार पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौँले २०७४ वैशाख १० गतेको फैसलाबाट कुम्ब्सलाई ९ वर्ष र पुतवारलाई ४ वर्ष कैद सजाय ठहर गरेको थियो।
अमेरिकी न्याय विभागको सूचना अनुसार कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए। ती यौनजन्य कार्यका लागि उनले बल प्रयोग गर्ने, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्नेजस्ता उपाय अपनाएका थिए।
साथै कुम्ब्सले खिचेका पीडित बालबालिकाका तस्वीरहरू उनका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ। यो अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट सहयोग प्राप्त भएको पनि अमेरिकी न्याय विभागले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण