भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
काठमाडाैँ । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ।
जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेङ्गुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कनपछि स्वीकृति प्रदान गरेको हो । मन्त्रालयका अनुसार उक्त खोप चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोगको रोकथामका लागि प्रयोग गरिनेछ ।
‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइनेछ । यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ । टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त खोपले डेङ्गु भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली सङ्घ (इयु), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ । साथै यसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को पूर्वयोग्यता (प्रि–क्वालिफिकेसन) पनि प्राप्त गरेको छ ।
हालसम्म विश्वभर दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डब्लुएचओका अनुसार विश्वको करिब आधा जनसङ्ख्या डेङ्गुको जोखिममा छ ।
प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेङ्गुबाट सङ्क्रमित हुने गरेका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेङ्गुको सङ्क्रमण उल्लेखनीय रूपमा बढेको छ।
भारतको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ यता देशमा १० लाखभन्दा बढी डेङ्गु सङ्क्रमण पुष्टि भएका छन् भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ।
यसैबीच भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेङ्गु खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ । स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिङ्गल डोज) डेङ्गु खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण