मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक

मङ्गलबार, १२ साउन २०८३, १४ : १२
मङ्गलबार, १२ साउन २०८३

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्यबारे चर्चा हुनुका साथै क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासको विषयमा कुराकानी भएको बताइएको छ ।  सो क्रममा पाण्डेले बिमस्टेकले गरेको गतिविधि तथा उपलब्धिको बारेमा समेत जानकारी गराए ।  

भेटघाटको क्रममा परराष्ट्रमन्त्री खनालले यसमा रहेका सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । बिमस्टेकलाई अझ प्रभावकारी, परिणाममुखी तथा जनमुखी  क्षेत्रीय संगठनका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्ने धारणा उनको थियो । 

बिमस्टेकका साझा उद्देश्यहरूको प्रवर्द्धन तथा बंगालको खाडी क्षेत्रलाई अझ सुदृढ, समृद्ध र परस्पर आबद्ध क्षेत्रका रूपमा विकास गर्न नेपालले पूर्ण सहयोग र समर्थन जारी राख्ने मन्त्री खनालले प्रतिबद्धता व्यक्त गरे ।

महासचिव पाण्डेले बिमस्टेकलाई प्रभावकारी, परिणाममुखी तथा कार्यमुखी क्षेत्रीय संगठनका रूपमा सुदृढ बनाउने दिशामा भएका पछिल्ला प्रगति तथा जारी प्रयासबारे जानकारी गराएका थिए । संस्थागत सुधार, बिमस्टेक चार्टर तथा बिमस्टेक भिजन दस्ताबेजको कार्यान्वयनमा भएको प्रगति, साथै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउन अघि बढाइएका प्राथमिकता प्राप्त पहलहरूबारे उनले मन्त्री खनाललाई जानकारी गराएका थिए । 

बिमस्टेकका गतिविधिमा नेपालको सक्रिय सहभागिता तथा रचनात्मक योगदानको प्रशंसा गर्दै संगठनका साझा उद्देश्यहरू प्राप्त गर्न आगामी दिनमा पनि नेपालको निरन्तर सहयोग र समर्थन रहने विश्वास उनले व्यक्त गरेका थिए । 

नेपाल सन् २००४ देखि बिमस्टेकको सदस्य राष्ट्र हो । दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाबिच बहुआयामिक प्राविधिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य राष्ट्र रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप