पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
सारांश
- पुष्पलाल स्मृति दिवसको अवसरमा उहाँको राष्ट्रिय स्वाधीनतासम्बन्धी विचारहरूको स्मरण र कार्यान्वयनको आवश्यकतामा जोड दिइएको छ।
- नेपालमा बढ्दो वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणको प्रवृत्तिको विरोधमा पुष्पलालका नीति र निर्देशनहरू आज पनि सान्दर्भिक रहेको बताइएको छ।
- पुष्पलालले तत्कालीन विभिन्न सन्धि-सम्झौता र अमेरिकी हस्तक्षेपको विरोध गर्दै स्वाभिमानी, स्वनिर्भर र प्रगतिशील राष्ट्रवादी चेतना निर्माणमा जोड दिएका थिए।
आज ४८औं पुष्पलाल स्मृति दिवस ! सामान्यतया नेपाली राजनैतिक इतिहासमै र विशेषत: नेपाली वामपन्थी कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको इतिहासमा सबैभन्दा इमान्दार, सबैभन्दा क्रान्तिकारी र सबैभन्दा स्वच्छ, निष्ठावान र नैतिकवान राजनीतिक नेतृत्व, वैचारिक व्यक्तित्व, अविचलित योद्धा र अथक अध्येताको नाम हो – पुष्पलाल ।
त्यसैले सबैभन्दा श्रद्धेय, सबैभन्दा अनुकरणीय र सबैभन्दा स्तुत्य एक अद्वितीय व्यक्तित्व नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नै नेपाली देशभक्तिपूर्ण र वाम-प्रजातान्त्रिक आन्दोलनको इतिहासका सर्वश्रेष्ठ र सर्वमान्य नेतृत्व नै हुनुहुन्छ भन्दा अत्युक्ती हुँदैन ।
उहाँले क्रान्तिकारी कम्युनिस्ट विचार, राजनीति, संगठन र संघर्षका क्षेत्रमा योगदान दिनका लागि अवलम्बन गर्नुभएका सर्वहारावर्गीय भावना, मूल्यमान्यता, जीवनशैली, संस्कार र संस्कृतिको आधारमा गर्नुभएको त्याग, तपस्या, बलिदान र कीतिमानको हार्दिक स्मरण गर्ने, तिनको आत्मसातीकरण गर्ने र कार्यान्वयन गर्नको लागि दृढ प्रतिबद्धता र कसिलो प्रतिवद्दता व्यक्त गर्ने एक ऐतिहासिक अवसर हो- आज साउन ७ गते ४८ औं पुष्पलाल स्मृती दिवस ।
यससन्दर्भमा म उहाँप्रती भित्री दिलदेखि नै हार्दिक श्रद्धासुमन र क्रान्तिकारी अभिवादन अर्पण गर्नु आफ्नो अहं कर्तव्य ठान्दछु !
साथै, आज देसमा बढ्दो, खुला र नाङ्गो वैदेशिक हस्तक्षेप र त्यसका अगाडि घुँडा टेक्दै नेपाली शासक वर्गले गर्दै आएको दलाली, गद्दारी र राष्ट्रिय आत्मसमर्पणको निकृष्ट र घृणित प्रवृत्ती र गतिविधिको यो गम्भीर, संवेदनशील र भयावह परिस्थितिमा पुष्पलाल र उहाँका विचार, भावना र कर्महरुको समुचित योगदानको स्मरण, श्रद्धा र मूल्यांकन गर्नु र सो अनुसार सही, सैद्धान्तिक र सान्दर्भिक विचार, नीति र कार्यक्रमहरुलाई गम्भीरता पूर्वक अवलम्बन गरी दृढतापूर्वक कार्यान्वयन गर्नु-गराउनु जरुरी भएको छ ।
नेपाली देशभक्त, जनवादी र क्रान्तिकारी जनता, कार्यकर्ता र नेताहरुले पुष्पलाललाई स्मरण र श्रद्धागर्नुमा उहाँका केही विशिष्ट देनहरु छन् । यसका साथै उहाँमा रहेका सिद्धान्तप्रतिको अविचल निष्ठा, नीतिप्रतिको दरिलो प्रतिबद्धता, विषयवस्तुको गहिरो अध्ययन र कार्यशैलीको सरलता, व्यावहारिक इमानदारी, कर्मप्रतिको समर्पण र क्रान्तिप्रतिको विश्वासजस्ता केही विलक्षण गुणहरु स्मरणीय र अनुकरणीय छन् ।
उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना र घोषणापत्र लेखन तथा संगठन विस्तार, सुदृढीकरण, पुनर्गठन र क्रान्तिकारीकरण एवं वर्गसंघर्ष र राजनीतिक संघर्षलाई प्रमुखताका साथ सम्पन्न गर्नुभयो । राजनीतिक शक्तिहरुको सूक्ष्म र सही विश्लेषण गर्दै राजनीतिक रणनीती र कार्यनीति ठोस गर्नुभयो । यससन्दर्भमा प्रधान दुश्मनका विरुद्ध उसका सम्पूर्ण विरोधी शक्तिहरु (गौण दुश्मनहरु) मोर्चाबद्ध भएर लड्नुपर्ने संयुक्त जनआन्दोलनको बाटोको प्रवर्तन र दिग्दर्शन लगायतका केही उल्लेख्य योगदान गर्नु भएको छ ।
यिनै योगदानहरुका कारण पुष्पलाल महान् , सदा स्मरणीय र सम्मानयोग्य हुनुहुन्छ भनी उच्च मूल्यांकन गर्न सकिन्छ । खासगरी बाह्य हस्तक्षेप र त्यसका अघि घुँडा टेक्ने राष्ट्रिय आत्मसमर्पणवाद र वर्गीय आत्मसमर्पणवादजस्ता घातक प्रवृत्तिमध्ये अहिले अत्यन्त गम्भीर, संवेदनशील र जरुरी महत्वको मुद्दा हो- बढ्दो साम्राज्यवादी हस्तक्षेप र त्यसका प्रती बिक्ने, झुक्ने र चुक्नेजस्ता राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन-प्रवृत्ती र गतिविधि । त्यसैले यससम्बन्धमा पुष्पलालका नीति, निर्णय र निर्देशन आज विशेष रुपले स्मरणीय र कार्यान्वयीय रहेका छन् । ती मुख्यतः यी हुन् :-
प्रथम, नेपालमाथी वैदेशिक हस्तक्षेप (उहाँकै शब्दमा मुख्यत: एङ्ग्लो-अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकारवाद) तथा घरेलु सामन्ती प्रतिक्रियावादी शोषण-दमन भैरहेको र यो एक गम्भीर र जटिल आधारभूत समस्या भएकोले यसका विरुद्धको संघर्ष नेपाली जनवादी क्रान्तिको लागि सम्झौताहीन, संयुक्त र सशक्त संघर्ष गर्ने विचार । यसक्रममा पुष्पलालले नेपाली समाजको मेहनतपूर्वक मिहीन रुपमा गहिरो अध्ययन गरेर लेनिनले भन्नुभएझैं ठोस स्थितिको ठोस विश्लेषण गर्ने सन्दर्भमा तत्कालीन नेपाली समाजको वैज्ञानिक, वस्तुवादी र वास्तविक वर्ग विश्लेषण गर्नु र त्यस अनुसार गर्न-गराउन आजीवन इमान्दारीपूर्वक अडिग र अथकरुपले लागिपर्नु भयो । यसदौरानमा प्रमुख दुश्मनका विरुद्धमा गौण दुश्मनहरुसँग समेत मोर्चाबद्ध भएर लड्ने र त्यसको निम्ति नेपालको विशिष्टता अनुसार संयुक्त जनआन्दोलनको बाटोबाट अघि बढ्ने राजनीतिक लाइनको प्रवर्तन गरी लागू गर्न-गराउन अविरल प्रयत्न गर्नुभयो ।
पुष्पलालले आफ्नो जीवनकालमा भए-गरेका देसी-विदेसी शोषण-दमन, हुकुम-हैकम र हस्तक्षेप-हालीमुहालीका विरुद्ध तीव्र विरोध र प्रतिरोध गर्नुभयो । यसक्रममा सन् १८१६ को सुगौलीसन्धी, १९४७ मा बृटिस-भारत र नेपालबीच सम्पन्न तृपक्षीय सम्झौता, गोरखा भर्ती केन्द्र, १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी, १९५१ को भारतीय दवावमा राणाविरोधी ठूलो आन्दोलनकारी शक्ति कम्युनिस्ट शक्तीलाई निषेध गरी भएको राजा, राणा र नेपाली कांग्रेसबीचको त्रिपक्षीय कुख्यात दिल्ली सम्झौता र त्यसयता नेपाल-भारतबीच भए-गरेका कोसी-गण्डकी लगायतका सम्पूर्ण असमानतामूलक, असम्मानजनक, अपमानजनक र अन्यायपूर्ण सम्झौताहरु तथा अमेरिकी योजनामा ल्याइएको कथित "नयाँ शिक्षा नीति २०२८" को समेत तीव्र विरोध गर्नु भएको थियो ।
उल्लेख्य छ कि यस अघि पनि नेपालमा सन् १९५१ मा अमेरिकाले ‘प्वाइन्ट फोर कार्यक्रम’ मार्फत प्राविधिक, आर्थिक र संरचनागत सुधारका क्षेत्रमा सहयोगको नाममा हस्तक्षेप बढाउन थालेको भन्दै पुष्पलालले यस कार्यक्रमलाई "अमेरिकी साम्राज्यवादको घुसपैठ" को रूपमा व्याख्या गर्दै विरोध गर्नुभएको थियो ।
यतिमात्र होइन उहाँले तिब्बत मामिलामा अमेरिकी गुप्तचर संस्था सीआईएले १९५० र ६० को दशककमा नेपालको मुस्ताङमा आफ्नो सैन्य अखडा बनाएर चीनको तिब्बतका सशस्त्र विद्रोही (खम्पा विद्रोही) हरूलाई हतियार र तालिम दिएर गरेको गुप्त सैन्य परिचालनको पनि कडा विरोध गर्दै अमेरिकी गतिविधिका कारण नेपालको असंलग्न परराष्ट्र नीति संकटमा पर्ने र छिमेकी चीनसँगको सम्बन्ध बिग्रने चेतावनी पनि तत्कालीन घरेलु प्रतिक्रियावादी नेपाली राज्यसत्तालाई दिनुभएको थियो।
यसरी नै वि.सं. २०१७ मा राजा महेन्द्रले सैन्य कु गरेर जननिर्वाचित सरकार र संसदीय प्रजातान्त्रिक व्यवस्थालाई विघटन गरी २०१९ मा पञ्चायती व्यवस्था ल्याए । त्यसपछि त्यस निरंकुश र निर्दलीय व्यवस्थालाई टिकाइराख्न अमेरिकासँग सैन्य सहायता र तालिम सहयोगका नाममा सम्झौता गरी ऊसँग आत्मसमर्पण गर्न लागेको भनी पुष्पलालले नेपाली सेनालाई विदेशी साम्राज्यवादी स्वार्थ र कम्युनिस्ट विरोधी मोर्चामा प्रयोग गर्न लागिएको भविष्यवाणी गर्दै त्यस्ता सैन्य सहायताको समेत विरोध गर्नुभयो ।
यसैगरी, नेपालमा ग्रामीण विकास, स्वास्थ्य र शिक्षाका नाममा अमेरिकी संस्थाहरूको प्रवेशलाई विदेशी गैरसरकारी संस्थामार्फत नेपालमाथिको अमेरिकी हस्तक्षेपको दृष्टिले हेर्नुभयो । उहाँले यी संस्थाहरू दुर्गम क्षेत्रका जनतामा साम्राज्यवादी सांस्कृतिक प्रभाव विस्तार गर्ने र राजनीतिक सुराकी गर्ने माध्यम बनेको आरोप नै लगाएर सख्त विरोध जनाउनुभएको थियो ।
यतिमात्र होइन, सीमान्तकृत र उपेक्षित जाती, क्षेत्र, लिङ्ग, धर्म, संस्कृतिका जन समुदायमा वैचारिक नियन्त्रण र आर्थिक-सांस्कृतिक प्रभुत्व बनाइराख्नको लागि हस्तक्षेप बढाउन अमेरिकाले नेपालका शिक्षण संस्थाहरू, पुस्तकालयहरू र सञ्चार माध्यमहरूमा लगानी गरेर पुँजीवादी तथा कम्युनिस्ट विरोधी विचार फैलाउन थालेको भन्दै उहाँले यसलाई "सांस्कृतिक साम्राज्यवादको संज्ञा दिई विरोध गर्नुमात्र भएन अपितु स्वाभिमानी, स्वनिर्भर र प्रगतिशील राष्ट्रवादी चेतना र संस्कृति निर्माणमा जोड दिनुभयो ।
मनन गरौं कि नेपालमा अमेरिकी हस्तक्षेप भैरहेको र यो निरन्तर बढिरहेकोले नेपाललाई दीर्घकालीन रुपमा गम्भीर समस्या हुने कुरालाई आजभन्दा ५०-६० बर्ष अघि नै प्रक्षेपण गर्नुभएको थियो ।
पुष्पलालले यी र यस्ता अन्य कयौं नेपाल राष्ट्र र नेपाली जनताको हकहितविरोधी राष्ट्रघाती सन्धी-सम्झौता र सहमतिहरु गर्ने वैदेशिक शक्तिहरु र तिनका सामू चुप लागेर नतमस्तक बन्ने नेपाली नामका विदेसीका दलाल र दास आदि दुवैथरी शक्ति, संघसंस्था र राज्य आदि सबैको तीव्र निन्दा-भर्त्सना र विरोध-प्रतिरोध गरिरहनुभयो । यो उहाँको निकै ठूलो अडान र योगदान थियो । यसको समुचित र निर्णायक प्रयोग गरेर सशक्त प्रतिरोध आजसम्म पनि हुन सकेको छैन ।
आज नेपालमाथि अमेरिकी लगायत भारत, बेलायत आदि सम्पूर्ण साम्राज्यवादी शक्तिराष्ट्रहरुद्वारा भैरहेको बढ्दो हस्तक्षेप प्रयास र त्यसप्रति नेपाली घरेलु प्रतिक्रियावादी शक्तिहरुले विगतदेखि नै गर्दै आएको र हाल पूर्ण आत्मसमर्पण गरेको समयमा साम्राज्यवादी हस्तक्षेप र तिनका सामू गरिएको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध नेपाल र नेपाली जनताका पक्षमा उभिने र लड्ने सम्पूर्ण देशभक्त, जनवादी/ लोकतन्त्रवादी र वामपन्थी कम्युनिस्ट क्रान्तिकारी राजनीतिक शक्ति, समूह, संघसंस्था र अभियान-आन्दोलनहरु समान विचार-आचार र लक्ष-उद्देश्यअनुसार आवश्यकता र सम्भाव्यता हेरी एकताबद्ध र मोर्चाबद्ध भएर संयुक्त प्रतिरोध आन्दोलन/युद्धको बाटोबाट राष्ट्रिय मुक्ती आन्दोलनलाई सफल पार्नु पर्ने अहिले हाम्रो सर्वोपरि जिम्मेवारी भएको छ, जुन दूरगामी महत्वको बाटोको दिग्दर्शन पुष्पलालले उहिल्यै गर्नुभएको थियो ।
त्यसैले आज साउन ७ गते उहाँको ४८ औं स्मृती दिवसका सन्दर्भमा उहाँका उपरोक विचार , विश्लेषण र संश्लेषणलाई स्मरण, अवलम्बन र कार्यान्वयन जरुरी छ । आउनुहोस् हामी यस्ता सोंच राख्ने सबै शक्तिहरु एक ठाउँमा बसेर पुष्पलाललाई सम्झौं, उहाँले देखाएको बाटोबाट अघि बढ्ने प्रणप्रतीज्ञा गरौं ।
पुष्पलालले देखाएको यही संयुक्त प्रतिरोध संघर्ष/युद्धको बाटोबाट अघि बढेर मात्र नेपाल र नेपालीलाई स्वाधीन, समतामूलक, जनअधिकारसम्पन्न, समृद्ध, शान्त र सुखी बनाउन सकिन्छ, सक्नैपर्छ र सकौं !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण