बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग

भारतसँग कूटनीतिक पहल तीव्र बनाउन आग्रह
बिहीबार, ०७ साउन २०८३, १९ : २३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई किसानको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
  • विज्ञप्तिमा 'मल गोदाममा, किसान जेलमा' भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरिएको छ।
  • कांग्रेसले नेपाल सरकार र भारत सरकार दुवैलाई किसानको रिहाइका लागि पहल गर्न आग्रह गरेको छ।

काठमाडौँ। नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको अविलम्ब रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। साथै, देशमा देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय बजारबाट खेतीका लागि आवश्यक रासायनिक मल खरिद गरेर फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

ती किसानलाई विगत करिब २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा विज्ञप्तिमा उल्लेख छ । घटना सार्वजनिक भएपछि कांग्रेसले पीडित परिवार तथा स्थानीय समुदायसँग जानकारी लिएर वास्तविकता बुझ्ने प्रयास गरेको जनाएको छ। कांग्रेसका अनुसार, दुवै किसान आफ्नै खेतमा प्रयोग गर्न दुई बोरा युरिया र डीएपी मल खरिद गर्न भारतीय सीमावर्ती बजार सोनवरसा पुगेका थिए।

कांग्रेसले बजारमा समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान सीमापारबाट मल ल्याउन बाध्य भएको उल्लेख गर्दै सरकारको आपूर्ति व्यवस्थामाथि प्रश्न उठाएको छ। विज्ञप्तिमा ‘मल गोदाममा, किसान जेलमा’ भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरिएको छ।

कांग्रेसले नेपाल सरकारलाई किसानहरूको रिहाइका लागि कूटनीतिक, कानुनी र व्यवहारिक माध्यमबाट तत्काल पहल गर्न आग्रह गरेको छ। 

साथै, भारत सरकारसँग पनि नेपाल–भारतबिचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास तथा दुई देशका नागरिकबिचको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै खेतीका लागि आवश्यक मल खरिद गर्ने क्रममा पक्राउ परेका किसानलाई मानवीय आधारमा अविलम्ब रिहा गर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा नेपाल–भारत सम्बन्ध दुई सरकारबिचको मात्र नभई दुई देशका जनताबिचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप