शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो

शुक्रबार, ०८ साउन २०८३, ०८ : ४३
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसरमा 'स्वस्थ शिशु प्रतिस्पर्धा' आयोजना गर्दैछ।
  • भदौ ११ गते हुने यस प्रतियोगितामा जन्मदेखि १ वर्षसम्मका बालबालिका सहभागी हुन सक्नेछन्।
  • सहभागीका लागि भदौ ८ गतेभित्र १०० रुपैयाँ शुल्कमा दरखास्त फाराम भर्नुपर्नेछ र शिशुहरूलाई उमेर अनुसार तीन समूहमा विभाजन गरिनेछ।

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६२औँ शिशु प्रदर्शनीको अवसर पारेर ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ। 

अस्पतालले भदौ ११ गते बिहीबार यो प्रतिस्पर्धा आयोजना गर्न लागेको हो।

प्रतियोगितामा सहभागी हुन जन्मदेखि १ वर्षसम्मका बाल-बालिकाहरूका इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेभित्र दरखास्त फाराम भरिसक्नुपर्नेछ। फारामका लागि अस्पतालको नगद काउन्टरमा फिर्ता नहुने गरी १०० रुपैयाँ शुल्क बुझाएर भौचर संलग्न गर्नुपर्नेछ। फाराम ब्लक ‘ई’ (तेस्रो तल्ला) बालरोग ओपिडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ।

प्रतिस्पर्धाका लागि शिशुहरूलाई उमेर समूह अनुसार तीन वर्गमा विभाजन गरिएको छ। जसअन्तर्गत जन्मदेखि ४५ दिनसम्मलाई समूह ‘ए’, ४६ दिनदेखि ६ महिनासम्मलाई समूह ‘बी’ र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशुहरूलाई समूह ‘सी’ मा राखिएको छ।

प्रतिस्पर्धामा पुरस्कृत हुने शिशुहरूलाई भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन पर्ने अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। थप र विस्तृत जानकारीका लागि अस्पतालको प्रशासनमा सम्पर्क राख्न सकिने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप