नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
सारांश
- परराष्ट्र मन्त्रालयले नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकेको जनाएको छ।
- नयाँ प्रणाली कार्यान्वयनका क्रममा देखिएका केही प्राविधिक समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको छ।
- छापिएका राहदानीहरू शीघ्र पुर्याउन हुलाक विभागसँग कार्य सम्झौता गरिएको छ।
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराएका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ। २०८३ असार २९ देखि सुरु भएको नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ। हाल राहदानी विभागसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू देखिएको स्वीकार गर्दै प्रवक्ता क्षेत्रीले ती समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको बताए। छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शीघ्र पुर्याउन मन्त्रालयले हुलाक विभागसँग कार्य सम्झौता गरिसकेको छ। यस व्यवस्थाले राहदानी वितरण प्रक्रियामा हुने ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको उनले बताए।
पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीले भने, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय तथा मातहतको राहदानी विभाग प्रतिबद्ध छन्।’
२०८३ असार २९ देखि नयाँ प्रणालीमार्फत आवेदन लिई राहदानी जारी गर्ने सेवा सञ्चालनमा आएको उल्लेख गर्दै उनले भने, ‘हाल नयाँ प्रणालीमार्फत राहदानी विभाग, सबै ७७ जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोग र थप ८ नियोगबाट कुनै पनि समयमा दर्ता गर्न सकिने व्यवस्था गरी सेवा सुचारु गरिएको छ।’
नयाँ प्रणाली सञ्चालनका क्रममा देखिएका केही प्राविधिक समस्या अपेक्षित नै रहेको बताउँदै उनले थपे, ‘ती समस्याको समाधान सम्बन्धित प्राविधिक टोलीबाट निरन्तर भइरहेको छ र राहदानी सेवा छिट्टै पूर्ण रूपमा सहज र नियमित हुने अपेक्षा गरिएको छ। यस विषयमा यहाँहरूले गर्नुभएको सकारात्मक समाचार सम्प्रेषण र प्रचारप्रसारका लागि हार्दिक आभार व्यक्त गर्दछौँ।’
छापिएका राहदानी शीघ्र पुर्याउने तयारीबारे जानकारी दिँदै उनले भने, ‘छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ।’
मन्त्रालयले राहदानी सेवामा थप सरलीकरण गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी समेत दिएको छ। यसअघि स्थायी ठेगाना भएका जिल्ला वा काठमाडौंबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई थप सहज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण