युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
सारांश
- युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजमाथि आक्रमण गरेपछि इरानले दिएको धम्कीलाई अस्वीकार गरेको छ ।
- युक्रेनका विदेशमन्त्रीले इरानले रुसलाई हतियार उपलब्ध गराएर युक्रेनविरुद्धको आक्रमणमा सहयोग गरेको आरोप लगाएका छन् ।
- इरानले उक्त आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भन्दै जवाफ दिने चेतावनी दिएको छ ।
तेहरान । युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित क्षेत्रीय तनावबिच पहिलो प्रत्यक्ष सम्बन्ध स्थापित गरेको मानिएको छ ।
युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समार्फत इरानका धम्कीहरू निराधार र अनुचित भएको बताएका छन् । उनका अनुसार तेहरानले सन २०२२ देखि रुसलाई हतियार उपलब्ध गराएर युक्रेनविरुद्धको आक्रमणमा प्रत्यक्ष सहयोग गर्दै आएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार क्यास्पियन सागर क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण अत्यन्त सफल भएको बताएका थिए । उनले इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूलाई पनि निशाना बनाइएको जानकारी दिएका थिए । युक्रेनको सुरक्षा सेवा एसबीयूका अनुसार ड्रोन आक्रमणबाट उत्तरी क्यास्पियन सागरस्थित एक तेल प्लेटफर्म, रुसी क्षेप्यास्त्र डुङ्गा तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका सैन्य सामान बोक्ने मालवाहक जहाजहरूमा क्षति पुगेको छ ।
रुसका लागि इरानी राजदूत काजेम जलालीका अनुसार आक्रमणको समयमा अन्ना नामक जहाज भोल्गा नदीको मुखबाट करिब पाँच किलोमिटर टाढा लंगर हालेर बसेको थियो । इजरायलका लागि युक्रेनका राजदूत येभहेन कोर्नियचुकले उक्त जहाजले सर्वसाधारणका लागि सामान नभई इरानबाट रुसतर्फ ड्रोन र क्षेप्यास्त्रका पुर्जाहरू ढुवानी गरिरहेको दाबी गरेका छन् ।
इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले युक्रेन र इजरायलले फरक–फरक मोर्चामा एउटै दुष्ट गठबन्धनको सामना गरिरहेको बताए । रुस र इरानबीच पछिल्ला वर्षहरूमा घनिष्ठ सैन्य सम्बन्ध कायम छ । इरानले सन २०२२ देखि आफ्नै उत्पादनका शाहेद ड्रोनहरू रुसलाई उपलब्ध गराउन थालेको थियो । ती ड्रोनलाई परिमार्जन गरेर रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गर्दै आएको छ । जेलेन्स्कीले हालैको एक अन्तर्वार्तामा इरानले रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराउने तयारी गरिरहेको दाबी गरेका थिए । विभिन्न प्रतिवेदनअनुसार छोटो दूरीका क्षेप्यास्त्र भने सन २०२४ देखि नै रुसलाई आपूर्ति हुन थालेका थिए ।
उता युक्रेनले पनि पछिल्ला महिनाहरूमा केही खाडी राष्ट्रहरूमा आफ्ना सैन्य विज्ञहरू पठाएर इरानी ड्रोन आक्रमणविरुद्ध सुरक्षा क्षमता बढाउन सहयोग गरिरहेको जनाएको छ । क्यास्पियन सागर रुस र इरानबिचको अत्यन्त महत्त्वपूर्ण सैन्य तथा आपूर्ति मार्ग मानिन्छ । युक्रेनले लामो समयदेखि इरानले उपलब्ध गराएका ड्रोनका कारण सयौँ युक्रेनी नागरिक मारिएको आरोप लगाउँदै आएको थियो । तर इरानी जहाजलाई प्रत्यक्ष रूपमा निशाना बनाएको यो पहिलो घटना मानिएको छ ।
आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदै एक नाविकको मृत्यु भएको र अन्य केही घाइते भएको जनाएको छ । इरानको विदेश मन्त्रालयले आफूले रुस–युक्रेन युद्धमा कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले उक्त आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको खुला उल्लङ्घन भएको आरोप लगाएका छन् । उनका अनुसार यो हमला इजरायलको उक्साहटमा युरोपलाई युद्धमा तान्ने उद्देश्यले गरिएको हो। उनले यस घटनाको जवाफ अवश्य दिइने चेतावनी पनि दिएका छन् ।
यसको जवाफमा युक्रेनका विदेशमन्त्री सिबिहाले अराघचीको अभिव्यक्तिलाई इरानी झूटको संज्ञा दिएका छन् । साथै उनले इरानले युक्रेनी बन्दरगाहबाट अन्न बोकेर गइरहेका जहाजमाथि रुसले गरिरहेका आक्रमणबाट विश्वको ध्यान मोड्न खोजेको आरोप पनि लगाए ।
युक्रेनले पछिल्ला महिनाहरूमा रुसको तथाकथित छद्म नामधारी तेल ट्यांकरहरूको सञ्जालका ट््याङ्करलाई पनि निरन्तर निशाना बनाइरहेको छ । तेल भण्डारण केन्द्र र अन्य रणनीतिक पूर्वाधारमाथिका लामो दूरीका आक्रमणमार्फत रुसको आर्थिक स्रोत कमजोर बनाउने अभियानलाई राष्ट्रपति जेलेन्स्कीले लामो दूरीको प्रतिबन्ध अभियानको नाम दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
-
मुख्य मागमा छैन सहमति, डा. केसीलाई सत्तापक्षीय सांसदको थुमथुम्याइ
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण