बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
मकवानपुर। बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले प्रदेशको स्थायी संरचना निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउन निर्देशन दिएकी छन् ।
हेटौँडा उपमहानगरपालिका–१६ र १७ स्थित प्रस्तावित प्रादेशिक संरचना निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री रायमाझीले काममा ढिलासुस्ती नगर्न र कार्यान्वयन प्रक्रियामा तीव्रता दिन निर्देशन दिएकी हुन् ।
निरीक्षणका क्रममा मन्त्री रायमाझीले संरचना निर्माण हुने जग्गामा रहेका रुख कटानको कामलाई प्राथमिकतामा राख्न निर्देशन दिइन् । मन्त्रालयका अनुसार रुख कटानका लागि आवश्यक सम्झौता भइसकेको छ र केही दिनभित्रै रुख कटानको काम सुरु गर्न निर्देशन दिइएको छ । मन्त्री रायमाझीले रुख कटान प्रक्रियासँगै खरिद (टेन्डर) प्रक्रियालाई पनि समानान्तर रूपमा अगाडि बढाउन निर्देशन दिएकी छन् ।
‘प्रादेशिक संरचना निर्माणमा सरकार र मन्त्रालय अहिले पूर्ण तयारीको अवस्थामा छ । कुनै पनि कानुनी वा प्राविधिक समस्या छैन भने अब डिजाइनअनुसारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्छ । रुख कटानले खरिद प्रक्रियालाई रोक्दैन । दुवै काम समानान्तर रूपमा अघि बढाउन सकिन्छ । सोहीअनुसार कामलाई समानान्तर रूपमा लैजानुपर्छ,’ मन्त्री रायमाझीले भनिन् ।
राजनीतिक अस्थिरता र सरकार गठनका चर्चाबिच पनि मन्त्री रायमाझीले विकासका काम नरोक्न आग्रह गरिन् । उनले आयोजना स्थलको अवस्था र आगामी कार्ययोजनाबारे कर्मचारीसँग विस्तृत छलफलसमेत गरिन् ।
रुख कटानको काम सम्पन्न गर्न करिब एक महिना लाग्ने अनुमान गरिए पनि सोही अवधिमा टेन्डर प्रक्रियाका काम पनि अघि बढाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता भुपेन्द्र यादवका अनुसार प्रादेशिक संरचना निर्माणका लागि मंगलबार मात्रै रुख कटानका लागि डिभिजन वन कार्यालय मकवानपुरसँग मन्त्रालयले सम्झौता गरेको छ ।
प्रदेश सरकार गठन भएको सात वर्षपछि आफ्नै स्थायी प्रशासनिक भवन निर्माणका लागि हेटौँडा–१६ र १७ को सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने अनुमति पाएसँगै रुख कटानका लागि जेठमै छपान कार्य सम्पन्न गरिएको थियो ।
प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ र १७ मा रहेको ३१.२ हेक्टर सामुदायिक वन क्षेत्र प्रशासनिक भवन निर्माणका लागि प्रयोग गर्न पाउने गरी गत चैतमा सङ्घीय सरकारबाट भोगाधिकार प्राप्त गरेको थियो ।
२०८२ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सरकारले भोगाधिकारस्वरूप २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्र तथा ३.४५ हेक्टर विद्यालय र सार्वजनिक जग्गा प्राप्त गरेको थियो । उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका ५ हजार २२६ वटा रुख हटाउन वन विभागले अनुमति दिइसकेको छ । मन्त्रालयले ५ हजार २२६ वटा रुख कटानबापत ३ करोड ४१ लाख रुपैयाँ वन विकास कोषमा जम्मा गरिसकेको छ ।
प्रादेशिक संरचना निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अनुसार संरचना निर्माणका क्रममा ५ हजार २२६ वटा रुख काटिनेछन् । तीमध्ये सबैभन्दा बढी २ हजार ३७२ वटा सिसौ र १ हजार ९३७ वटा खोटे सल्लाका रुख छन् । रुख कटानबाट करिब १ हजार ६४३ घनमिटर काठ र १ हजार ६४२ घनमिटर दाउरा उत्पादन हुने अनुमान छ ।
प्रदेश सरकारले एकीकृत प्रादेशिक संरचना, प्रदेशसभा भवन र आवास निर्माणका लागि आर्थिक वर्ष २०८३/८४ मा ५६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा मन्त्रालयका भवन, प्रदेशसभा भवन, सुरक्षा निकायका कार्यालय, लोकसेवा आयोग, नीति तथा योजना आयोग, बैंक, क्याफेटेरिया र शिशु स्याहार केन्द्रसहित २५ वटा आधुनिक संरचना निर्माण गर्ने गरी ईआईए गरिएको छ।
प्रदेश सरकारको प्रशासनिक भवन बन्ने स्थान हेटौँडा बजारबाट करिब ११ किलोमिटर पूर्वमा पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण