पुस्तक अंश : को मनीषा ?
नबराज बराल
मेरो बोली सुन्नासाथ भुट्दै गरेको मकैझैं पड्किन थाल्यो ऊ । मानौं, मैले उसको इज्जतमै आँच आउने कुरा गरें । रिसाउँदै भन्यो— “त्यसो भए सरकारमार्फत नै जानुस् न त ! किन आको यता ? हाम्रो अफिस नाथे सरकारको निर्णय कार्यान्वयन गर्न बसेको हैन, बुझ्नुभो ? सरकारका कुरै नगर्नुस्, यी ‘मुले’ भत्तुवा नेतालाई पाल्दिने नै हामी हो । तपाईंसँग नउठाएर आफ्नो घरखेत बेचेर खुसी पार्नु त तिन्लाई ? कुन
नेताको मुखमा कति नोटले बुझो लगाइयाछ, हेर्नुहुन्छ तपाईं ?”
हराएको वस्तु खोजेझैं टेबलको घर्राभित्र खोतल्दै चेतावनी दियो—
“मन लागे जानुस्, नलागे नजानुस् !”
म एकछिन भित्तातिर हेरेर बसें नबोली । कोठाका भित्ता ठूला नेताबाट ऊ सम्मानित हुँदाका तस्बिरले भरिएका थिए । ऊ सुपारी चपाउँदै कम्प्युटरमै व्यस्त हुन थाल्यो । प्राइभेट कम्पनीको मालिकलाई मजदुरले झैं अनुरोध गरें— “अलि कम गर्दिनुस् न सर !”
रिस शान्त भएझैं तत्कालै सोध्यो— “कति कम गराइदिऊँ, भन्नुस् न त ?”
डर मान्दै अपेक्षा सुनाएँ— “७०–८० सम्म गरिदिनुस् न !”
फाइनल कुरा गरेझै उसले भन्यो— “ल ठीकै छ, त्यसो भए एक लाखसम्ममा मिलाइदिउँला !” चोरीऔंलो ठड्याएर आँखा जुधाउँदै बोल्यो— “एक लाखभन्दा एक रूप्पे पनि कम हुँदैन !”
म्यानपावरबाट निस्कनेबित्तिकै निकै पुरानो स्मृति ताजा बन्यो । कुनै बेला ठूलो आस गरेको र पछि आस मारेको मान्छे हो ऊ । छोटो कपालमा ‘ग्रन्च’ पाइन्ट र पहेंलो टी–सर्ट लाएकी ऊ मनीषा नै हो भनेर ठम्याउन मलाई बेरै लागेन । अनि एक सुरमा हिँडेकी मनीषालाई मैले पछाडिबाट बोलाएँ— “ए मनीषा ! मनीषा...!”
दोस्रो पटकमा मात्रै फर्केर हेरी उसले र मलाई देखेपछि टक्क अडिई । कन्फर्म गर्न मैले फेरि सोधें— “तपाईं मनीषा हैन ?”
“को मनीषा ? म त ममता हो ।”
मैले आफूलाई चिनाउने प्रयासमा सोझैं भनें— “तपाईं र मैले तनहुँको ढोरफिर्दीमा दोहोरी गाए जस्तो लाग्छ, हैन ?”
खिस्स दाँत देखाउँदै भनी— “हो भिनाजु, हो ।”
“अनि किन मनीषा हैन भनेको त ? कता हिँडेको तिमी ? कहिले आएको काठमाडौं ?” मैले प्रश्नैप्रश्न गरें ।
“म अहिले मनीषाबाट फेरिएर ममता भएकी छु । अनि विदेश जाउँ कि भनेर मेनपावर अफिसतिर बुझ्दै हिँडेको । धेरै भो काठमाडौं आएको त !”
ऊ सडकको कुनातर्फ लागी र बिजुलीको पोलमा अढेस लाउँदै बोली— “एक महिना जेल, एक महिना होटेल ! दुई महिना भयो आको ।”
उसको कुराले अचम्ममा परें— ‘एक महिना जेल, एक महिना होटेल ।’ निकै खुलदुली बढाएपछि सोधिहालें— “किन बसेको जेल ? कहाँको कुन होटेल ? किन नाम फेरेको ? क्लिअर बताउ न !”
उसले केही सामान हराएर खोज्न थालेझैं भुइँतिर हेरी र खुट्टाले माटो चलाउँदै बोली— “भेना, म अभागी मान्छेको बारेमा तपाईंलाई के थाहा ! मेरो पुर्पुरोमा त भावीले नराम्रै मात्रै लेखिदिएको रैछ । के भनौं खै तपाईंलाई !”
सम्झाउँदै उसैको बारेमा जान्ने चाहनामा भनें— “भन न भन, के भो ? सबैलाई यस्तै हो, जे भए पनि मन नदुखाऊ । यो संसार नै एउटा ‘थिएटर’ हो, हामी यसका कलाकार । मलाई पनि कहिलेकाहीँ त अदृश्य शक्तिको निर्देशनमा हामी नाटक खेलिरहेछौं जस्तो लाग्छ । हेर न, तिम्रो र मेरो भेट पनि नाटकीय नै भयो !”
बिरामीले रोगको लक्षण बताएझैं उसले आफ्नै अतीत कोट्याई— “मेरा बाआमा सानैमा बित्नुभो । बा बितेको त याद छैन तर आमा म स्कुल जान थालेपछि बित्नुभएको हो । आमालाई मलामीले लगेपछि मैले रूँदै पछ्याएको अभैm सम्झन्छु । मेरो निधारको यो खत त्यति बेलै लड्दाखेरिको हो । त्यसपछि म काकाकहाँ बसें र रूँदैरूँदै हुर्किएँ । काकीले कहिल्यै राम्रो नजरले हेरिनन् । ‘के समस्या छ’ भनेर सोध्ने मेरो कोही थिएन । काका त माया गर्थे तर घरमा उनको केही चल्दैन्थ्यो, काकीको एकलौटी हकडक थियो ।
म १४ वर्ष हुँदै काकीले मेरो इच्छा विपरीत बिहेको निर्णय सुनाइन्, काकाको त कुरै भएन । उनकी भाउजू बितेको महिनादिन पनि पुगेको थिएन, ‘छोराछोरी र सम्पत्ति तैंले नै धान्नुपर्छ’ भन्दै उनका दाजुसँग जबर्जस्ती बिहे गराइन् । तपाईं जन्ती आउनुभाथ्यो नि, त्यसको दुई महिनापछि होला ! देख्तैमा नराम्रो, ५६ वर्ष भैसकेको बूढो, त्यहीमाथि मायादया केही नभएको रैछ मान्छे । राति अबेर रक्सीले मातेर आउँथ्यो, मेरो इच्छाविपरीत मलाई गिजोल्थ्यो । मैले इन्कार गरेपछि पिट्थ्यो र ढोका लगाएर भित्रै थुनिदिन्थ्यो । धेरै रात कोठाभित्रै दिसापिसाब गर्न बाध्य भएँ । अनि, बस्न नसकेर म तिन महिनापछि नै भागेर पोखरा गएँ । त्यसपछि मेरो नयाँ जीवन सुरू भयो, मैले नाम फेरेर मनु बनाएँ ।
बाँच्नका लागि काम गर्नै पथ्र्यो । काम खोज्ने क्रममा भेटिएकी एउटी महिलाले आफ्नै रेस्टुराँमा काम दिइन् । एक–दुई महिनापछि थाहा भयो, उनको दोहोरी साँझ पनि रहेछ । पछिपछि उनले मलाई पनि दोहोरी साँझमा काम लगाउन थालिन् । त्यहाँ बस्ता पनि मैले दुव्र्यवहार सहनुप¥यो । ठूलाबडा आउँथे र मदिराको नशामा आफ्नो खास रुप देखाउँथे । नेताहरुधरी ठूलो रकमको अफर गर्दै मेरो रातको समय किन्न खोज्थे । बसदेखि देशको स्टेरिङ समाउनेसम्म रात बिताउन फकाउँथे । फोन नम्बर माग्थे, नदिए रिसाउँदै म्यानेजरसँग कम्प्लेन गर्थे । हाम्रो समाजले कति कमायो भनेर हेर्दो रैछ भेना, कसरी कमायो ? यतातर्फ सोच्तो रहेनछ । गल्ती लुकाउन नसक्नेहरु मात्रै अपराधी बन्दा रहेछन् ।
मलाई त्यहाँ काम गर्नै मन लागेन । दोहोरी साँझमै काम गर्ने केटीको सहयोगमा म औद्योगिक क्षेत्रभित्र पुगें चाउचाउ कम्पनीमा काम गर्न । काम र कमाइ ठीकै थियो, ‘ओटीसोटी’ गर्दा राम्रै हुन्थ्यो तलब । त्यहाँ पनि मजदुर नेताहरुले तलब बढाउन आन्दोलन गर्न लगाए । पछि साहुसँग पैसा लिएर सहमति गरेछन् । साहु रिसाएर धेरैलाई जागिरबाट निकाल्यो र नयाँ कामदार भर्ना ग¥यो । मेरो त जाने ठाउँ कहीँ थिएन, त्यही साथीसँग उसको मामाघर बुटवल गएँ । बुटवलमा पनि आपूmलाई पोखराको नामले चिनाउन मन लागेन, नाम फेरेर मन्जु बनाएँ ।
हप्तादिनजति खोज्दै हिँडेपछि ट्रान्सपोर्टको काम पाएँ । साहुले बोराभरि सामान हालिदिन्थ्यो, मैले गाडीमा हालेर काठमाडौंसम्म ल्याएर एउटा ग्यारेजमा छोडिदिनुपथ्र्यो । तिन महिनापछि थानकोटको चेकिङमा म पक्राउ परें । मैले ल्याएको बोरामा लागूऔषध रहेछ । मैले पुलिससँग सबै कुरा बताएँ तर पत्याएनन् । त्यति बेला पनि मैले आफ्नो परिचय फेरें र पुलिससँग आफ्नो नाम ममता भएको बताएँ ।
२२–२३ दिनसम्म थुने । लिफ्टको जमनाको साहु, हामीभैmँ दुःख गरेर कहाँ सिँढी उक्लोस् ! इल्लिगल स्विच दबाएर सोझैं धेरै तलामाथि पुग्दो रहेछ । मलाई के थाहा ? बेकारमा फसें । जीवन पनि रेगुलेटर बिग्रेको ग्यास जस्तै भयो, खतरै खतरा !
त्यसपछि पुलिसले अदालतमा बुझायो । अदालतमा सबै कुरा जस्ताको तस्तै भनेपछि मलाई तारिखमा छोडे । त्यही दिनदेखि सुन्धारातिर काम खोज्दै हिँडें । हिमचुली गेस्ट हाउसमा काम पाएँ र गर्न थालें । अहिले पनि त्यहीँ काम गरिराछु । तर, राम्रो ठाउँ मिल्यो भने विदेश जान्छु र पैसा ल्याएर समाजसेवा गर्छु भन्ने लागिराछ । म अब नक्कली नामले होइन, ‘मनीषा’ ले चिनिन चाहन्छु । मलाई काकाको असाध्यै माया लाग्छ । मेरो भन्नु उनी मात्रै हुन् । मैले काकी र काकीको दाइसँग भने बदला लिनै पर्छ । म उहिल्यै मरिसक्थें भेना, बदला लिन मात्रै बाँचेकी छु । त्यसैले आज साहुसँग बिदा मागेर बुझ्न आएको यतातिर ।”
ऊ ठूलै गल्ती गरेझैं जिब्रो काट्तै बोली— “मैले त आफ्नो सबैकुरा भन्देछु । हजुरको बारेमा पनि भन्नुस् न भेना मिल्ने भए ।”
मलाई उसको कठिन भोगाइ र परिस्थितिसँगको जुधाइले चिन्तित बनाइरहेको थियो । म आफ्नो बारेमा बताउनेभन्दा उसैको बारेमा थप सुन्न र बुझ्न चाहन्थें । मैले जन्ती जाँदा भेटेकी र दोहोरी गाउँदै नाचेकी मनीषालाई सम्झिएँ । एउटै मान्छे मनीषाबाट मनु, मञ्जु र ममता हुनुपर्ने बाध्यताले मलाई निराश बनाइरहेको थियो । तर, मनमा एउटा जिज्ञासा आइहाल्यो— “जन्तीबाट फर्केपछि अर्को हप्ता मैले फोन गरेको याद छ तिमीलाई ?”
“किन नहुनु नि ! म पनि तपाईंसँग कुरा गर्न चाहन्थें तर काकी सँगै थिइन् । केटाको फोन आयो भनेर मलाई सुन्नै नसक्ने गाली गरिन् । मलाई सबै याद छ नि त्यति बेलाको !” ऊ लजाउँदै बोली ।
कहानी सुनेर ऊप्रतिको दया सालिम्मोभैmँ पलायो कलकलाउँदो । म आफ्नै समस्याको भारीले थिचिँदै थिएँ । ऊ उभिएरै आफ्नो कहानी सुनाइरहेकी थिई । मैले नजिकैको चिया पसलमा जान अनुरोध गरें र आफ्नो व्यथा पनि पोखें । अनि गिज्याउँदै भनें— “मेरो जीवनमा कजनाभन्दा तिमी धेरै पहिला आएकी हौ तर अहिले तिमी कजनाभन्दा धेरै पछि परिसक्यौ ।”
मुस्कुराउँदै भनी— “गति बढाएर म भेट्टाउन पनि चाहन्नँ । किनकि सच्चा प्रेमको बाटो एकतर्फी हुन्छ । अगाडि बढ्न मिल्छ, पछाडि फर्कन मिल्दैन । अनि, तपाईं अविवाहित म अर्धविवाहित ! मैले मानसिक रुपमा आजसम्म बिहे गरेकी छैन तर सामाजिक संस्कार अनुसार म अविवाहित होइन । यो समाजले घर बिग्रेको कारण खोज्दैन, महिलालाई ‘बिग्रेकी आइमाई’ भन्ने दोष लगाएर पुरूषलाई सुनपानीले छर्किदिन्छ ।”
उसले आझैंलाई हेपेपछि रोक्तै भनें— “म गलत नियतसँग सम्झौता गर्दिनँ तर बाध्यतात्मक परिस्थिति राम्ररी बुझ्छु । यदि, कजनासँग मेरो निकटता हुँदैनथ्यो भने तिम्रो विगतले मलाई बन्धनमा राख्तैनथ्यो ।”
आँखा जुधाउँदै भनी— “मलाई तपाईंको हुन त लेखेकै रैन्छ । कति ठक्कर खानुपर्ने हो खप्परले अझैं । धन्न यतिका वर्षपछि तपाईंलाई देख्न र बोल्न पाएँ । आज एकदमै खुसी लाग्यो भेना !”
ठक्कर खाँदाखाँदै ऊ अनुभवी भइसकेकी रहिछे । उसको पीडा क्यान्सरझैंबढ्दै थियो । आफ्नै हालत खराब भए पनि मैले उसलाई सम्झाएँ— “पीडा दिने अतीत भुलिदेउ मनीषा । अब, बाँकी जीवनबारे सोच्न थाल । समाजमा सबै खराब र सबै असल हुँदैनन् । मान्छे जन्मदैमा खराब र असल हुने पनि होइन, हुर्कंदाको परिवेशले ऊ कस्तो बन्ने भन्ने निर्धारण हुन्छ । खराब आचरण मान्छेका बाध्यताको उपज र वितृष्णाको बिम्ब पनि हुन सक्छ । हरेक व्यक्ति आफैमा समाजको प्रतिबिम्ब हो ।”
गफ नसकिँदै उसलाई होटलबाट फोन आयो । मेरो हातमा कार्ड दिँदै बिदा मागी— “फुर्सद मिले आउनुहोला भेना, हाम्रो साहु पनि तपाईंकै घरतिरका हुन्, चिनजान हुन्छ । नमरी बाँचे, कालले साँचे फेरि भेटौंला नि...!”
पत्रकार बरालको हालै प्रकाशित उपन्यास ‘नाम’बाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण