बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोदीसँग ओलीको आग्रह– अरु देशको तुलनामा फरक व्यवहार होस्

सोमबार, २४ जेठ २०७८, १९ : ४४
सोमबार, २४ जेठ २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अरु देशको तुलनामा नेपालसँग फरक व्यवहार गर्न आग्रह गरेका छन् । बीबीसीको हिन्दी अनलाइन संस्करणले ओलीसँगको संक्षिप्त अन्तरवार्ता प्रकाशित गरेको छ, जसमा ओलीले भारतीय समकक्षीसँग यस्तो आग्रह गरेका हुन् । कोरोना संक्रमण र भारतबाट प्राप्त सहयोगका साथै वर्तमान सम्बन्धका बारेमा केन्द्रित रहेर बीबीसीले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेको हो ।

प्रस्तुत छ, अन्तरवार्ताको अनुवादित अंश

कोरोना महामारीका क्रममा नेपाल निकै कठिन समय देखेको छ, के भारतले तपाईलाई त्यति नै मद्दत गर्यो, जति गर्नु पर्दथ्यो ?

– त्यसो त मलाई कुनै नकारात्मक कुरा गर्नु छैन । फेरि पनि, हुन सक्छ कि अदालतको फैसला वा खोपको कमीका कारणले होस्, भारतमा पनि संक्रमणको उस्तै लहर थियो, त्यस कारणले पनि हुनसक्छ ।

तर हामी यसरी सोचिरहेका छौं कि हामीले जति मद्दत पाउनु पर्थ्यो... एउटा छिमेकी..., जसको सम्बन्ध यसरी जोडिएको छ, कि भारतमा यदि कोभिड नियन्त्रण भयो र नेपालमा भएन भने भारतमा नियन्त्रण हुनुको अर्थ रहँदैन । यो पनि ‘ट्रान्समिसन’ भइहाल्छ ।

हामीले सीमा बन्द गर्ने हो भने पनि यो रोकिँदैन । किनकि स्थानीय मानिसका दुवैतर्फ नातेदार छन् । यति छिमेकमा रहन्छन् कि उनीहरुको बसोबास सँगसँगै हुन्छ । यस्तो सम्बन्धलाई हामी चाहेर पनि रोक्न सक्दैनौं ।

हामीले यति मद्दत पाउनु पर्थ्यो.. यो भारतका हितका लागि पनि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीका लागि तपाईको के सन्देश छ ?

म प्रधानमन्त्री नरेन्द्र मोदीसँग निवेदन गर्दछु कि अरु देशको तुलनामा फरक व्यवहार गर्नुहोस् । हामी छिमेकी हौं । हाम्रो सीमाना खुला छ र आवागमन छ । यदि दुई देशका बीचमा पहाड हुन्थ्यो भने सीमा खुला हुनका बाबजुद आउजाउ गर्न मुस्किल हुन्थ्यो । तर दुवैतर्फ खेतबारी छ । एउटा घर सीमाको वारी छ भने अर्को घर सीमा पारी छ । त्यहाँका मानिस हरेक कुराका लागि आउजाउ गर्दछन् ।

त्यसैले यी सब कुरालाई ध्यानमा राख्नुहोस् । हाम्रो मित्रतापूर्ण सम्बन्ध छ, त्यसलाई पनि ध्यानमा राख्नुहोस् ।

भारतले हामीलाई पूर्ण रुपमा मद्दत गर्नुपर्छ । म यो भनिरहेको छैन कि भारतले हामीलाई मद्दत गरेको छैन । हामीले लिक्विड अक्सिजन र औषधि, धेरै कुरा भारतबाट ल्याएका छौं । भारत सहयोग गरिरहेको छ । सबैभन्दा पहिला हामीलाई खोप दिएकोमा पनि म भारतलाई धन्यवाद दिन्छु ।

के नेपालमाथि अब चीनको प्रभाव बढी छ, किनकि कोरोना महामारीमा चीन तपाईहरुलाई मद्दत गरिरहेको छ ?

यसमा राजनीतिलाई बीचमा ल्याउन जरुरी छैन । यसमा कसैको प्रभावको कुनै कुरा छैन । भारतले खोप दिन्छ, चीनले दिन्छ, अमेरिकाले दिन्छ, ब्रिटेनले दिन्छ । जसले दिन्छ, ठिक छ । यो खोपको मामिला हो, राजनीतिको मामिला होइन । त्यसैले यसमा राजनीति गर्नु हुँदैन । हामी दुवै छिमेकीलाई धेरैधेरै धन्यवाद दिन्छौं किनकि एउटाले हामीलाई १८ लाख खोप दियो भने अर्कोले २० लाख । दुवैबाट मद्दत प्राप्त भइरहेको छ । दुवै मुलुकबाट स्वास्थ्य उपकरण प्राप्त भइरहेको छ । त्यसैले दुवै मुलुकलाई धन्यवाद दिन्छौं ।

विगत ६ वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदी र तपाईबीच केही मनमुटाव देखियो, आजको मितिसम्म नेपालको भारतसँगको सम्बन्धमा तपाईको मत के छ ?

एक त मलाई लाग्छ, हामी छिमेकी हौं त्यसैले समस्या भइरहन्छ । समस्या किन पैदा हुन्छ ? चिली र अर्जेन्टिनाका मानिससँग न प्रेम न घृणाको सम्बन्ध छ । अचेल फेसबुकको जमाना छ । त्यसबाट केही यताउता हुन पनि सक्छ तर त्यसको सम्भावना धेरै कम हुन्छ । हामीलाई त्यहाँ जानु पनि छैन र उताका मानिसलाई यहाँ आउनु पनि छैन । न प्रेमको न घृणाको सम्बन्ध छ । जब छिमेकको कुरा आउँछ, त्यहाँ प्रेम र समस्या पैदा भइरहन्छ ।

त्यसो भए प्रेम अब समस्यामा परिवर्तन भएको हो ?

कहिलेकाहीँ भ्रम पनि पैदा भएको थियो । अब भ्रम हटिसकेको छ । त्यसमै अल्झिरहन हुँदैन । भविष्यलाई हेरेर अघि बढ्नुपर्छ । हामीले नकारात्मक पक्षलाई होइन, सकारात्मक पक्षलाई अघि बढाउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप