बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ब्याटल कास्की–२ : ठूलादेखि सानापार्टी सम्मको ‘च्याँखे दाउ’, को बन्ला रवीन्द्रको उत्तराधिकारी ?

बिहीबार, ०७ कात्तिक २०७६, १४ : १९
बिहीबार, ०७ कात्तिक २०७६

पोखरा । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको सरगर्मी कास्कीमा ह्वात्तै बढेको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि ठूलादेखि साना पार्टीका नेताहरु ‘च्याँखे दाउ’ मा व्यस्त छन् ।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि उम्मेदवार घोषणा ग¥यो । दुई महिना अघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीले चुनावी प्रतिबद्धतासँगै देश विकासका लागि मनैदेखि सोचेर अघि बढेको बताएकी छन् । 

अघिल्लो चुनावमा भारी मतान्तरले पराजित बने पनि साझाले हिम्मत हारेको देखिन्न । अरु पार्टीले चुनावी अभियान नथाल्दै साझा पार्टी चुनावी मैदानमा उत्रिसकेको छ । ‘मतान्तर बढी छ । तर, असम्भव छैन,’ उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै साझा पार्टीका संयोजक मिश्रले भने, ‘चुनाव जित्छौं भन्ने कन्फिडेन्स छ ।’

साझाले कास्कीबाट आफ्नो विजयको सन्देश दिने दाबीसमेत गरेको छ । कास्की–२ मा चुनावी अभियानमा अन्य दललाई उछिनेको साझा पार्टीले अरु ठाउँबाट उम्मेदवारी दिने छैन । उपनिर्वाचनसँगै साझा पार्टीले पहिलोपटक प्रतिनिधिसभामा सहभागी हुने आशा लिएको संयोजक मिश्रले सुनाए । 

उम्मेदवार रजनी साझाकी प्रभावशाली नेतृ भएर पनि होला, साझाले कास्की–२ मा आफूलाई अब्बल ठानेको छ । ‘जित्ने आधार प्रशस्त छन्,’ संयोजक मिश्र दाबीका साथ भन्छन्, ‘जित्नका लागि नै चुनाव लड्दै छौं ।’ 
बुधबार उम्मेदवार घोषणा गरेसँगै साझा पार्टी उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । सत्तापक्ष नेकपाबाट भने चुनावी मैदानमा उत्रिने उम्मेदवारको अझैसम्म पत्तो छैन । तर, दाउ भने धेरैको छ ।

केही समय अघिसम्म सो क्षेत्रमा नेकपा नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । अहिले वामदेवले हात झिकिसके । वामदेवको सट्टा सोमनाथ प्यासीदेखि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र पत्नी विद्या भट्टराईसम्मको चर्चा सुनिन्छ । वामदेवले हात झिकिसकेपछि विद्या भट्टराईकै सम्भावना बढेको चर्चा स्थानीयस्तरमा चलिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्तरिक सहमति जुटाउन नसक्दा १६ जनाको नाम केन्द्रीय समितिसमक्ष सिफारिस गरिसकेको छ । कांग्रेसका कास्की जिल्ला उपसभापति आइतबहादुर गुरुङका अनुसार सहमति जुट्न नसकेपछि १६ जना कै नाम पठाइएको हो । ‘हाम्रो विधानमा के उल्लेख छ भने पहिलो उम्मेदवार क्षेत्रले चयन गर्ने, जतिसुकै दाबेदार भए पनि विधानअनुसार ३ जनाभन्दा बढी पठाउन नसक्ने भन्ने उल्लेख छ,’ उनले भने, ‘तथापि धेरै छलफल भयो, बहस भयो, क्षेत्रीय कार्यसमितिले ३ जनाको मात्र नाम पठाउन सकेन । धेरै आकांक्षी भएपछि सबैको नाम जस्ताको त्यस्तै पठाइयो ।’

गत असोज ७ गते कांग्रेस केन्द्रीय कार्यालयले कास्की कार्यसमितिलाई १० दिनभित्रमा बढीमा तीन जनाको नाम सिफारिस गर्न पत्राचार गरेको थियो । तर, आकांक्षीहरु धेरै भएकाले मंगलबार नै नाम सिफारिस गरेको गुरुङले प्रस्ट्याए । ‘निर्णयसहित जिल्लामा उम्मेदवारी आएको हुनाले हिजो नै जिल्ला कार्य समितिको बैठक बोलायौं । आएका सबै चिठी पढ्यौं । प्रष्ट पा¥यौं,’ उनले भने, ‘क्षेत्रीय कार्यसमितिले दिएको निर्णयभन्दा बाहिर गएर निर्णय गर्न सक्ने अधिकार हामीलाई छैन । हामी केमात्र गर्न सक्थौं भने क्षेत्रीय कार्यसमितिबाट आएको उम्मेदवारी आफ्नो रायसहित केन्द्रमा पठाउन सक्छौं ।’

क्षेत्रीय कार्यसमितिबाट आएको निर्णयलाई नै केन्द्रमा पठाएको उनले सुनाए । कुनै उम्मेदवारबारे राय भने नदिएको उनले दाबी गरे । ‘हामीले कुनै उम्मेदवारबारे राय दिएनौं,’ उनले भने, ‘एउटा पनि सहमतिमा उम्मेदवारी नपरेपछि ३ जनामात्रै सर्वसम्मतमा पठाउनुपर्छ भन्ने त्यहाँ आएन । जे जस्तो छन्, त्यस्तै केन्द्रमा पठाउने भन्ने निर्णय भएर आएको थियो । त्यसैलाई हामीले पठायौं ।’

चुनाव जित्नको लागि कुनै पार्टीसँग तालमेल नगर्ने उनले प्रस्ट्याए । प्राविधिक रुपमा नेपाली कांग्रेस केही खुम्चिए पनि कमजोर नभएको उनको दावी छ । ‘नेपाली कांग्रेस कत्ति पनि कमजोर छैन, केही प्राविधिक कमजोरी देखिएका हुन्,’ उनले भने, ‘हिजो चुनाव हारे पनि कमजोर छौं भन्ने हामीलाई लाग्दैन । हाम्रो के पनि प्रतिबद्धता जाहेर भएर आएको छ भने १६ जनामध्ये केन्द्रले जसलाई चयन गरे पनि चुनावमा एकजुट भएर लाग्छौं ।’ 

उम्मेदवार चयनको बेला मत मतान्तर देखिए पनि चुनावमा त्यो नदेखिने उनले दाबी गरे । कास्की–२ को चुनाव कांग्रेसको लागि महत्वपूर्ण भएको बताउँदै उनले चुनाव जित्नेगरी तयारी गरिरहेको सुनाए । उम्मेदवारीका लागि १६ जनाको नाम सिफारिस भए पनि कांग्रेसबाट अघिल्लो चुनावमा रवीन्द्रका प्रतिस्पर्धी देवराज चालिसे नै फेरि चयन हुने अनुमान बढेको छ । कांग्रेस निकट स्रोतका अनुसार कांग्रेसका अन्य आकांक्षीको तुलनामा उनकै पक्षमा जनमत बढी देखिन्छ । 

यता सत्तापक्ष नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापा भने आफूहरुले चुनाव जित्नेमा दुई मत नभएको जिकिर गर्छन् । ‘त्यस्तो ठूलो प्रलय नै पर्लाजस्तो छैन,’ उनले भने, ‘चुनाव जित्न समस्या छैन । हामी जित्छौं ।’ 
कास्कीमा चुनावी प्रचारमा नेकपा अलि पछि देखिएको छ । साझाले उम्मेदवारी घोषणा गरेर चुनावी तयारीमा जुटिरहँदा र कांग्रेसले आकांक्षीहरुको सूची केन्द्रमा पठाइसक्दा नेकपाले उम्मेदवारको नाम केन्द्रमा पठाएकै छैन । आउँदो कात्तिक १० मामात्रै नेकपाले उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्नेछ ।

आफूहरु चुनावको लागि आन्तरिक तयारीमा व्यस्त रहेको थापाले जानकारी दिए । ‘निर्वाचन हुने वडाका साथीहरुलाई प्रशिक्षण गर्ने, पार्टी कमिटीको एकिकरण पनि बाँकी नै छ,’ उनले भने, ‘करिब करिब एकीकरणका काम सकिएको छ । वडाका एकीकरण सक्दै छौं ।’

बिहीबार जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्यको बैठक बसेर सुझाव संकलन गरिने उनले जानकारी दिए । ‘बिहीबार प्रदेशका र जिल्ला कमिटीका सदस्य बसेर उहाँहरुका सुझाव लिन्छौं, पर्सि जिल्ला कमिटीको आन्तरिक बैठक बस्छौं । त्यो बैठकबाट पनि आन्तरिक सुझाव लिने र सकभर ३ जना उमेदवारको नाम सिफारिस गर्ने भनेका छौं,’ उनले भने, ‘१० गते भित्रमा नाम सिफारिस गरिसक्छौं ।’

अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७० हजार ६ सय ५१ मतदाता रहेकोमा मतदाता बढेर ७२ हजार २ सय पुगेको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भारी मतान्तरले चुनाव जितेका थिए । रवीन्द्र र प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेबीच ८ हजार ५ सय ४६ मतान्तर थियो ।

२०७४ को चुनावमा रवीन्द्र अधिकारीको २७ हजार २ सय ७ मत थियो भने देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

दसैं अघिसम्म कास्कीमा निकै सक्रिय देखिएको समाजवादी पार्टी भने यतिबेला चुपचापजस्तै छ । यद्यपी समाजवादी पार्टी पनि उम्मेदवार टुंगो लगाउने तयारीमा रहेको जनाइएको छ । अघिल्लो चुनावमा तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टी पनि यो क्षेत्रको चुनावी मैदानमा थिए । 

साना पार्टीले चुनावी च्याँखे दाउ थापे पनि नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेस नै कास्की क्षेत्र नम्बर २ को मुख्य प्रतिश्पर्धीका रुपमा देखिएका छन् । तत्कालीन पर्यटनमन्त्री विद्या चुनावमा उठे सहानुभुति भोटले पनि उनले चुनाव चर्चा कास्कीमा सुनिन्छ । 

निर्वाचन आयोगले उपनिर्वाचन हुने ठाउँमा निर्वाचन अधिकृत पनि टुंगो लगाइसकेको छ । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वडा पर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप