मापसे गरेर दुई समूहबीच हानाहान, एकको मृत्यु
बर्दिया । बुधबार दिउँसो आपसी विवादमा कुटपिट हुँदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–भुतकैयाका ३७ वर्षीय सतराम थारु रहेका छन् ।
स्थानीय केटाहरुबीच मादक पदार्थ सेवन गरेर समूह–समूहबीच झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दीयाले जनाएको छ ।
कुटपिटबाट घाइते भएका थारुको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा मुत्यु भएको हो ।
कुटपिट हुँदा अन्य तीनजना पनि घाइते भएका छन् । घाइते ३ जनाको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय बग्नाहा र अस्थाई प्रहरी पोष्ट ठाकुरद्धाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–७ कालागढी बस्ने ३२ वर्षीय अर्जुन बुढालगायत ८ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।